काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ५० लघुवित्त कम्पनीमध्ये सबैभन्दा बढी शेयर मूल्य भएको कम्पनी हो आत्मनिर्भर लघुवित्त वित्तीय संस्था । पछिल्लो समय लगानीकर्ताको रोजाइमा परेको यो कम्पनीको शेयर मूल्य आइतवार (आज) सकारात्मक सर्किट लागेर प्रतिकित्ता रू. ५ हजार ६६५ पुगेको छ ।
एक वर्ष अवधिमा कम्पनीको शेयर न्यून विन्दुमा रहँदा प्रतिकित्ता रू. १ हजार ५५० सम्म झरेको थियो । त्यो समयमा शेयर खरीद गरेका लगानीकर्ताले अहिले आकर्षक लाभ प्राप्त गरेका छन् ।
यस कम्पनीको कुल सूचीकृत शेयर जम्मा ६ लाख ८५ हजार ७१८ कित्ता मात्रै छ, जसमध्ये सर्वसाधारणतर्फको २ लाख २३ हजार ७१८ कित्ता मात्रै छ ।
कम्पनीको शेयर संख्या कम भएकाले आपूर्ति कम भइ माग बढी भएकाले शेयर मूल्य बढेको जानकार बताउँछन् ।
पछिल्लो समय कम शेयर संख्या भएका कम्पनीको शेयर मूल्य ‘निश्चित समूह’ लागेर बढाएको लगानीकर्ताले सामाजिक सञ्जालमा बताएका छन् ।
कस्तो छ कम्पनीको वित्तीय अवस्था ?
कम्पनीले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमाससम्ममा रू. १ करोड ३९ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको यसै अवधिको तुलनामा भने ७१ दशमलव २६ प्रतिशत कम हो । अघिल्लो आवमा कम्पनीले रू. ४ करोड ८६ लाख नाफा कमाएको थियो । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३७ पैसा छ ।
गत आवको चौथो त्रैमाससम्म कम्पनीले रू. १४ करोड ८१ लाख सापटी लिएको र रू. ८६ करोड १५ लाख निक्षेप संकलन गरेको छ । सो अवधिमा कम्पनीले रू. १ अर्ब ४७ करोडभन्दा बढी कर्जा लगानी गरेको देखिएको छ ।
त्यस्तै कम्पनीले पहिलो पटक आर्थिक वर्ष २०७९÷८० मा शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
कम्पनीको केन्द्रीय कार्यालय दाङको घोराहीमा छ । हालसम्म कम्पनीले ४ जिल्लामा २१ ओटा शाखा कार्यालयमार्फत लघु्वित्त सेवा प्रदान गर्दै आएको छ ।