विश्वविख्यात ‘टेस्ला’का कम्पनीका अत्यधिक शेयर धारण गर्ने मालिक एलन मस्कले कम्पनीका बारेमा बाहिर नआएका खराब सूचनाहरूको सुइँको पाएर आफ्नो उक्त कम्पनीमा रहेको साढे ७ अर्ब डलर बराबरको शेयर बेचेर गैरकानूनी ‘इन्साइडर ट्रेडिङ’ गरेको भनी सोही कम्पनीका अर्का एक शेयरधनी माइकल पेरीले हालै उनीविरुद्ध मुद्दा दायर गरेका छन् । गतवर्ष पनि उनले यस्तै प्रकारको आरोप खेप्नुपरेको थियो । यसरी एलन मस्कको नाम जोडिएर केही दिनअघि समाचार सार्वजनिक भएपछि यो विषयले विश्वव्यापी चर्चा पाउने नै भयो ।
सार्वजनिक नगरिएका सूचनाहरूको आधारमा कुनै व्यक्ति विशेषले अनुचित लाभ लिन खोज्दा त्यसले वित्तीय बजारको पारदर्शिता र इमानदारीतामाथि गम्भीर रूपमा आघात पुग्ने भएकाले यस्तो कारोबारलाई वित्तीय अपराधको अंगका रूपमा लिने गरिन्छ ।
त्यसो त विश्व शेयरबजारमा यस्ता इन्साइडर ट्रेडिङका घटनाहरू बेला बेलामा सार्वजनिक भई नै रहन्छन् । भारतमै रिलायन्स इन्डस्ट्रीदेखि लिएर हिन्दुस्तान लिभर लिमिटेडसम्मका कम्पनीहरूमा ठूलाठूला परिमाणमा इन्साइडर ट्रेडिङ भएका इतिहास छन् । इन्साइडर ट्रेडिङलाई वित्तीय अपराधको रूपमा लिइने र सम्पत्ति शोधनका क्रममा यस्तो आर्जनलाई पनि कसूरका रूपमा लिइने भएकाले यसलाई विश्वव्यापी रूपमा नै गम्भीर अपराधका रूपमा लिने गरिन्छ । नेपालमा पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी कानूनले यसलाई कसूरजन्य अपराधकै सूचीमा राखेको छ ।
सानो आकारको पूँजी बजार र अपेक्षाकृत थोरै अंकको कारोबार हुने नेपालमा समेत यदाकदा यस्ता प्रकारका कारोबारहरू हुने गरेका छन् । केही महीनाअघि मात्र कम्पनीको सार्वजनिक नभएको सूचनाका आधारमा शेयर किनबेच गरी इन्साइडर ट्रेडिङ गरेको कसूरमा रिडी पावर कम्पनीका पूर्वअध्यक्ष तथा धितोपत्र बोर्डका पूर्वअध्यक्षलाई पनि अदालतले दोषी ठहर गरेको थियो ।
भारतमै यस प्रकारका कारोबारका ठूलाठूला घटना सार्वजनिक भएका छन् । केही समयअघि झुनझुनवालाको कारोबारदेखि लिएर केही वर्षअगाडि रिलायन्स इन्डस्ट्री तथा हिन्दुस्तान लिभर लिमिटेडमा भएको इन्साइडर ट्रेडिङले विश्वव्यापी चर्चा पाएको थियो । विश्वभर यस्ता इन्साइडर ट्रेडिङका घटना निरन्तर देखापरिरहेका छन् । हुन त सबै प्रकारका इन्साइडर ट्रेडिङ अवैध हुँदैनन् तापनि अवैध मानिने यस्ता कारोबारलाई भने वित्तीय अपराध नै मानिने गरिन्छ । यसैको आलोकमा यो आलेखमा इन्साइडर ट्रेडिङका विविध पक्षका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।
के हो इन्साइडर ट्रेडिङ ?
