काठमाडौं । लगातार तीन कारोबार दिन घटेको नेप्से परिसूचक आइतवार ११ दशमलव ५८ अंक बढेको छ । यससँगै नेप्से २ हजार ५८८ दशमलव ३५ विन्दुमा पुगेको हो । आज बजार उच्च विन्दुमा हुँदा २ हजार ६४३ दशमलव ५१ विन्दुसम्म पुगेको थियो ।
गत साउन ३१ गते ३ हजार दशमलव ८१ विन्दुमा रहेको नेप्से त्यसयता ४२४ अंक घटिसकेको छ । कारोबार रकम पनि पछिल्लो केही दिनयता सुस्त छ ।
बजार धेरै घटेकाले अब 'प्यानिक सेल' कम हुँदै गएको छ । 'प्यानिक सेल' कम हुनु, खरीदकर्ताले पनि शेयर खरीदमा हतार नगर्नुले लगायत कारणले कारोबार रकम थप सुस्त बनेको जानकार बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७६ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ५२ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ५६ प्रतिशत वृद्धि भएको छ ।
आज कारोबारमा आएका ३२५ धितोपत्रमध्ये १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता ७२ हजार ९५७ पटकमा रू. ५ अर्ब ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । इष्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
आइतवार रावा इनर्जी डेभलपमेन्टका शेयरधनीले सबैभन्दा धेरै गुमाएका छन् । आज यस कम्पनीको शेयर मूल्य सर्वाधिक ८ दशलमव ६५ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७५० मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने कम्पनीको सूचीमा दोस्रोमा स्वरोजगार लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ७ दशलमव ४२ प्रतिशत घटेर रू. १ हजार १० मा झरेको छ ।
आज शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. २७ करोड ८० लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ३१ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा रहेको एनएलजी इन्स्योरेन्स कम्पनी छ । कम्पनीको रू. १४ करोड ६९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । तीमध्ये बैंकिङ्ग समूहको सूचक सबैभन्दा बढी १ दशमलव ०१ प्रतिशत वृद्धि भएको छ भने होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा बढी शून्य दशमलव ६१ प्रतिशत घटेको छ ।