वित्तीय प्रणालीमा पूँजी बजारको अत्यन्त महत्त्वपूर्ण स्थान छ किनकि पूँजी बजार भनेको अर्थतन्त्रको ऐना र अर्थव्यवस्थाको परिसूचक हो । कुनै पनि देशको समग्र विकासको वेगलाई उक्त देशको पूँजी बजारको प्रभावकारिता र सबलताको स्थितिले धेरै हदसम्म चित्रण गर्छ । कुनै पनि राज्यमा कुशल र प्रभावकारी तवरबाट कोषको संकलन, परिचालन र व्यवस्थापन हुन्छ भने उक्त राज्यमा उन्नत अर्थतन्त्र हुन्छ । उदाहरणका लागि संयुक्त राज्य अमेरिका, जहाँ एकदमै उन्नत वित्तीय प्रणाली, पूँजी बजार र अर्थतन्त्र छ । पूँजी बजारले मौद्रिक पक्ष र वास्तविक पक्षलाई जोडेर वास्तविक पक्षलाई आवश्यक पर्ने पूँजीको निर्माण हुन्छ जुन लगानीको रूपमा परिणत भई आर्थिक खाडल पुर्छ । छरिएर रहेको ससाना बचतको सङ्कलन हुनाले पूँजीको सङ्कलन (निर्माण) भई यसबाट दीर्घकालीन पूँजीको निर्माण हुन्छ र वित्तीय विस्तार हुन जान्छ ।
नेपालमा हाल पूँजीबजारको सूचकांक नेप्सेलाई लिइन्छ । यसमा करीब २४० ओटा कम्पनीहरू सूचीकृत छन्, जसमध्ये बैंक तथा वित्तीय संस्थाको वर्चस्व छ । नेपालको पूँजी बजारमा महत्त्वपूर्ण भूमिका खेल्ने संस्थाहरू– नियामक निकाय, धितोपत्र बजार, केन्द्रीय निक्षेप सेवा, राफसाफ बैंक, सदस्य दलाल, राफसाफ सदस्य, राफसाफ गृह, धितोपत्र व्यापार, निष्कासन तथा विक्री प्रबन्धक, लगानी व्यवस्थापन, लगानी परामर्श, सामूहिक लगानी कोष व्यवस्थापन र क्रेडिट रेटिङ एजेन्सी रहेका छन् । यद्यपि नेपालको पूँजी बजारमा कृषि, उद्योग, व्यपार तथा अन्य वास्तविक क्षेत्रको सहभागिता कम रहेको पाइन्छ । नेपाल धितोपत्र बोर्ड (सेबन)ले धितोपत्रसम्बन्धी ऐन २०६३ अनुसार धितोपत्रबजारको नियमन र नियन्त्रण गर्छ ।
सामान्यतया पूँजी बजारलाई धितोपत्र बजारका रूपमा मात्र बुझिने गरे तापनि पूँजी बजारमा धितोपत्र बजारका र गैरधितोपत्र बजारका उपकरणहरूको कारोबार हुन्छ । धितोपत्र बजारमा १ वर्षभन्दा बढी समयमा परिपक्व हुने वित्तीय उपकरणहरू जस्तै शेयर, बोन्ड आदिको कारोबार हुन्छन् । धितोपत्र बजारले धितोपत्र क्रेता र विक्रेतालाई एउटै संयन्त्रमा ल्याएर धितोपत्र विनिमय गर्ने कार्यलाई निरन्तता दिन्छ । यसले बचत विनिमयको माध्यम बनेर लगानीलाई प्रोत्साहन गरेर बचत र लगानीको अन्तरसम्बन्ध कायम गरिदिन्छ ।
धितोपत्र बजारलाई दुई भागमा विभाजन गर्न सकिन्छ : प्राथमिक र दोस्रो बजार । प्राथमिक बजारमा संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक रूपमा धितोपत्र निष्कासन गरेर आवश्यक दीर्घकालीन पूँजीको सङ्कलन गर्छ । प्राथमिक बजारमा धितोपत्र दुई किसिमले निष्कासन हुने गर्छ : सिजनल र अनसिजनल । सिजनल निष्कासनमा पहिले नै अवस्थित धितोपत्रलाई विशेष कारणवश पुनः निष्कासन गरिएको हुन्छ, जस्तै एफपीओ, राइट शेयर । अनसिजनल निष्कासनमा नयाँ धितोपत्रलाई प्रथमपटक निष्कासन गरिएको हुन्छ, जस्तै आईपीओ । दोस्रो बजारमा भने प्राथमिक बजारमा निष्कासन भइसकेका धितोपत्रलाई पुनः किनेर प्रचलित मूल्यमा कारोबार गरिन्छ ।
