युवाको क्षमता विकास नै देश विकासको आधार हो । शिक्षा, शीप र सदाचारले युवालाई युक्त बनाउनुलाई उनीहरूको क्षमता विकासका रूपमा लिन सकिन्छ । यसरी नै देशलाई आवश्यक पर्ने जनशक्ति निर्माण गरेको पाइन्छ । यसलाई मानव पूँजी निर्माण पनि भनिन्छ । उच्च शिक्षा प्राप्त गरी मुलुकको मानव संसाधन विकासमा टेवा दिन नेपालबाट विगतदेखि नै अध्ययन अनुमति लिएर विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाने गरेको पाइन्छ । यसरी मुलुकको जनशक्तिको आवश्यकतालाई आकलन गरेर नेपाल सरकार आफैले वा विदेशी सरकारले देशमा आवश्यक पर्ने जनशक्तिको उत्पादन गर्न छात्रवृत्ति प्रदान गर्ने प्रचलन रहेको थियो ।
यसका लागि नीतिगत मार्गदर्शन पनि प्राप्त थियो । वैदेशिक अध्ययनको कानूनी आधार छात्रवृत्तिसम्बन्धी ऐन, २०२१ र छात्रवृत्तिसम्बन्धी नियमावली, २०६० रहेको छ । यसलाई थप व्यवस्थित र सहज बनाउन ‘विदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली नागरिकले लिनुपर्ने पूर्वस्वीकृतिपत्र (नो अब्जेक्शन लेटर) लिने कार्यलाई सहज, सरल, तथ्यपरक, व्यवस्थित, प्रविधि–मैत्री तथा प्रभावकारी बनाउन र विदेशी मुद्रा सटही सिफारिशसम्बन्धी कार्यलाई व्यवस्थित गर्न वाञ्छनीय भएको’ उल्लेख गरी सरकारले वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ । यही कार्यका लागि अनलाइन एप्लिकेशन प्रणाली निर्माण गरिएको छ । यसमार्फत दैनिक १ हजारभन्दा बढी नेपाली विद्यार्थीले अध्ययन अनुमतिका लागि आवदेन गर्ने गरेका छन् । तालिकाबाट पछिल्लो केही वर्ष यसरी विदेश जाने विद्यार्थीको संख्या अनपेक्षित रूपले बढ्दै गएको पुष्टि हुन्छ ।
बढ्दो आयातले नेपालमा उत्पादन हुने वस्तुहरूको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आएकाले उद्योगधन्दा फस्टाउन सकेका छैनन् । उत्पादन घटेपछि रोजगारीमा पनि कमी आउने नै भयो । यसले रोजगारमूलक आर्थिक वृद्धिलाई पनि प्रतिकूल असर गरेको छ ।
विगत ११ वर्षमा अध्ययन अनुमति लिनेको संख्या ५ लाख ४७ हजार ४४३ रहेको थियो । यो संख्या प्रत्येक वर्ष त्यसै अवधिमा सरदर ६ प्रतिशतले बढेको देखिन्छ । कोभिड–१९ अवधिलाई गणना नगर्दा भने यस्तो वृद्धिदर करीब २० प्रतिशत हुन आउँछ । तर, पछिल्ला केही वर्षमा ७१ प्रतिशतसम्मले बढेको छ । यसरी अध्ययन गर्न गएका युवामध्ये देशमा फर्किएको जनशक्तिको यकीन विवरण भने उपलब्ध हुन सकेन । एकातिर यसरी अध्ययन गर्न जाँदा वर्षेनि अर्बौं रुपैयाँ विदेशिने गरेको छ भने मुलुकभित्र स्थापित कलेजहरूमा विद्यार्थीको संख्या घट्दै गएको छ ।
