वीरगञ्ज ।लक्षित राजस्व उठाउन चुनौती भोगिरहेका बेला देशकै ठूलो भन्सार कार्यालय वीरगञ्जले आयातित सामानको भन्सार कोड फरक पारी उच्च राजस्व लाग्ने कोडमा वर्गीकरण गर्न थालेको व्यापारीहरूले गुनासो गरेका छन् ।
भन्सार कार्यालयले भने व्यापारीहरूमा एउटा सामान घोषणा गरेर अर्कै भित्त्याउने प्रवृत्ति देखिएपछि एचएस कोडमा कडाइ गरिएको दाबी गरेको छ ।
वैदेशिक व्यापारलाई व्यवस्थित बनाउन विश्व भन्सार संगठनले वस्तुको विश्वव्यापी रूपमा मान्य हुने गरी हार्मोनाइज्ड सिस्टम (एचएस) कोड बनाएको छ । त्यसमा शुरूका ६ अंक एकै हुने र त्यसलाई सबै देशले मान्यता दिने प्रावधान छ । त्यसपछिका अंक प्रत्येक देशले आफ्नो विशेषताअनुसार फरक पार्न सक्छन् । यही वर्गीकरणमा मालसामानको भन्सार जाँचपास हुने र त्यसैका आधारमा भन्सारले राजस्व उठाउनुपर्ने प्रावधान छ । तर, केही समययता भन्सार कार्यालयले आयातित वस्तुको एचएस कोडको भाग नै फरक पारेर वर्गीकरण गर्न थालेको भन्दै आयातकर्ताले असन्तुष्टि व्यक्त गरेका छन् ।
कोरोना महामारीयता वैदेशिक व्यापार घटेर भन्सारमा उठ्ने राजस्व खुम्चिन थालेपछि भन्सार अधिकारीहरूले आयातित वस्तुलाई बढी राजस्व आउने भागमा वर्गीकरण गरिदिने र त्यसैमा सामान पास गराउन दबाब दिने गरेको आयातकर्ता बताउँछन् ।
वैदेशिक व्यापारमा एकरूपता र सहजीकरणका लागि एचएस कोड अन्तरराष्ट्रिय रूपमै एकै हुने भए पनि राजस्व बढी उठाउनकै लागि फरक भागमा लैजाने अभ्यास उचित नभएको वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव आशिष लाठ बताउँछन् । ‘अन्तरराष्ट्रिय व्यापारले मान्यता दिएको एचएस कोडलाई हाम्रो भन्सारले पनि मान्यता दिनुपर्छ भन्ने आग्रह हो । अरू देशले मानेको कोडलाई मान्दैनौं भनेर फरक वर्गीकरण गरिदिँदा व्यापारमा असजिलो भइरहेको छ,’ महासचिव लाठले भने ।
बढी राजस्व लाग्ने भागमा वर्गीकरण गरिदिएपछि व्यापारको लागत बढ्न गएको गुनासो व्यापारीहरूको छ । औद्योगिक उपकरणका पार्टपुर्जाको आयातमा यस्तो समस्या बढी आएको आयातकर्ता बताउँछन् ।
वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थी भन्सारको उद्देश्य राजस्वभन्दा पनि व्यापार सहजीकरणमा बढी केन्द्रित हुने दाबी गर्छन् । तर, एचएस कोडको समस्या आयातकर्तामाथि विश्वासको कमीका कारण आउने गरेको प्रमुख भन्सार प्रशासक पन्थीको भनाइ छ । ‘यो आयातकर्ता कति विश्वसनीय छन्, त्यसमा भर पर्छ ।
विश्वासको कमीकै कारण आयातकर्ताले घोषणा गरेको कोडलाई अर्कोमा लैजाने अवस्था आउँछ,’ उनले भने । भन्सारले एचएस कोड परिवर्तन गरिदिएपछि साफ्टा सुविधा पनि नपाएको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल बताउँछन् । आयातकर्ताले साफ्टा सहुलियतअन्तर्गत घोषणा गरेर ल्याएको वस्तुमा पनि वर्गीकरण फरक पारिएको छ । अन्तरराष्ट्रिय रूपमा मान्यता दिइएको कोडलाई नेपाल भन्सारले पनि स्वीकार गर्नुपर्छ भन्ने हाम्रो अग्रह हो,’ उनले भने ।
तर, व्यापारीले एउटा घोषणा गरेर अर्कै सामान भित्त्याउने प्रवृत्ति देखिएपछि एचएस कोडमा कडाइ गरिएको भन्सार अधिकारीहरूको दाबी छ । वास्तविकभन्दा फरक पारेर ल्याइएकोमा कोड सच्याएर जाँचपास गर्न लगाइने उनीहरू बताउँछन् । भन्सारमा मालसमान आएपिच्छे वर्गीकरणमा झमेला हुन थालेपछि आयातकर्ताले दोहोरो एचएस कोड राखेर प्रतीतपत्र (एलसी) खोल्न थालेको महासचिव लाठ बताउँछन् । भन्सारले एचएसको शुरूका ६ अंकलाई मान्यता दिनुपर्ने भए पनि भाग नै फरक पारेर वर्गीकरण गर्न थालेपछि आयातकर्ताले यस्तो उपाय अपनाएका हुन् ।
भारतबाट मालसामान आयात गर्दा भारत र नेपाल दुवैतर्फको कोड उल्लेख गरेर एलसी खोलिएको आयातकर्ताले बताए । ‘त्यही वस्तुमा भारतमा एउटा कोड छ, यता अर्को छ । निर्यातकर्ताले फरक कोड उल्लेख गर्न मान्दैनन् । यस्तो अवस्थामा उनीहरूको सहजताका लागि भए पनि दुईथरी कोड राखेर एलसी खोल्नुपरेको छ,’ ती आयातकर्ताले भने ।