सोझो अर्थमा भन्ने हो भने कुनै पनि कम्पनीको मुख्य सरोकारवाला व्यक्तिहरूले सोही कम्पनीको तथा कम्पनीसँग प्रत्यक्ष सरोकार राख्ने अन्य कम्पनीको शेयर किनबेच गर्ने कार्यलाई इन्साइडर ट्रेडिङ भनिन्छ । यस अर्थमा सबै प्रकारका इन्साइडर ट्रेडिङलाई वित्तीय अपराधको रूपमा लिनु जरुरी हुँदैन । खास गरी पूर्वनिर्धारित योजना तथा नीतिअनुरूप कम्पनीका कार्यकारी तथा कर्मचारीहरूले गर्ने कारोबारलाई वैध नै मानिन्छ । साथै सार्वजनिक रूपमा पर्याप्त सूचनाहरू उपलब्ध गराएर गरिने इन्साइडर ट्रेडिङलाई पनि वैध नै मानिन्छ । यति मात्र होइन, शेयरको मूल्यमा कुनै तात्त्िवक प्रभाव नपर्ने किसिमका जानकारीको आधारमा गरिने कारोबारलाई पनि अवैध कारोबारका रूपमा लिने गरिँदैन ।
इन्साइडर ट्रेडिङजस्तो वित्तीय अपराधले लगानीकर्ता तथा पूँजी बजारको अखण्डतामाथि नै गम्भीर प्रहार गर्नुका साथै प्रत्यक्ष रूपमा समग्र अर्थतन्त्र नै गम्भीर रूपमा प्रभावित हुने हुनाले विद्यमान कानूनी प्रबन्धहरूको कडाइका साथ पालना गर्नुका साथै सम्भाव्य यस्ता कारोबारलाई नियन्त्रण गर्न सम्बद्ध निकायहरूले प्रभावकारी ढंगले नियन्त्रण र नियमनका उपायहरू अवलम्बन गर्नु आवश्यक छ ।
यस आधारमा इन्साइडर ट्रेडिङलाई विभिन्न प्रकारमा विभक्त गर्न सकिन्छ । माथि व्याख्या गरिएअनुसार वैध तरीकाले गरिने कारोबारलाई वैध ट्रेडिङ र अवैध तरीकाले व्यक्तिगत स्वार्थले अनुचित लाभ लिने गरी गरिने कारोबारलाई अवैध ट्रेडिङ भन्न सकिन्छ । आफ्नो कम्पनीसँग सम्बद्ध संवेदनशील सूचनाहरू अन्य व्यक्ति वा समूहलाई चुहाएर उनीहरूमार्फत गरिने कारोबारलाई टिपिङ अथवा ‘टिपर टिपी कारोबार’ भन्न सकिन्छ ।
यसैगरी कुनै निश्चित व्यक्तिहरूलाई कुनै निश्चित समयमा कारोबार गर्न प्रतिबन्ध गरिएको अवस्थामा हुने इन्साइडर ट्रेडिङलाई ‘ब्ल्याक आउट अवधिको कारोबार’ भन्ने गरिन्छ । कुनै धितोपत्रको किनबचेका लागि निकट भविष्यमै आउन सक्ने ठूलो परिमाणको खरीद/विक्री आदेश आउनुअगावै कुनै व्यक्ति वा कम्पनीमार्फत पनि धितोपत्र किचबेच गर्ने गरिन्छ । यस प्रकारको इन्साइडर ट्रेडिङलाई अग्रधावन (फ्रन्ट रनिङ) भनिन्छ ।
औपचारिक रूपमा कम्पनीको सूचना तथा तथ्यांक प्राप्त गर्ने अवस्था नरहे पनि यदि कुनै व्यक्तिले विभिन्न माध्यमबाट त्यस्ता सूचना तथा तथ्यांकको चोरी गरी त्यसैको आधारमा यदि धितोपत्रको किनबेच गर्छ भने त्यस्तो प्रकारको कारोबारलाई दुर्विनियोजन भनेर बुझिन्छ ।
यो आलेखमा इन्साइडर ट्रेडिङ भनेर वैध रूपमा हुने इन्साइडर ट्रेडिङलाई छोडेर अन्य सबै तरीकाले हुने कारोबारलाई मात्र इंगित गर्न खोजिएको छ ।
