वित्तीय साक्षरता भन्नाले वित्तीय विषय तथा व्यवहारसम्बन्धी ज्ञान हो । व्यक्तिमा रहेको वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान तथा निर्णयात्मक कुशलताबाट वित्तीय साक्षरता मापन गर्न सकिन्छ । आम्दानी गर्ने कला, बचत गर्ने, लगानी गर्ने शिक्षा तथा स्वास्थ्य आदिका लागि पूर्वव्यवस्था, अवकाशपछिको जीवनका लागि उचित बचतलगायत ज्ञानको स्तर नै वित्तीय साक्षरता हो । वित्तीय साक्षरताअन्तर्गत दैनिक जीवनमा पाँचओटा सिद्धान्त बढी प्रयोगमा आउँछन् । जसमा (क) कमाइ तथा आय आर्जन (ख) बचत र लगानी (ग) सम्पत्तिको सुरक्षा व्यवस्थापन (घ) खर्च व्यवस्थापन र (ङ) ऋण व्यवस्थापन ।
वित्तीय साक्षरताले गर्दा बैंक, वित्तीय संस्था र तिनका ग्राहकको तुलनामा विश्वासका आधारमा सञ्चालित विनाधितो कर्जा दिने लघुवित्त संस्थाबाट सेवा लिएका तथा कारोबार गरेका विपन्न समूह सदस्यहरूले उल्लेखनीय सफलता प्राप्त गरेको पाइएको छ ।
आफूले गरिरहेको कुल आम्दानी के कति छ, कर के कति तिरिरहेको छ, बढी आम्दानी कसरी गर्न सकिन्छ, भविष्यका लागि शिक्षा तालीम शीप विकासमा कति लगानी गर्ने आदिको विश्लेषण गर्नुपर्छ । आवश्यकता र कमाइको जानकारी राखेर आवश्यकता परिपूर्ति गर्नुपर्छ । परिवारमा आर्थिक योजना र लक्ष्य बनाउँदा आयस्रोतलाई ख्याल गर्नुपर्छ ।
बचत वित्तीय साक्षरताको मुख्य सिद्धान्त हो । जसले नियमित रूपमा बचत गर्छ त्यो व्यक्ति वा परिवारको वित्तीय सफलता र सबलताको सूचक हो । व्रतबन्ध, शिक्षा, स्वास्थ्य, विवाह, घर, गाडी खरीद तथा अकस्मात् हुन सक्ने ठूलो खर्चका घटना जस्तै रोगव्याधि, प्राकृतिक प्रकोप, व्यवसायको असफलता, परिवारका सदस्यको मृत्यु संस्कारलगायत घटनाका लागि बचत गर्नुपर्छ ।
वित्तीय साक्षरताअन्तर्गत आय आर्जन गर्नु, बचत गर्नु, लगानी गर्नु र सुरक्षा गर्नुजस्तै खर्च गर्नु पनि एक महत्त्वपूर्ण सिद्धान्त हो । खर्च गर्दा पूर्वयोजना बनाएर बजेट तय गरी खर्च गर्नुपर्छ । वित्तीय साक्षरता भन्नु पैसाले कसरी, कति र के काम गर्छ भनी बुझ्न सक्नु हो ।
वित्तीय साक्षरताको अभावमा देखिएका समस्या
वित्तीय साक्षरताको अभावमा दैनिक रूपमा गास काटेर सुरक्षित भविष्यका लागि विपन्नले सहकारी संस्थामा जम्मा गरेको बचत सहकारीका सञ्चालक तथा व्यवस्थापकका रूपमा रहेका टाठाबाठा तथा राजनीतिक नेतृत्व र तिनका आसेपासेले कुम्ल्याइरहेका छन् । लघुवित्त संस्थाबाट लिएको ऋण माफी हुन्छ, तिर्नुपर्दैन भन्दै समाजमा लघुवित्त कार्यक्रमले ल्याएको आर्थिक गतिशीलतालाई धमिल्याएर सीधासादा विपन्न समुदायलाई गलत बाटोमा लाग्न असम्भव माग उठाएर राजनीतिक कवचले ढाकिएकाहरूले वित्तीय अनुशासन बिगारिरहेका छन् । देशमा हरेक दिन विभिन्न निकायमा भएको भ्रष्टाचारका समाचारले पत्रपत्रिकाको अधिकांश भाग ढाकिने गरेको छ । जागीर र कामको खोजीमा युवाहरू नपुगेको देश र नेपाली युवाले नगरेको जोखिमको कुनै पनि काम बाँकी नहोला । तिनै युवाले कमाएर देशमा पठाएको विप्रेषणबाट प्राप्त वैदेशिक मुद्रा शोधनान्तर बचत देखाएर सरकार देशको बाह्य आर्थिक अवस्था मजबुत छ भनेर मख्ख छ । समाजमा महिला, विपन्न, वृद्धवृद्धा तथा विदेशिएका युवाले सुरक्षित भविष्यका लागि सहकारी संस्थामा जम्मा गरेको अर्बौंको बचत सहकारी सञ्चालक तथा व्यवस्थापनको लापरवाही र सरकारको बेवास्ताका कारण डुबेको छ । के यस्तो परिवेशमा बैंक तथा वित्तीय संस्था तथा सहकारीमा बचत खाता खोल्दैमा, खोलाउँदैमा बैंक तथा सहकारीबाट कर्जा लिँदैमा वित्तीय साक्षरता वृद्धि भएको मान्न सकिन्छ र ?