पूँजी बजारले धितोपत्र र क्रेडिट उपकरणहरूको वित्तीय अवस्थाबारे निरन्तर जानकारी प्रदान गरी सम्बद्ध संगठित संस्थाको वित्तीय र अन्य पक्षका बारेमा स्पष्ट पार्छ र कारोबार लागत न्यूनीकरण गर्छ । देशको वित्तीय बजारको अभिन्न अंगका रूपमा रहने भएकाले समग्र बजारको सन्तुलित एवं एकीकृत विकासमा पूँजी बजारको महत्त्व छ । सम्पूर्ण आर्थिक गतिविधिलाई पूँजी बजारले समायोजन गर्दै बजारका वित्तीय उपकरणहरूको वास्तविक मूल्य प्रतिविम्बित गर्छ भने पूँजी बजारको प्रभावकारिता झल्किन्छ ।
पूँजी बजारको प्रभावकारिताले वित्तीय उपकरणको औपचारिक कारोबार गर्न सर्वसाधारणमा पे्ररित गर्ने हुँदा अर्थतन्त्रमा वित्तीय समावेशीकरण हुन गई वित्तीय कोष र तरलताको कमी हुन दिँदैन । सर्वसाधारणमा बचत र लगानीको तालमेल गराएर अर्थतन्त्रमा कोष र पूँजी निर्माणलाई निरन्तता दिन्छ । यसैगरी पूँजी बजारको प्रभावकारिताले कम्पनी प्रबन्धकहरूलाई सही संकेत दिई शेयरधनीको धन अधिकतम गराउन सहयोग गर्छ र वित्तीय स्रोतहरू बाँडफाँट गर्न मद्दत गर्छ ।
पूँजी बजारको प्रभावकारितालाई आधारभूत तथा प्राविधिक विश्लषणद्वारा मूल्याङ्कन गरिन्छ । आधारभूत विश्लेषणद्वारा वर्तमान विभिन्न वित्तीय र आर्थिक गतिविधि र तŒवबाट धितोपत्रको वास्तविक मूल्य जाँच गरेर अवमूल्यन वा अधिमूल्यन भएको जाँच गरिन्छ । प्राविधिक विश्लेषणद्वारा विगतको डाटामा आधारित भएर धितोपत्रको चालकोे विश्लेषण र भविष्यको गतिविधि अनुमान लगाइन्छ । परिचालनता, विनियोजन, र मूल्य निर्धारण प्रभावकारिता गरेर पूँजी बजारको प्रभावकारितालाई तीन किसिमबाट मापन गर्न सकिन्छ । प्रभावकारी पूँजी बजारमा धितोपत्रको मूल्य नयाँ जानकारीमा छिट्टै समायोजन हुने र धितोपत्रको बजार मूल्यमा प्रतिबिम्बित हुने सुनिश्चित हुन्छ । यसमा मध्यस्थताको अवसर हुँदैन ।
नेपालको पूँजी बजार आधारभूत सिद्धान्तहरूमा सीमित भएकाले धेरै चुनौती रहेको पाइन्छ । पूँजी बजारमा अभैm पनि वास्तविक क्षेत्रको संग्लनता कम छ र प्रमुख पूर्वाधारमा राज्यको स्वामित्व छ । वास्तवमा भन्ने हो भने नेपालको पूँजी बजारले मौद्रिक क्षेत्र र वास्तविक क्षेत्रलाई जोड्न सकेको छैन । विशेषतः बैक तथा वित्तीय क्षेत्रको प्रमुख सहभागिता छ । अन्तरराष्ट्रिय रूपमा मिल्ने व्यापार, क्लियरिङ र सेटलमेन्ट प्रणालीको अभाव हुँदा संगठनात्मक र बजारस्तर संरचनात्मक कमी नेपालको पूँजी बजारमा महसूस हुन्छ ।
वित्तीय नियामकहरूबीच सही समन्वयको अभावले पनि पूँजी बजारमा चुनौती थपेको छ । व्यक्तिगत लगानीकर्ताको प्रभुत्वले गर्दा संगठनात्मक लगानीकर्ताको कमी पनि महसूस हुन्छ । नेपालको पूँजी बजार आधारभूत वा प्राविधिक विश्लेषणद्वारा भन्दा पनि व्यक्तिगत लगानीकर्ताको पूर्वाग्रह र हल्लाहरूको अगुवाइमा चलेको पाइन्छ । तसर्थ वित्तीय पूर्वाधार र संस्थागत सुशासन, पारदर्शिता र खुलासा कमका कारण नेपालको पूँजी बजार खस्किएको छ । परिष्कृत पूर्वाधारको माध्यमबाट पूँजी बजारको आधुनिकीकरण र व्यवस्थितीकरण अभैm सम्भव छ । वर्तमान विदेशी वित्तीय सदस्यहरूसँग समन्वय गरी अन्तरराष्ट्रिय स्तरमा वित्तीय सञ्जाल विस्तार गरेर अन्तरराष्ट्रिय पूँजी बजारसँग नेपाली पूँजी बजार जोड्न सकिन्छ ।
लेखक सरस्वती बहुमुखी क्याम्पसमा एमबीएमा अध्ययनरत छन् ।