यसै गरी विदेश जाने विद्यार्थीको उतै बसोवास गर्ने दीर्घकालीन सोच रहने भएकाले भविष्यमा मुलुकका लागि आवश्यक दक्ष जनशक्तिको कमी हुने सम्भावना पनि रहने देखिन्छ । विद्यार्थीको संख्या स्वाट्टै घटेकाले कतिपय कलेज गाभिँदा त्यसमा कार्यरत शिक्षक–कर्मचारीको रोजगारी खोसिएको अवस्था पनि छ । यसले मुलुकको मानव संसाधनको विकास तथा व्यवस्थापनमा तत्कालीन र दीर्घकालीन प्रभाव परेको छ । यो विषयले मुलुकको विकास प्रक्रियालाई पनि प्रतिकूल प्रभाव पार्ने देखिएको छ । यस कारण यसलाई महत्त्वका साथ उठान गर्नुपर्ने देखिन्छ ।
अध्ययन अनुमतिले जनशक्ति व्यवस्थापनमा सृजना गरेका समस्याहरूलाई तत्कालीन र दीर्घकालीन समस्याका रूपमा उल्लेख गरी विश्लेषण गर्न सकिन्छ । तत्कालीन समस्याका रूपमा शैक्षिक संस्थामा विद्यार्थीको भर्नादर घटेकाले शैक्षिक जनशक्तिको रोजगारी घटेको छ । कतिपय क्याम्पस गाभ्नु परेको छ । शैक्षिक संस्थाको लगानी डुबेको छ । युवा जनशक्तिको पलायनले देशको उत्पादन तथा उपभोगको शृंखला खलबलिएको छ । स्वदेशी वस्तुको समग्र माग घटेकाले उत्पादन पनि घटाउनु परेको छ । यसले रोजगारी सृजनालाई पनि प्रतिकूल प्रभाव पारेको छ ।
विदेशमा अध्ययन गर्न जाने प्रक्रियालाई सहजीकरण गर्न खुलेका शैक्षिक परामर्श केन्द्रमा विकृति पनि देखिएका छन् । यसलाई निराकरण गर्न संसद्को अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विदेशमा अध्ययन गर्न जानेका लागि सहज बनाउन शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्ने सम्बन्धमा छुट्टै कानून ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको बैठकले नेपाली विद्यार्थी विदेश पढ्न जाने उपयुक्त विषय तथा देशको सूची बनाएर सोहीअनुरूप अनुमति दिनसमेत निर्देशन दिएको छ । नेपाली पढ्न जाने गन्तव्य मुलुकसँग नेपाल सरकारलाई त्यससम्बन्धी सम्झौता प्रक्रियासमेत अगाडि बढाउन समितिले निर्देशन दिएको छ । यता परामर्श केन्द्रले म्यानपावरको काम गरेको अवस्था पनि विद्यमान छ । अर्कोतिर अध्ययन अनुमति कार्यालयमा सेवाग्राहीको संख्या बढेकाले व्यवस्थापन गर्न असहज भएको छ ।
मुलुकको मानव संसाधन विकास र विदेशमा अध्ययनका लागि अनुमति प्रदान गर्ने कामका बीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । देशको आवश्यकता के हो, कुन विषय पढ्न विदेश जान दिने, कुन विषय पढ्न जान नदिनेलगायतको स्पष्ट मापदण्ड बनाउनुपर्ने आवश्यकता अनुभूत भएको छ । देशको मानव संसाधनको आवश्यकतालाई ७ सय परामर्श केन्द्र माग गरिएकोमा हाल मन्त्रालयले अलग्गै निर्देशिका बनाएर ४०२ ओटा केन्द्रलाई सञ्चालन अनुमति दिएको छ । विद्यार्थीहरू विभिन्न मुलुकमा अलपत्र परेको उजुरी प्राप्त हुने गरेकाले शैक्षिक परामर्श केन्द्रको विकृति अन्त्य गर्न र ठगी नियन्त्रण गर्न अनुसन्धान र कारबाही पनि अगाडि बढाइएको छ । रूसबाट युक्रेनमा खटिएर मृत्यु हुने कतिपय व्यक्ति अध्ययनका लागि गएको भन्ने खबरहरू पनि सार्वजनिक भएका छन् ।