लघुवित्त संस्थाहरूले दिने गरेको कारोबारपूर्वको वित्तीय साक्षरता तालीमलाई अनिवार्य गराउँदै निरन्तरता दिनुपर्छ । हरेक वर्ष वित्तीय साक्षरता पुनर्ताजगी तालीम प्रदान गर्नुपर्छ । वित्तीय अनुशासन बिग्रँदै जानाले देशमा गत वर्षमात्रै १३ हजार बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएका छन् । वित्तीय अपराधका कारण कालोसूचीमा सूचीकृत हुनेको संख्या दिनकै बढिरहेको छ ।
देशमा बैंक, वित्तीय संस्थाको अवस्था कमजोर बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थाप्रति जनतामा विश्वास घट्दै गएको छ । बैंक तथा वित्तीय संस्थाको कर्जा असुली बचत संकलन घट्दै गएको छ । लगानी घट्दै गएको छ । लगानीयोग्य पूँजी बैंकहरूमा थन्किइरहेको छ । पूँजीबजारको अवस्था दयनीय हुँदै गइरहेको छ ।
वित्तीय अनुशासन बिग्रँदै जानाले देशमा गत वर्षमात्रै १३ हजार बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएका छन् । वित्तीय अपराधका कारण कालोसूचीमा सूचीकृत हुनेको संख्या दिनकै बढिरहेको छ । के यस्तो सुशासन, सुव्यवस्था तथा वित्तीय अनुशासनविहीनताको विकराल अवस्थामा केही मानिस जुटाएर वित्तीय साक्षरताका नाममा नारा, जुलुस, र्याली तथा गोष्ठी गर्दैमा वित्तीय साक्षरता बढ्ला ? वित्तीय साक्षरता कसलाई, किन आवश्यक छ ? कसलाई कस्तो वित्तीय शिक्षा आवश्यक छ ? वित्तीय साक्षरताका लक्षित वर्ग को को हुन् ? वित्तीय साक्षरताको लक्ष्य के हो ? पैसा कमाउनु नै वित्तीय साक्षरता हो त ?भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।
वित्तीय साक्षरता अभियानका चरण
वित्तीय साक्षरता अभियानमा नाम मात्रका कार्यक्रम, नारा तथा प्रयासबाट उपलब्धि भएको पाइँदैन । वित्तीय साक्षरता अल्प तथा अधुरो ज्ञानको माध्यमले लक्षित वर्गमा पुग्न र पुर्याउन सकिँदैन । यसलाई अझै योजनाबद्ध रूपमा व्यवस्थित गरेर प्रभावकारिताका साथ सैद्धान्तिक ज्ञानको साथै व्यावहारिक ज्ञान वृद्धि हुने गरी अघि बढाउने क्रियाकलाप अभियानका रूपमा सञ्चालन गर्न आवश्यक छ । नेपालमा वित्तीय साक्षरता वृद्धि अभियानको शुरुआत लघुवित्तका पिताका रूपमा सुपरिचित स्वर्गीय डा. हरिहरदेव पन्तले स्थापना गरेको निर्धन संस्थामार्फत नेपालमा लघुवित्त सेवाको शुरुआतसँगै भएको पाइन्छ । ग्रामीण बैंकिङ पद्धतिमा लघुवित्त सेवा प्रदान गर्न तथा लघुवित्त सेवा लिन अनिवार्य सेवाशर्तका रूपमा अनिवार्य समूह प्रवेश तालीम सञ्चालन गरिन्छ । समूह प्रवेश तालीम नै वित्तीय साक्षरता वृद्धि तालीम तथा कक्षा हो किनभने यसमा समूहमा आबद्ध हुने सदस्यलाई ७ दिनसम्म हरेक दिन १ घण्टाको दरले वित्तीय साक्षरताका विषयमा तालीम दिइन्छ । यो तालीममा हाल वित्तीय साक्षरता अभियानका क्रममा पढाइने सबै विषयवस्तु तालीम पाठ्यक्रमका रूपमा रहेका हुन्छन् । तालीममा सैद्धान्तिक कक्षा मात्रै नभएर हरेक दिन अनिवार्य बचत गराएर, कर्जा, बचत, लगानी योजना, आय–व्यय, बजेट, कर्जा तथा बचतको ब्याजदरलगायत सबै विषयमा उनीहरूकै गाउँटोलमा लघुवित्त संस्थाका कर्मचारीमार्फत सिकाइन्छ । तालीममा राम्ररी बुझेको नबुझेको परीक्षण गरेर मात्रै लघुवित्त संस्थाको समूहको सदस्यता प्रदान गरिन्छ ।
