काठमाडौं । उद्योगी व्यवसायीहरूमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी सचेतनाका लागि ललितपुरमा आज (आइतवार) पदयात्रा गरिएको छ । नेपाल हस्तकला महासंघ र अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ)को संयुक्त तत्वावधानमा पदयात्रा गरिएको हो ।
बागमती प्रदेश सरकारका पूर्व उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारको प्रमुख आतिथ्यमा शुभारम्भ भएको पदयात्रामा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पदयात्रामा सहभागी हुनेलाई स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा बागमती प्रदेश सरकारका निवर्तमान संस्कृति पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्य, ललितपुर महानगरपालिकाकी उपप्रमुख मन्जली शाक्य बज्राचार्य, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।
ललितपुरको पाटनढोकाबाट प्रारम्भ भएको पदयात्रा ललितपुर महानगरपालिकाका विभिन्न टोलमा हुँदै पुल्चोकमा समापन भएको थियो । पदयात्राका सहभागीहरूले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी चेतना जागरण गर्ने विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
पदयात्रा समापन कार्यक्रममा हस्तकला महासंघका उपाध्यक्ष दीपेन्द्र शाक्यले धन्यवाद ज्ञापन गरेका थिए ।