काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५९ दशमलव ३१ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ५ करोड ६३ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. २ करोड २९ लाखमा सीमित भएको हो ।
चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले खुद नाफा घटेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १३ दशमलव ८४ प्रतिशत र सञ्चालन नाफा ५८ दशमलव ४७ प्रतिशत घटेको छ ।
गत आवमा कम्पनीको सञ्चालन नाफा रू. ७ करोड ८९ लाख रहेकोमा चालू आवमा घटेर रू. ३ करोड २७ लाखमा सीमित भएको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवमा रू. ४३ करोड ९६ लाख रहेकोमा चालू आवमा रू. ३७ करोड ८७ लाखमा झरेको हो ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४९ पैसा रहेकोमा चालू आवमा घटेर ३ रुपैयाँ ३६ पैसामा सीमित भएको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५७ दशमलव ३८ रहेको छ ।
चुक्ता पूँजी रू. ९१ करोड ७ लाख रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा रू. ३४ करोड ७० लाख र रिटेन्ड अर्निङमा रू. १७ करोड ५५ लाख सञ्चिति गरेको छ ।