विराटनगर। आन्तरिक राजस्व कार्यालय विराटनगरले १०१ उद्योगी व्यवसायीलाई मूल्य अभिवृद्धिकर र आयकर बुझाउन सूचना गरेको छ । कार्यालय प्रमुखका रूपमा भूपालराज शाक्य आएपछि उद्योगी र व्यवसायीलाई कर बुझाउन सार्वजनिक सूचना जारी गरिएको हो ।
विराटनगरका प्रतिष्ठित औद्योगिक घरानाहरूको उद्योग तथा फर्मको नामसहित फागुन २० गते आन्तरिक राजस्व कार्यालयले सूचना जारी गरेको हो । उक्त सूचनापछि उद्योगी व्यवसायी कर कार्यालयको कामप्रति असन्तुष्ट बनेका छन् । उनीहरूले यसअघि मूल्य अभिवृद्धिकर र आयकर तिर्न पत्रमार्फत सूचना गर्ने गरे पनि यसपटक पत्रिकामा नै नाम दिएर आफूहरूको बेइज्जत गर्ने काम भएको एक उद्योगीले बताए ।
राज्यलाई आज मात्रै होइन, हामीले पुस्तौंदेखि कर तिर्दै आएका छौं । अहिले आर्थिक मन्दीका कारण समयमा नै कर तिर्न समस्या भएकाले कतिपय उद्योगी र व्यवसायीले कर तिर्न ढिला भएको तर तिर्ने योजनामा रहेको उनले बताए । आन्तरिक राजस्व कार्यालय विराटनगरका सूचना अधिकारी नवराज भट्टराईले मूल्य अभिवृद्धिकर र आयकर गरी १५ करोड रुपैयाँ असुल गर्नुपर्ने देखिएकाले पत्रिकामा सूचना गरिएको बताए । पत्रिकामा सूचना प्रकाशित गरेपछि धेरै उद्योगी व्यवसायीले कर चुक्ता गरेको उनले बताए ।