असोज ९ काठमाडौं । १३ लाख ९७ लाख १ सय ४३ कित्ता शेयर जारी गर्ने भएको खानी खोला जलविद्युत कम्पनीले इक्रा रेटिङबाट ग्रेड फोर प्लस रेटिङ पाएको छ ।
स्थानिय बासिन्दा र सर्वसाधारण दुवैको लागि शेयर जारी गर्न लागेको कम्पनीको अवस्थाको आधारमा प्राथमिक शेयरको मुल्याङ्कन गरिएको हो । इक्राले प्रदान गरेको यो रेटिङले आधारभुत पक्ष औसतभन्दा कमजोर रहेको छ ।
नेपाल विद्युत् प्राधिकरणबाट ट्रान्समिसन लाइनको बिकास नहुनु र स्थानीय ग्रिड नै प्रयोग गर्नु पर्ने अवस्था रहेकोले ६ दशमलव ३६ मेगावाट क्षमताको यो आयोजनालाई लक्षित विद्युत् बिक्रीमा समस्या हुन सक्ने सम्भावना इक्रा नेपालले उल्लेख गरेको छ । त्यस्तै यस क्षेत्रमा संस्थापकहरुको अनुभव कम हुनु, विद्युत् खरीद गर्ने प्राधिकरणले यसअघि समयमै भुक्तानी दिने गरेको भएपनि संस्था घाटामा हुनुले भविष्यमा भुक्तानीमा समस्या हुन सक्ने, कर्जाको व्याजदरमा रहेको अस्थिरता लगायतले पनि रेटिङ प्रभावित भएको उल्लेख छ ।
७५ प्रतिशत काम सम्पन्न भइसकेको संस्थाको संस्थापकमा प्रभु बैङ्क जस्ता संस्थाको लगानी हुनुलाई सकारात्मक पक्षको रुपमा हेरिएको छ । बैङ्कबाट ३ करोड २६ लाख लगानी भएको र सरकारबाट प्रति मेगावाट ५ लाख रुपैयाँ अनुदान समेत मिल्ने भएकोले पनि निर्माणको क्रममा यो संस्थालाई व्याजको भार धेरै नपर्ने देखिएको पनि प्रतिवेदनमा उल्लेख छ । सन् २०१७÷१८ भित्र राष्ट्रिय प्रशारण लाइनमा जोडिन सकेमा सरकारबाट थप १० प्रतिशत रकम पाउने पनि बताइएको छ ।
यो आयोजना अन्तर्गत थोसे खोलाबाट ४ दशमलव ३६ मेगावाट र यसैको कास्केड आयोजना अन्तर्गत ललितपुर भट्टेडाँडाबाट २ मेगावाट विद्युत् उत्पादन गरिने भएको हो । वर्षयामको लागि प्रति युनिट ४ रुपैयाँ ८० पैसा र सुख्खा यामको लागि ८ रुपैयाँ ४ पैसाको दरमा प्राधिकरणसँग विद्युत् बिक्री सम्झौता भइसकेको छ ।
सम्झौता अनुसार पाँच वर्षको लागि ३ प्रतिशतको दरमा शुल्क बढ्ने भएको छ ।