साउन २६, काठमाडौं । १७ विकास बैंकले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उक्त वित्तीय विवरण अनुसार गत आवको चौथो त्रैमाससम्ममा १७ कम्पनीहरुले कुल रू. ६ अर्ब ९८ करोड नाफा कमाएका हुन । अघिल्लो आवमा यी कम्पनीहरुले रू. ५ अर्ब ४९ करोड नाफा कमाएका थिए । यस आधारमा अघिल्लो आवको तुलनामा गत आवमा यी कम्पनीहरुको नाफा २७ प्रतिशत वृद्धि भएको हो ।
नेपालमा १७ विकास बैंक सञ्चालनमा रहेका छन् ।जसमध्ये सालपा विकास बैंक नेप्सेमा सूचीकृत छैन भने बाँकी सबै कम्पनी नेप्सेमा सूचीकृत छन् । १७ कम्पनी मध्ये नारायणाी डेभलपमेण्ट बैंक र कर्णाली डेभलपमेण्ट बैंक नोक्सानीमा रहेका छन् भने बाँकी सबै नाफा छन् । नारायणी डेभलपमेण्ट बैंक अघिल्लो आवको चौथो त्रैमासमा पनि रू. १ करोड १९ लाख नोक्सानीमा रहेको गत आवमा बढेर रू.१ करोड ५७ लाख पुगेको हो । त्यसैगरी कर्णाली डेभलपमेण्ट बैंकले गत आवमा रू. ३ करोड ७९ लाख नोक्सानीमा रहेको छ । अघिल्लो आवमा भने बैंकले रू. ५ करोड ८ लाख नाफामा थियो ।
सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंक
१७ कम्पनीमध्ये सबैभन्दा बढी नाफा मुक्तिानाथ विकास बैंकको रहेको छ । यस बैंकले गत आवमा रू. १ अर्ब ३७ करोड नाफा कमाएको हो । अघिल्लो आवमा रू. १ अर्ब १५ करोड नाफा कमाएको थियो । यस आधारमा कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा १८ प्रतिशत वृद्धि भएको हो । त्यसैगरी दोस्रोमा गरिमा विकास बैंकले रू. १ अर्ब ५ करोड नाफा कमाएको छ । विकास बैंकहरूले आफ्नो व्यवसाय विस्तारलाई तीव्रता दिएसँगै नाफामा पनि उलेख्य वृद्धि हुँदै गएको छ । बैंकहरूको पुँजी वर्षैपिच्छे बढिरहेको छ । यसरी पुँजी बढिरहँदा अहिलेको नाफा स्वाभाविक रहेको जानकार बताउँछन् ।
प्रतिशतका आधारमा सबैभन्दा बढी साल्पा विकास बैंकको नाफा २४५ प्रतिशत वृद्धि
१७ कम्पनी मध्ये सबैभन्दा बढी सालपा विकास बैंकको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा २४५ प्रतिशत वृद्धि भएको हो । कम्पनीले अघिल्लो आवमा रू. ७९ लाख ४२ हजार नाफा कमाएकोमा गत आवमा बढेर रू. २ करोड ७४ लाख पुगेको हो । त्यसैगरी दोस्रोमा सिन्धु विकास बैंकको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ११३ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रू. ३ करोड १८ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ६ करोड ८१ लख पुगेको हो ।
स्रोत ः कम्पनीले प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरणबाट