काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८०/८१ को तुलनामा यो वर्षको पहिलो ८ महीनामा नेपालले प्राप्त गरेको विदेशी लगानी प्रतिबद्धता उल्लेख्य बढेको देखिएको छ ।
उद्योग विभागका अनुसार चालू आव २०८१/८२ को फागुनसम्ममा ४४ अर्ब ६६ करोड ३ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ५३ प्रतिशतले बढी हो । गत आवको फागुनसम्ममा २९ अर्ब १३ करोड ४५ लाख रुपैयाँ बराबर विदेशी लगानी प्रतिबद्धता आएको थियो । विदेशी लगानी प्रतिबद्धताको आकार बढे पनि वास्तविक लगानी भने निकै कम हुने गरेको छ ।
गत आवको पहिलो ८ महीनामा विभागले २५३ ओटा परियोजनाका लागि विदेशी लगानी स्वीकृति गरेको थियो । चालू आवमा रकम र परियोजना संख्या दुवै बढेको पाइएको छ । यो आवको ८ महीनामा ४२७ परियोजनाका लागि विदेशी लगानी प्रतिबद्धता आएको छ । सरकारले विदेशी लगानी आकर्षित गर्न तेस्रो लगानी सम्मेलन २०८१ का क्रममा र पछिल्लो समय अध्यादेशबाट लगानीसम्बन्धी विभिन्न कानून तथा नियममा सुधार गरेको छ ।
विदेशी लगानीलाई प्रोत्साहित गर्न र सहज बनाउन विभागले स्वचालित मार्गबाट पनि लगानी स्वीकृति गर्न थालेको छ । लगानीको सीमा (थ्रेसहोल्ड) हटाएर सरकारले सूचना तथा प्रविधिमा लगानी भित्त्याउने नीति लिएको छ भने ५० करोड रुपैयाँसम्मको लगानी विभागमा लगानीकर्ता भौतिक रूपमा उपस्थित नभई स्वीकृत गर्न थालिएको छ । यसले पनि लगानी प्रतिबद्धता वृद्धिमा योगदान गरेको ठानिएको छ ।
चालू आवको साउनदेखि फागुनसम्ममा स्वचालित मार्गबाट १९४ ओटा परियोजनाका लागि विभागले २ अर्ब ७५ करोड ६८ लाख रुपैयाँको लगानी स्वीकृत गरेको छ । साविकको प्रणालीबाट परियोजना र लगानी स्वीकृत गराउने प्रवृत्ति पनि यथावत् छ ।
स्वचालित मार्ग २०८१ वैशाखमा लागू भएयता फागुनसम्ममा यसबाट ३३३ परियोजनाका लागि १० अर्ब ८७ करोड ३१ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जानकारी दिएको छ । विभागका अनुसार यो आवको फागुनसम्मा विदेशी लगानीकर्ताले २३३ ओटा परियोजना विभागमै उपस्थित भएर स्वीकृत गराएका छन् । यी परियोजनाका लागि ४१ अर्ब ९० करोड ३४ लाख रुपैयाँ लगानी स्वीकृत भएको छ । विभागले साढे २ करोडदेखि ६ अर्ब रुपैयाँसम्मको लगानी स्वीकृत गर्छ । आईटी क्षेत्रका उद्योगमा भने लगानीको सीमा तोकिएको छैन ।
विभागले जारी गरेको विवरणअनुसार चालू आवको फागुनमा मात्रै स्वचालित र म्यानुअल माध्यम दुवैबाट गरी कुल ४० परियोजनाका लागि १७ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ लगानी स्वीकृत भएको छ । यस अवधिमा लगानी स्वीकृत गराउनेमा पनि साना स्तरका उद्योगको संख्या बढी छ । चालू आवको फागुनसम्ममा ४१५ ओटा साना, आठओटा मध्यम र चारओटा ठूलास्तरका उद्योगका लागि विभागले विदेशी लगानी स्वीकृत गरेको छ । विभागले स्वीकार गर्ने क्षेत्रगत विधाका उद्योगमध्ये परियोजना संख्या पर्यटनमा बढी भए पनि लगानी प्रतिबद्धता रकम भने सेवाक्षेत्रमा धेरै देखिएको छ ।