तालीमपश्चात् लिइने परीक्षामा पास भएपछि मात्रै लघुवित्त संस्थाको समूह सदस्यता दिएर लघुवित्त कारोबारका लागि योग्य बनाइन्छ । अनि मात्रै उनीहरूको बचत खाता खोलिन्छ, कर्जा प्रदान गर्न शुरू गरिन्छ । तालीममा सिकाएका कुराहरू नै ती समूह सदस्यका लागि लघुवित्त संस्थासँग कारोबार गर्न मार्गनिर्देशन बन्छन् । यसरी पूर्णरूपमा वित्तीय साक्षरताको तालिम लिएर कारोबार गर्ने गराउने गरेकै कारण लघुवित्त संस्थामा धेरै वर्षसम्म विनाधितो कर्जा कारोबार सफल बनेको हो । यसर्थ वित्तीय साक्षरता उत्तम धितो हो भन्न सकिन्छ ।
यस क्षेत्रमा पछिल्लो समयमा सृजना भएको अस्वस्थ प्रतिस्पर्धा, अनावश्यक रूपमा सेवा आपूर्ति, संस्थाहरूको उद्देश्यमा विचलनले गर्दा खर्च घटाउने प्रतिस्पर्धामा समूह प्रवेशपूर्व तालीम तथा वित्तीय साक्षरता तालीम नदिई लघुवित्त सेवा प्रवाह भइरहेको छ । लघुवित्त संस्थासँग कारोबार गरेका अधिकांश विपन्नहरूले राम्रो आर्थिक प्रगति गरेका छन् । वित्तीय अनुशासनमा बसेर उद्यम गरेर देशकै आर्थिक वृद्धिमा योेगदान गर्न सकेका छन् । वित्तीय साक्षरताले गर्दा बैंक, वित्तीय संस्था र तिनका ग्राहकको तुलनामा विश्वासको आधारमा सञ्चालित विनाधितो कर्जा दिने लघुवित्त संस्थाबाट सेवा लिएका तथा कारोबार गरेका विपन्न समूह सदस्यहरूले उल्लेखनीय सफलता प्राप्त गरेको पाइएको छ ।
वित्तीय साक्षरता मानव जीवनको लागि अपरिहार्य आवश्यकता हो । कुनै पनि व्यक्तिको आर्थिक सम्पन्नताका लागि तथा सफल जीवनयापन गर्न वित्तीय रूपमा साक्षर हुन आवश्यक छ । यसका लागि विद्यालय पाठ्यक्रममा संशोधन गर्नुपर्छ जसले वित्तीय साक्षरताको स्तर दीर्घकालीन रूपमा बढाउन सकिन्छ । कार्यान्वयन तहमा वित्तीय साक्षरता वृद्धि गर्नुपर्छ जुन अहिले गरिरहेका छौं । लघुवित्त संस्थाहरूले दिने गरेको कारोबारपूर्वको वित्तीय साक्षरता तालीमलाई अनिवार्य गराउँदै निरन्तरता दिनुपर्छ । हरेक वर्ष वित्तीय साक्षरता पुनर्ताजगी तालीम प्रदान गर्नुपर्छ । यसका साथै हरेक राजनीतिक दलहरूले आफ्ना कार्यक्रममा समेत वित्तीय साक्षरता वृद्धि गर्ने क्रियाकलापको शुरुआत गरेमा वित्तीय साक्षरता अधिकतम वृद्धि हुनेछ । यसबाट गरीबी न्यूनीकरण, वित्तीय अनुशासन र दिगो आर्थिक विकास सहजै सम्भव हुनेछ ।
लेखक लघुवित्त र लघु बीमाक्षेत्रमा अनुभवप्राप्त अधिवक्ता हुन् ।