काठमाडौं । विश्व खाद्य दिवस २०२४ को अवसरमा खाद्यका लागि कृषि अभियानले विविध कार्यक्रम गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य दिवस मुल समारोह समितिको सहकार्यमा ललितपुरमा विविध कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा पूर्वउपप्रधानमन्त्री, विभिन्न पार्टीका संसदीय दलका नेताहरू, प्रमुख सचेतक तथा सचेतक, प्रतिनिधि सभाका सदस्यहरू, बाग्मती प्रदेशका उपसभामुख, प्रदेशसभा सदस्य, योजना आयोगका पूर्वउपाध्यक्ष, विश्वविद्यालयका पूर्वउपकुलपति, संवैधानिक आयोगका पूर्वसदस्य, पूर्वराजदूत, प्राध्यापक, अभियन्ताहरू, कलाकारहरू लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले रसायन, विषादीरहित खेती प्रणालीको आवश्यकता महशुस गराउन यस्तो कार्यक्रम आयोजना गरेको बताए ।
खाद्यका लागि कृषि अभियान पर्यावरण र प्रकृतिको बारेमा चासो राख्ने सम्पूर्णको साझा अभियान भएको बताउँदै उनले यस अभियानले साना सीमान्तकृत किसानको बारेमा, मानव स्वास्थ्यको बारेमा, पर्यावरणमैत्री खेती प्रणालीको बारेमा वकालत गर्दै आइरहेको बताए ।
कार्यक्रममा सिल्पी थ्रिएटरसँगको सहकार्यमा निर्माण गरिएको नाटक ‘सट्टापट्टा’को प्रदर्शन गरिएको थियो । नाटकमा कृत्रिम रसायन र विषादीले हावा पानी र माटो विशाक्त भएको र दीर्घकालमा मानिस पनि कृत्रिम हुन सक्ने विषय उठाइएको थियो ।
कार्यक्रममा विभिन्न थरिका रैथाने खाना समेत खुवाइएको थियो । साथै पर्यावरणीय कृषिका सन्देशहरूसमेत प्रदर्शनी गरिएको थियो ।
कार्यक्रममा कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा. गोविन्द शर्माले विषादी र रसायनले बढाएको संकटलाई मध्यनजर गरेरै आईपीएम खेती प्रणाली प्रोत्साहन गरेको बताए । एकीकृत कृषि प्रणालीलाई प्रोत्साहन गरेर मात्रै समकालिन संकटबाट बच्न सकिने बताउँदै शर्माले सबैलाई हातेमालो गर्नका लागि आग्रह गरे ।
कार्यक्रम करीब ४ घण्टा सञ्चालन भएको थियो ।