काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनी चालू आवको तेस्रो त्रैमाससम्म रू. २३ करोड ७२ लाख नोक्सानीमा रहेको छ ।
गत आवको तेस्रो त्रैमासमा पनि कम्पनी रू. ६ लाख ६ हजार नोक्सानीमा थियो । यस आधारमा कम्पनीको नोक्सानी गत आवमा भन्दा चालू आवमा बढेको छ । चालू आवमा कम्पनीको वित्तीय खर्च रू. ३१ करोड १९ लाखभन्दा बढी भएकाले कम्पनी नोक्सानीमा देखिएको हो ।
चालू आवको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्म कम्पनीले विद्युत् विक्रीबाट रू. ३५ करोड ९३ लाख आम्दानी गरेको छ । गत आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले विद्युत् विक्रीबाट आम्दानी गरिसकेको थिएन । गत पुस मसान्तसम्म भने कम्पनीले विद्युत् विक्रीबाट रू. १५ करोड ७६ लाख आम्दानी गरेको थियो । पुसको तुलनामा विद्युत् विक्रीबापत हुने आम्दानीमा उल्लेख्य वृद्धि भएको छ ।
चुक्तापूँजी रू. १ अर्ब ८२ करोड रहेको कम्पनीको चालू आवमा जगेडा कोष भने रू. ३३ करोड २ लाख ऋणात्मक रहेको छ । गत आवमा पनि कम्पनीको जगेडा कोष रू. ९ करोड ३६ लाख ऋणात्मक थियो । चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १२.९८ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ८१ दशमलव ९३ रहेको छ ।