आबुधाबी (यूएई) । अमेरिका–चीनको व्यापार सम्झौताको तेल बजारको भविष्य निर्भर रहेको पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (ओपेक)ले बताएको छ । ओपेकका महासचिव मोहम्मद बार्किन्डोले बुधवार दुई मुलुकको व्यापार सम्झौताले तेल बजारको कालो बादल हट्ने बताएका हुन् । यो सम्झौताले विश्व अर्थतन्त्रमा पनि उल्लेख्य सुधार आउने बताएका छन् ।
ओपेक र उसका सहयोगी मुलुकको बीचमा डिसेम्बरमा हुने बैठकमा भने तेल उत्पादनको नीतिबारे छलफल हुनसक्ने बार्किन्डोको भनाइ छ । अमेरिका र चीनबीचको व्यापारयुद्धको कारण अहिले विश्व अर्थतन्त्र प्रभावित बन्न पुगेको छ । साथै विश्वको तेलको माग पनि कमजोर देखिएको छ । दुवै पक्ष अहिले व्यापार सम्झौताको प्रयास गरिरहेका छन् । तर, अहिलेसम्म सम्झौता हुन सकेको छैन ।
बार्किन्डोले तेल उत्पादनमा थप कटौती हुने वा नहुने भन्ने विषयमा अहिले बोल्नु निकै छिटो हुने बताए । अहिले ओपेक र उसका सहयोगी मुलुक बजारको अन्योल हटाउन प्रयासरत रहेको उनको भनाइ छ । कच्चा तेलको भाउलाई टेवा दिन ओपेक तथा उसका सहयोगी मुलुकले तेल उत्पादनमा दैनिक १२ लाख ब्यारेल कटौती गर्दै आएका छन् । विश्व बजारमा बुधवार यो समाचार तयार पार्दासम्म साढे ७ बजे ब्रेन्ट कच्चा तेलको भाउ प्रतिब्यारेल ४८ सेन्टले घटेर ६१ डलर ५८ सेन्टमा आइपुगेको थियो । त्यस्तै, यूएस क्रुडको भाउ प्रतिब्यारेल २९ सेन्ट घटेर ५६ डलर ५१ सेन्टमा आइपुगेको थियो । एजेन्सी