पूर्वाधार विकासमा कम लगानी हुनु, विश्वव्यापी श्रमबजारको मागअनुसारको जनशक्ति उत्पादन गर्ने गरी पाठ्यक्रमको समसामयिक परिमार्जन नगरिनु र विश्वस्तरको प्रविधिको उपयोग गरिएको शैक्षिक प्रणाली निर्माण गर्न नसक्दा कमजोर पठनपाठन हुनुले युवा पलायन बढेको हो ।
यसरी नेपालबाट युवा जनशक्ति पलायन हुनुका विभिन्न कारण छन् । पहिलो, देशको उच्च शिक्षाको गुणस्तर र व्यवस्थापन कमजोर हुनु हो । कमजोर गुणस्तरका कारण पूर्वाधार विकासमा कम लगानी हुनु, विश्वव्यापी श्रमबजारको मागअनुसारको जनशक्ति उत्पादन गर्ने गरी पाठ्यक्रमको समसामयिक परिमार्जन नगरिनु र विश्वस्तरको प्रविधिको उपयोग गरिएको शैक्षिक प्रणाली निर्माण गर्न नसक्दा कमजोर पठनपाठन हुनु हो । शैक्षिक क्यालेन्डरको परिपालना हुन नसक्नुले पनि गुणस्तर खस्किएको र विद्यार्थीको पढाइ पूरा गर्ने तथा रोजगारीमा प्रवेश गर्ने समयको अनिश्चितता बढेको हो । शिक्षक, कर्मचारी, व्यापारी, विद्यार्थी, कामदार, डाक्टर, इन्जिनीयर, प्राध्यापक, पत्रकार, बुद्धिजीवीहरू राजनीतिक दलको सदस्य बन्नुपर्ने बाध्यताले उनीहरूको व्यावसायिकतामा कमी देखिन्छ । विद्यालय र विश्वविद्यालयलाई राजनीतिबाट टाढा राख्न नसक्दा शैक्षिक गुणस्तर खस्किएकाले पनि युवा जनशक्तिले विदेश पलायनको बाटो रोजेको हो । एक्काइसौं शताब्दीको डिजिटल पुस्ताको विद्यार्थी बीसौं शताब्दीको शिक्षक र पाठ्यक्रम तथा उन्नाइसौं शताब्दीको विधिमा आधारित खण्डहर कक्षा कोठाबीचको तालमेल नमिलेर नै युवा पुस्ता तीव्ररूपमा पलायन भइरहेको छ । समग्रमा गुणस्तरीय शिक्षा प्राप्तिका लागि नेपाली युवा जनशक्ति पलायन हुने गरेको देखिन्छ ।
दोस्रो, नेपालको श्रमबजारमा पर्याप्त रोजगारीका अवसरको कमीले गर्दा युवा पलायन बढेको हो । बढ्दो आयातले नेपालमा उत्पादन हुने वस्तुहरूको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आएकाले उद्योगधन्दा फस्टाउन सकेका छैनन् । उत्पादन घटेपछि रोजगारीमा पनि कमी आउने नै भयो । यसले रोजगारमूलक आर्थिक वृद्धिलाई पनि प्रतिकूल असर गरेको छ । रोजगारीको दिगोपना पनि सुनिश्चित हुन सकेको छैन । वैदेशिक रोजगारी, उच्च आय आर्जनको आकांक्षा र उच्च आय भएका देशमा बसोवास गर्ने योजनाले पनि नेपाली विद्यार्थीहरू विदेशिने गरेका छन् । पहिला स्नातकोत्तर तहको उच्च शिक्षाका लागि विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाने गरेकोमा पछिल्लो समयमा माथि उल्लिखित दुई कारणको प्रबलताले गर्दा नेपालबाट १२ कक्षा उत्तीर्ण गरेपछि स्नातक तहको अध्ययनकै लागि धेरै नेपाली विद्यार्थी जाने गरेका छन् ।
लेखक योजना आयोगमा कार्यरत छन् ।