आर्थिक विकासका केवल दुई पूर्वाधार हुन्छन्– यातायात र सञ्चार । यातायात मानव सभ्यताको छिटो विकास भएको क्षेत्रमा पर्छ । यातायात विकासको इतिहास करीब १ वर्ष मात्र पुरानो छ । अझ नेपालले यस क्षेत्रमा काम शुरू गरेको केवल ५० वर्ष भने पनि हुन्छ । बीसौं शताब्दीमा अमेरिकी इञ्जिनीयर फोर्डले तीव्र गतिका चार चक्के वाहन शुरू गरे । अमेरिकाको आर्थिक विकास नै सडक यातायातको विकास हो । यातायातका साधनको विकास भएपछि त्यसलाई हिँडाउन स्तरीय सडक, ट्रेन गुडाउन रेलवे लीक, रोप वेलाई मोटामोटा तार, हवाई जहाज उड्न र बस्न हवाई अड्डा, पानी जहाजलाई बन्दरगाह इत्यादिको विकास भयो । नेपालमा विसं २००७ सम्म नेपालमा जम्मा पाँच किमी पक्की सडक थियो । काठमाडौंमा नै एउटा हवाई अड्डा थियो । हेटौंडादेखि काठमाडौंसम्म सामान ढुवानी गर्ने रोपवे तथा तथा रक्सौल–वीरगञ्ज र जनकपुर–जयनगर दुई स्थानमा रेलवे लाइन थियो ।
यातायात भनेको सडक यातायातसँग सम्बन्धित सेवा हुन् । विसं २०७० सम्म नेपालमा लगभग २५ हजार किमी सडक छ । आज नेपालका सबै जिल्ला र कतिपय जिल्लाका प्रत्येक गाउँमा सडक सञ्जाल पुगिसकेको छ ।
यातायात व्यवस्था आर्थिक पूर्वाधार हो भने यातायात सेवा अभौतिक वस्तु हो । वस्तु भनेको अर्थशास्त्रमा त्यो पदार्थ हो, जसले मानवीय आवश्यकता सन्तुष्ट गर्छ, चाहे त्यो भौतिक होस् वा अभौतिक । यातायात एक अभौतिक वस्तु हो किनभने यसका क्रेता हुन्छन्, विक्रेता हुन्छन् । यसको मूल्य हुन्छ । त्यसका प्रतिस्थापन वस्तु हुन्छन् । माग हुन्छ । पूर्ति हुन्छ । गुणस्तर हुन्छ । गुणस्तरमा सुधार गर्न सकिन्छ । समय तŒवले यसलाई प्रभावित गर्छ । समयसमयमा वस्तुको माग मात्रा घटबढ भइरहन्छ । पहाड र हिमालको तुलनामा समथर स्थानहरूमा यातायातको माग बढी हुन्छ । ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्र र अल्पविकसित क्षेत्रको तुलनामा विकसित क्षेत्रहरूमा यातायातको माग बढी हुन्छ ।
बजार अर्थ व्यवस्थामा उपभोक्ता बजार सार्वभौमसत्ता सम्पन्न मानिन्छ । यात्रुहरू यस सेवाका क्रेता सन्तुष्ट पनि पाइन्छन्, तर त्यो सङ्ख्या कम छ । आंशिक वा पूर्णरूपमा असन्तुष्ट क्रेता बढी पाइन्छन् । यसबाट यातायात सेवाको बजारक्रिया असन्तुलित रहेको स्पष्ट हुन्छ ।
मानिसको आयमा वृद्धि हुन्छ भने मानिस बसभन्दा मिनी बस, मिनी बसभन्दा, माइक्रो बस, माइक्रोबसभन्दा ट्याक्सी र ट्याक्सीभन्दा प्लेनलाई अधिकमान दिन्छन् । यसले सार्वजनिक यातायातलाई अर्थशास्त्रको इनफेरियर गुड्स र सुपिरियर गुड्सको सम्झना गराउँछ ।
यातायात सेवालाई सुविधाजनक र असल वस्तुका रूपमा विकास गर्न निर्बाध यातायात यसको पहिलो शर्त हो । मानिसलाई यातायात सेवामाथि विश्वास नहुँदा के हुन्छ भन्ने कुरा केही समयअघि कम्बोडियाको एउटा प्रतिवेदनमा जनाइएको छ । त्यहाँका सार्वजनिक यातायातको स्तरमाथि मानिसलाई विश्वास नहुँदा कम्बोडियाको राजधानीमा सरकारी बसको सङ्ख्या घट्दो छ । सरकारले यातायात सेवा शुरू गर्दा मानिसलाई त्यसमा सवारी गर्न विशेष आग्रह गर्नुपरेको थियो ।