सार्वजनिक नभएका कम्पनीका गोप्य सूचनाहरू प्रत्यक्ष एवं परोक्ष रूपमा प्राप्त गर्न सक्ने हैसियत भएका सम्बद्ध कम्पनीका अधिकारीहरूलाई इन्साइडर भनिन्छ र यस्तै सूचनाका आधारमा तिनीहरूले गर्ने कारोबारलाई इन्साइडर ट्रेडिङ भनेर बुझ्न सकिन्छ । अझ विस्तृत रूपमा भन्नु पर्दा कम्पनीको धितोपत्रको मूल्यलाई प्रत्यक्ष प्रभावित गर्ने कम्पनीको वित्तीय अवस्था, भावी योजना एवं अन्य महत्त्वपूर्ण वित्तीय परिसूचकहरू जुन गोप्य छन् र सार्वजनिक गरिएका छैनन्, तिनको प्रत्यक्ष एवं परोक्ष रूपमा जानकारी प्राप्त गर्ने सरोकारवालाहरूले भविष्यमा कम्पनीको धितोपत्रको मूल्यमा उल्लेख्य मात्रामा हुने फेरबदलका बारेमा पूर्वजानकार भई आफू एवं आफूनिकटका व्यक्ति वा समूहलाई कम्पनीको त्यस्तो धितोपत्र किनबेच गरी गराई अनुचित लाभ लिने वा सम्भावित नोक्सानीबाट बचाउने कार्य गर्छन् भने त्यस्तो कारोबारलाई इन्साइडर ट्रेडिङ भनेर बुझिन्छ ।
यसरी सार्वजनिक नगरिएका सूचनाहरूका आधारमा कुनै व्यक्ति विशेषले अनुचित लाभ लिन खोज्दा त्यसले वित्तीय बजारको पारदर्शिता र इमानदारीमाथि गम्भीर रूपमा आघात पुग्ने भएकाले यस्तो कारोबारलाई वित्तीय अपराधको अंगका रूपमा लिने गरिन्छ । इन्साइडरका रूपमा कम्पनीका कर्मचारी, कार्यकारीहरू, बोर्ड सदस्यहरूमात्र होइन कम्पनीको सूचनाको पहुँच पाउने कानूनी सल्लाहकारहरू, लेखापरीक्षण गर्ने आन्तरिक एवं बाह्य अधिकारी तथा कतिपय अवस्थामा कम्पनीसँग आबद्ध तेस्रो पक्षसमेत पनि पर्छन् । यी सबै इन्साइडरलाई रचनात्मक (कन्सट्रक्टिभ) इन्साइडर पनि भन्ने गरिन्छ । सन् १७९२ देखि नै अमेरिकामा इन्साइडर ट्रेडिङका घटनाहरू पहिचान गरिएका मानिन्छ । त्यसैले पनि विश्वव्यापी रूपमा हेर्ने हो भने यससम्बन्धी पहिलो कानून सोही देशमा नै सन् १९३३ मा जारी भएको देखिन्छ ।
इन्साइडर ट्रेडिङको प्रक्रिया
कारोबारका लागि इन्साइडरहरूले कसूर गर्नुपूर्व केही प्रक्रिया अवलम्बन गर्नुपर्छ । सबैभन्दा पहिले इन्साइर ट्रेडिङ गर्न आफ्ना पद, शक्ति र पहुँच प्रयोग गरेर त्यस्ता व्यक्तिले कम्पनीको संवेदनशील एवं महत्त्वपूर्ण सूचना तथा तथ्यांकहरू प्राप्त गर्नुपर्ने हुन्छ । माथि नै व्याख्या गरिएअनुसार उनीहरूले संकलन गर्ने यस्ता सूचना तथा तथ्यांकहरू भविष्यमा कम्पनीको धितोपत्रको मूल्य माथि उल्लेख्य प्रभाव पार्ने खालका हुनुपर्छ । यस्ता तथ्यांक एवं सूचनाहरूमा विशेष गरी मर्जर तथा प्राप्तिपछिको वित्तीय विवरणहरू, नियामकीय निकायको सुपरिवेक्षण प्रतिवेदन र निष्कर्ष, कम्पनीले निकट भविष्यमै विकास गर्ने नवीन वस्तु तथा सेवासम्बन्धी जानकारी आदि पर्छन् ।
यसरी सूचना तथा तथ्यांक प्राप्त गर्दैमा सबैले इन्साइडर ट्रेडिङ गरिहाल्ने भन्ने हुँदैन । त्यसका लागि उनीहरूले प्राप्त तथ्यांक तथा सूचनाको विश्लेषण गर्छन् । यसरी विश्लेषण गर्दा यदि भविष्यमा धितोपत्रको मूल्य घट्ने निष्कर्ष निस्कियो भने त्यसरी मूल्य घट्नुअगाडि नै आफूसँग भएको धितोपत्र विक्री गरेर र भविष्यमा मूल्य बढ्ने निष्कर्ष निस्कियो भने मूल्य बढ्नुअगाडि नै अतिरिक्त धितोपत्र खरीद गर्ने निर्णय लिने गर्छन् ।
यस्तो निर्णय गरेपछि उनीहरूले आफूलाई फाइदा हुने किसिमले ब्रोकरमार्फत वा उपलब्ध अन्य कुनै माध्यमबाट कारोबार गरेर नाफा बुक गर्ने गर्छन् । यसका लागि आफ्नो संलग्नता नदेखाउन कतिपयले आफ्ना नातेदार, साथीभाइ तथा अन्य तेस्रो पक्षमार्फत परोक्ष रूपमा समेत कारोबार गर्ने प्रबल सम्भावना रहन्छ ।
किन यसलाई वित्तीय अपराध मानिन्छ ?
