जो भेट्यो, उही देशमा विकासै भएन भन्छ बा ! यसो भन्नेहरू त अल्पज्ञानीहरू मात्रै हुन् । न शब्दको अर्थ थाहा छ, न विकासको परिवेश । खाली विकास भएन भन्या छ बकबक गर्या छ । तर हिजो जे थियो, त्यो आज छैन । नयाँ भएको छ । अब यसलाई विकास नभनेर के भन्ने ? देशमा हरेक क्षेत्रमा जुन तीव्रताका साथ परिवर्तन हुँदैछ, त्यसलाई हेर्दा मान्नैपर्छ कि विकास हाम्रो बाध्यता हो ।
कुनै मानिस चार जनाबीच बसेको बेला उसले सबैले गर्ने जस्तै गर्नुपर्छ । तर, जब ऊसले अरूले जे गरे, त्यही गर्न थाल्छ, त्यसको जिम्मेवारी पनि उसकै हुन्छ । छिमेकीको घरमा ठूलो फ्रिज आयो भने हाम्रो फ्रिजले आफैलाई सानो महसुस गर्न थाल्छ । फ्रिजको यो संवेदनशीलतालाई के भन्ने होला ? यो नयाँ प्रविधि हो । यसलाई तपाईं उपकरणहरूको समाजवाद भन्न सक्नुहुन्छ । तपाईं मान्नुहुन्न होला, तर यो प्रविधिको विकास नै हो ।
हिजो जेल परेको मान्छे अहिले दश जना मान्छेले घेरिएर हिन्छ । हिजो सर्वहारा, अहिले सर्वहारी, हिजो फाटेको हवाई चप्पलमा अहिले हवाईजहाजमा, लाखौं पर्ने घडी र अन्य सामान पनि । हिजो राजाले नि गर्न नसक्ने शौख त अहिले वडाअध्यक्षले समेत गर्छन् । अनि भएको छैन त विकास ?
बाउबाजे बेसाहाको खान पाउँदैनथे, इज्जतै जान्थ्यो रे । अहिले बोराका बोरा चामल मान्छेका घरमा भित्रिएका छन् । न खेतको चिन्ता न खेतीको । न केलाउने झन्झट न निफन्ने टण्टा । विकास भनेको यस्तै होइन र ?
जसका घरमा स्कूटर राख्ने ठाउँ छैन, उनीहरूको दुई–चारओटा कार र मोटरसाइकिल सडकमा खडा देखिन्छन् । यो बैंकको ‘प्रगतिशील कर्जा नीति’को चमत्कार हो, तर यो विकास हो । अब त बस्तीहरूमा मानिस कम र कर्जामा लिएका कार र मोटरसाइकिलहरू बढी छन् । यस्तो लाग्छ बैंकहरूले कार रोपेर उत्पादन गर्न थालेका छन् । कृषि क्षेत्रलाई उद्योग भन्नुमा पनि ठूला अर्थ लुकेको रहेछ । त्यसैले कार रोप्न छाडेर धान रोप्नेलाई किन ऋण दिनु ?
विगतमा केटा–केटीबीच विवाह हुन्थ्यो, अहिले दाइजोका सामानसँग गरिन्छ । यो हाम्रो ‘शैक्षिक विकास’को प्रमाण हो । एकजना छिमेकीको छोराले एमबीबीएसमा पहिलोमा नै नाम के निकालेको थियो उनी त करोड करोड भन्न थाले । त्यो त डाक्टरको बिहेको शुल्क पो रैछ । यस्ता विकास त कति कति ।
अब शिक्षितहरू गाली गर्दै देश छोड्न व्यस्त छन्, बाँकीले कफीसपमा गफ हाँक्न र सामाजिक सञ्जालमा भ्रामक पोस्ट लाइक गर्न । नेताहरूले यसैलाई नै विकासको नयाँ परिभाषा भनिरहेका छन् । सरकारले गाउँ गाउँमा स्कुल खोलेकै छ । अस्पताल पनि पुर्याएकै छ । अब त्यहाँ पढाइ भएन, औषधि आएन भनेर विकास भएन भन्ने ? अब विकासै हेर्न मन भए डाँडाहरूमा गएर हेर्नुस् त भ्यू टावर कति देख्नुहुन्छ कति । भएको छैन त विकास ?
नपत्याए समाचारका लागि टिभी खोल्नुहोस् । त्यहाँ गुनगुन गुनगुन ‘पोलिटिकल मास्किटो’ अर्थात् राजनीतिक लामखुट्टेहरूले विकासे बहस गरिरहेका देखिन्छन् । हरेक मच्छरले अर्कोलाई डेंगुको मच्छर प्रमाणित गर्न तम्सिएको हुन्छ । बहस सुन्दै गर्दा मानिसलाई ज्वरो आउन थाल्छ । त्यो देख्दा अब कुनै ट्याबलेट वा प्यारासिटामोल खाएर मात्र बाँच्न सकिन्छ जस्तो लाग्छ । तर, टिभी बन्द गर्नेबित्तिकै ज्वरो ठीक हुन्छ । यो हो नि– चमत्कारी विकास !
विकासलाई लिएर धेरै कुरा भइरहेका छन् । तर, विकास कुनै एक पार्टीको मुद्दा होइन । चुनावको समयमा हरेक पार्टीलाई विकासको कुरा गर्ने अधिकार छ । कामै गर्नेपर्छ भन्ने कानून त बनाको छैन नि । फेरि झूट अक्सर प्रिय लाग्छ जनतालाई । त्यसैले भोट पनि त्यस्तै आउँछ । जनतालाई यस्ता कुराहरू सुनिरहन खुब मन पर्छ । त्यसैले विकासको कुरा चुनावको बेला खुब चम्किन्छ । प्रत्येक पार्टीलाई ‘हामीले विकास गरेकै हो’ भन्ने अधिकार छ । जनतालाई पनि यस्ता कुराहरू खुब मन पर्छ, जस्तै– ‘जनता नै देशका मालिक हुन्,’ ‘मतदाता जागरूक छन्’, आदि । लोकतन्त्र जोगाउन पाँच वर्षसम्म झूट बोल्न परे पनि के बिग्रिन्छ र ? आखिर, झूट नै लोकतन्त्रको आधार हो र त्यही झूटमा दिनदिनै विकास भइरहेको छ त ।
तपाईंलाई याद होला, २०४७ मा परिवर्तन हुँदा देशमा हाम्रो जनसंख्या केवल डेढ करोड थियो । चौंतीस वर्षमा यो बढेर तीन करोड पुग्यो । मतलब, डेढ करोडको नाफा । आम्दानीमा आयकर बढाउनुहोस्, पेट्रोल–डिजेलको भाउ बढाउनुहोस् । चौंतीस वर्षअघि वैदेशिक रिण केवल १ खर्ब थियो, आज यो २६ खर्ब नाघेको छ । यो ठोस विकास नभए के हो ? अर्थशास्त्रीहरू भन्छन्– जुन देश धनी, त्यसैको ऋण बढी हुन्छ । त्यही भएर नेपाल पनि ऋण लिने तीव्र गतिमा छ । योजनाका कागज टन्नै बनेकै छन् । प्रत्येक पटक फेरिने सरकार ऋण बढाउने प्रतिस्पर्धामा हुन्छ । यसरी देश ऋणमा उकासिएकै छ । किनकि उनीहरूको बुझाइमा विकास भनेको नै उकास हो । अब तपाईं पनि जसरी पनि आफूलाई उकास्नुस् न । त्यसैले बरु आउनुस्, हामी यसरी नै यस्तै विकासको बाटो दौडौं ।