काठमाडौं । सरकारले आगामी ११ वर्ष (सन् २०३५ सम्म)मा १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य लिएको छ ।
सरकारले हालै सार्वजनिक गरेको ‘ऊर्जा विकास मार्गचित्र, २०८१’ अनुसार उक्त विद्युत् भारत, बंगलादेश, चीनलगायतका देशहरू निर्यात गर्ने लक्ष्य लिइएको छ ।
हालसम्म नेपालले भारत र बंगलादेशमा विद्युत निर्यात गर्दै आएको छ । मार्गचित्रअनुसार गत वर्ष (सन् २०२४ मा) भारतमा ७०० मेगावाट विद्युत निर्यात भएको छ । बंगलादेशमा भने गत कात्तिक ३० अर्थात् नोभेम्बर १५ मा एक दिनका लागि ४० मेगावाट विद्युत निर्यात गरेको थियो ।
मार्गचित्रमा सन् २०३५ (आर्थिक वर्ष ०९१/९२ सम्म) सो अवधिसम्म कुल विद्युत् माग २८ हजार ४६८ मेगावाट हुने प्रक्षेपण गरिएको छ ।
‘उक्त विद्युत् मागका लागि जलाशययुक्त जलविद्युत् आयोजनाबाट करीब ५ हजार ९०० मेगावाट, अर्धजलाशययुक्त आयोजनाबाट करीब १० हजार ५०० मेगावाट र बाँकी ऊर्जा नदी प्रवाही आयोजनाबाट उत्पादन गरिनेछ । यसका अतिरिक्त कुल जडित क्षमताको ५–१० प्रतिशतसम्म सौर्य ऊर्जा र ग्रीन हाइड्रोजनलगायत वैकल्पिक स्रोतहरूबाट समेत विद्युत् उत्पादन गरिँदै लगिनेछ,’ मार्गचित्रमा उल्लेख छ ।
सो अवधिसम्म कुल विद्युत उत्पादन २८ हजार ७१३ मेगावाट पुग्ने अनुमान गरिएको छ ।
‘आव २०८०/८१ देखि आव २०८९/९० सम्ममा विद्युत् खरीद सम्झौता सम्पन्न भएका आयोजनाहरूबाट ५ हजार ८७३ मेगावाट, विद्युत् खरीदको प्रक्रियामा रहेका आयोजनाहरूबाट ३ हजार २०५ मेगावाट कनेक्सन एग्रिमेन्ट सम्पन्न आयोजनाहरूबाट ३ हजार १०८ मेगावाट कनेक्सन एग्रिमेन्टको प्रक्रियामा रहेका आयोजनाहरूबाट ५ हजार ६४८ मेगावाट तथा नेपाल सरकार एवं सरकारी स्वामित्वका कम्पनीहरूबाट अध्ययन सम्पन्न भएका ठूला प्रकृतिका तथा विद्युत् खरीद सम्झौताको प्रक्रियामा हालसम्म सहभागी नभएका आयोजनाहरूबाट ४ हजार ४३१ मेगावाट र भारतीय कम्पनीहरूबाट प्रवर्द्धन भइरहेका आयोजनाहरूबाट ३ हजार ६७९ मेगावाट गरी कुल २५ हजार ९४४ मेगावाट क्षमताका आयोजनाहरूले निर्माण सम्पन्न गरी थप विद्युत उत्पादन थालनी गर्ने प्रक्षेपण गरिएको छ । यससँगै आर्थिक वर्ष २०९१/९२ सम्ममा हाल उत्पादनमा रहेका आयोजनाहरूसहित नेपालको कुल विद्युत उत्पादन २८ हजार ७१३ मेगावाट पुग्ने देखिन्छ,’ मार्गचित्रमा उल्लेख छ ।
सन् २०३५ सम्म कुल विद्युत् जडित क्षमता २८ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य लिइएको छ । हाल नेपालको कुल विद्युत् जडित क्षमता ३ हजार २४३ मेगावाट छ ।
आगामी ११ वर्षमा गरिने विद्युत् निर्यातदेखि कुल उत्पादनसम्मको प्रक्षेपण