अहिले पहिलेको तुलनामा यात्रुहरूले कम समयमा उही दूरी पार गर्नसक्ने भएका छन् । यातायातका लागि यो एक सकारात्मक उपलब्धि भन्नुपर्छ । दक्ष गाडी चालकको सङ्ख्यामा वृद्धि भएको छ । गाडीले दिएको प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी प्रशंसनीय छ । तर, यातायात सेवामा उपभोक्तालाई छनोटको स्वतन्त्रता नगण्य छ । अत्यन्त सीमित छनोट छ । ती सीमित छनोटका बारेमा पनि अधिकांश यात्रु अनभिज्ञ छन् । छनोटको स्वतन्त्रता कस्तो छ भने बस, मिनी बस, वा माइक्रो बसमध्ये कुन रोज्ने ? त्यसमाथि यी सेवामा कुनै पनि गुणात्मक भिन्नता छैन । रेलवेका स्लीपर क्लासको आनन्द दिने बस सेवाहरूको प्रयोग पनि गर्न सकिन्छ । तर, त्यसका लागि समतल र उच्च स्तरको सडक पहिलो पूर्वाधार हो ।
यात्रुलाई सजिलो गरी सूचना दिनु पनि यातायातको एक पूर्वाधार हो । कुन बस कहाँ जाने हो, कुन बसको टिकट कहाँबाट काट्ने हो, कहाँका लागि कति बजे गाडी पाइन्छ, त्यस खाली समयको के सदुपयोग गर्न सकिन्छ, कहाँबाट गाडी फेर्नुपर्छ, सजिलो गरी अर्को गाडी पाउने उपायहरू केके हुन् यस्ता जानकारी यात्रुले बसपार्कमा पाउनुपर्छ । बसको टिकटमा यात्रुले गर्ने अनावश्यक मोलमोलाई यातायातको अर्को समस्या हो । यात्रु वा सेवाप्रदायक कसैले पनि मोलमोलाई गर्नु अनुचित हो भन्ने बुझ्नुपर्छ । यदि कोही मानिस एक ठाउँबाट अर्को ठाउँमा जाँदै छ भने कुनै नयाँ स्थानमा उसलाई यातायात, ठाउँहरूको जानकारी आवश्यक पर्छ । थोरै समयको बसाइ अवधिमा यता उति घुम्ने सेवासुविधाको उसलाई आवश्यकता पर्छ । यस्ता सेवासुविधा सजिलैसँग उसलाई प्राप्त भयो भने ऊ उत्साहित हुन्छ अन्यथा ऊ निरुत्साहित । यस्ता कुराको विस्तृत जानकारी बसबिसौनीमा उपलब्ध हुने व्यवस्था हुनुपर्छ । जानकारी सर्वसाधारणले बुझ्ने गरी बसपार्क र मुख्यमुख्य बसबिसौनीका बोर्डहरूमा लेख्नुपर्छ । अनि त्यहाँ लेखेअनुसारका यातायात सञ्चालन पनि हुनुपर्छ । कुनै कारणवश बस सेवा अवरुद्ध भएमा सो जानकारी बसपार्कमा लिखित रूपमा राखिदिनुपर्छ । कम्प्युटर प्रविधिका सूचनाहरूको युगमा सूचनाहरूलाई अझ सजिलो गरी फैलाउन सकिन्छ ।
बसमा चढ्न र ओर्लनमा रोगी, कमजोर, केटाकेटी, बूढाबूढी, महिला र बालबच्चासँग हिँडेका परिवारलाई बढी समय लाग्छ । यी सबै कुरा सेवाप्रदायक र अन्य यात्री दुवैले ध्यानमा राख्नुपर्छ । यी ज्यादै सामान्य कुरा हुन् तर यातायातलाई सजिलो बनाउने बलियो आधार पनि ।
बसबिसौनीमा दिसापिसाबको सुविधा सर्वसाधारणको सहज पहुँचमा हुनुपर्छ । सशुल्क सेवा प्रारम्भ भएका छन् तर सन्तोषजनक छैनन् । बूढाबूढी, केटाकेटी र महिला लामो दूरीको यातायातमा अरुचि गर्नुको एक कारण सार्वजनिक शौचालयको अभाव पनि हो । अझ बिरामी छन् भने त्यो दिक्दारी झन् दोब्बर हुन जान्छ । बसबिसौनीको खानपिनको समस्या पनि यात्रुले बेहोर्नुपर्छ । खाना खाने ठाउँमा दिसापिसाब, पत्रपत्रिका र अन्य सेवाको व्यवस्था हुनुपर्छ । चिया, कफी, चिसो, दूध, दही फलफूल यस्ता कुरा पनि यातायात उद्योगका अङ्ग हुनुपर्छ । तर, के हुन्छ भने बसबिसौनीमा मासु, कडा पेय, अस्वच्छ नास्ता र प्रायः बासी खानाको प्रसस्त र हुन्छ ।
सरकारी यातायात नभएको हाम्रो देशमा साझा यातायात सञ्चालन गरेर अथवा अन्य यातायातको मूल्याङ्कन गरी स्तरीकरण प्रमाणपत्रको व्यवस्था गर्नुपर्छ । यातायातलाई चाप परेको समयमा विशेष बस सेवाहरू सञ्चालन गर्न सकिन्छ । बस यातायात एक मात्र सर्वसाधारणको आवागमनको सजिलो साधन भएकाले सडक यातायातलाई अत्यन्त सुविधायुक्त बनाउने प्रयास गर्नुपर्छ ।
लेखक बुटवल बहुमुखी क्याम्पसका अर्थशास्त्रका प्राध्यापक हुन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.