विराटनगर। कोशी प्रदेशका उद्योगी, व्यवसायीले उद्योग, व्यवसायमैत्री कर प्रणाली लागू गर्न सुझाव दिएका छन् । सरकारले गठन गरेको उच्चस्तरीय कर प्रणाली सुधार सुझाव समितिलाई उनीहरूले त्यस्तो सुझाव दिएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको राजस्व समिति सभापति देवकीनन्दन अग्रवालले उद्योग, व्यवसायमैत्री कर नीति निर्माण गर्न समितिका सदस्य लक्ष्मण अर्याल र श्याम दाहाललाई सुझाव दिएको बताए ।
आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत डा. डीबी क्षत्रीले आइतवार कार्यालयमै आयोजना गरेको छलफल कार्यक्रममा कोशी प्रदेशका व्यावसायिक संघसंस्थाका पदाधिकारी र चार्टर्ड एकाउन्टेन्टहरूको सहभागिता थियो । अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरे र उपसचिव कमल भट्टराई पनि कार्यक्रममा सहभागी थिए ।
सरकारले चैत मसान्तभित्र उद्योगी, व्यवसायीसँग कर प्रणालीसम्बन्धी सुझाव लिएर आफ्नो रायसहित प्रतिवेदन बुझाउन समितिलाई समय दिएको छ । कार्यक्रममा सहभागी नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था विराटनगर शाखाका अध्यक्ष सीए अश्विनी वंशलले उद्योगी, व्यवसायीलाई प्रोत्साहन गर्ने गरी कर नीति निर्माण गर्न गठित समितिलाई उद्योगी व्यवसायीले सुझाव दिएको बताए ।