इन्साइडर ट्रेडिङले समग्र वित्तीय प्रणालीको शुद्धता र इमानदारी तथा अर्थ व्यवस्थाका विभिन्न अवयवमा कायम हुने आपसी निर्भरतालाई गम्भीर रूपमा नकारात्मक प्रभाव पार्छ । यसले खुला तथा समानतामा आधारित बजारको सैद्धान्तिक जगमाथि नै प्रहार गर्छ । इन्साइडर ट्रेडिङले धितोपत्रको मूल्यलाई कृत्रिम रूपमा परिवर्तन गर्ने सामथ्र्य राख्छ । त्यसैले यस्तो कारोबारका कारण लगानीकर्तामाथि धोखा हुने त छँदै छ । त्यसबाट पूँजीबजारको निष्पक्षता एवं विश्वसनीयतामाथि पनि गम्भीर प्रहार गर्छ । समग्रमा यसले पूँजी बजारको पारदर्शिता र सक्षमतालाई मात्र होइन, समग्र अर्थतन्त्रमाथि नै नकारात्मक प्रभाव पार्ने भएकाले यस्तो कारोबारलाई वित्तीय अपराध मानिएको बुझ्न गाह्रो छैन ।
नियन्त्रणको बाटो
यस्तो वित्तीय अपराध नियन्त्रण गर्न सम्बद्ध सबै पक्षलाई सचेत र जागरुक बनाउनुका साथै सरोकारवाला निकायहरूले निरोधात्मक उपायहरू पनि अवलम्बन गर्नुपर्ने हुन्छ । कडा कानूनी प्रबन्धका साथ अनुपालनासम्बन्धी नीति एवं कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गरेर यस्ता घटनालाई नियन्त्रण गर्न सकिन्छ । नियामकीय निकायको सुपरिवेक्षणलाई प्रविधि र स्रोतसाधन सम्पन्न बनाएर सक्षम र प्रभावकारी नियमनको व्यवस्थाद्वारा पनि यसलाई नियन्त्रण गर्न सकिन्छ ।
संस्थागत रूपमा नियमित र प्रभावकारी ढंगको गरिने आन्तरिक लेखापरीक्षणले पनि यस्ता अवैध कारोबारलाई नियन्त्रण गर्न सकारात्मक भूमिका निर्वाह गर्छन् । संक्षेपमा भन्नु पर्दा इन्साइडर ट्रेडिङजस्तो वित्तीय अपराधले लगानीकर्ता तथा पूँजी बजारको अखण्डतामाथि नै गम्भीर प्रहार गर्नुका साथै प्रत्यक्ष रूपमा समग्र अर्थतन्त्र नै गम्भीर रूपमा प्रभावित हुने हुनाले विद्यमान कानूनी प्रबन्धहरूको कडाइका साथ पालना गर्नुका साथै सम्भाव्य यस्ता कारोबारलाई नियन्त्रण गर्न सम्बद्ध निकायहरूले प्रभावकारी ढंगले नियन्त्रण र नियमनका उपायहरू अवलम्बन गर्नु आवश्यक छ ।
लेखक सम्पत्ति शुद्धीकरणसम्बन्धमा विद्यावारिधिप्राप्त बैंकर हुन् ।