काठमाडौं। पछिल्लो एक महीनायता बजार केही दिनबाहेक निरन्तर ओरालो लागेको छ । गत साउन ३१ गते ३ हजार दशमलव ८१ विन्दुमा पुगेको नेप्से परिसूचक अहिले १४ प्रतिशत घटेर २ हजार ५७६ दशमलव ७६ विन्दुमा झरेको छ । नेप्से १४ प्रतिशत घट्दा १९ वाणिज्य बैंकको शेयर मूल्य भने औसतमा ११ दशमलव ९५ प्रतिशत घटेको छ ।
यस अवधिमा नबिल बैंकको शेयर मूल्य १०४ रुपैयाँ घटेको छ । यस बैंकको शेयर मूल्य साउन ३१ गते ६६० रुपैयाँ रहेकोमा असोज २ गते घटेर ५५६ रुपैयाँमा झरेको हो । शेयर मूल्य सर्वाधिक रहेको वाणिज्य बैंकको सूचीमा दोस्रोमा एनआईसी एशिया बैंक छ । बैंकको शेयर मूल्य ९० रुपैयाँ १० पैसा घटेको छ । कम्पनीको शेयर मूल्य साउन ३१ गते ५४५ रुपैयाँ १० पैसा रहेकोमा असोज २ गते घटेर ४५५ रुपैयाँमा झरेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १९ बैंकमध्ये सबैभन्दा कम शेयर मूल्य कुमारी बैंकको छ । पछिल्लो कारोबार दिन बैंकको शेयर मूल्य प्रतिकित्ता २१६ रुपैयाँ छ । त्यस्तै, दोस्रोमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको २२९ रुपैयाँ ५० पैसा छ ।