विराटनगर/वीरगञ्ज । भारतको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआईएस)ले गुणस्तर प्रमाणपत्र नदिँदा नेपालका प्रमुख भन्सार नाकाहरूबाट प्लाइउड भारत निकासी बन्द भएको छ । विराटनगर, काँकडभिट्टा र वीरगञ्ज नाकाबाट प्लाइउडको निकासी रोकिएको हो । भैरहवा, कृष्णनगर र नेपालगञ्जबाट हुने निकासी यसअघि नै रोकिइसकेको छ ।
मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख राजेन्द्रप्रसाद चुडालले उक्त भन्सारबाट जाँचपास भएर भारतीय भन्सार पानीटंकी पुगेका ३४ ओटा प्लाइ बोकेका ट्रकको जाँचपास नभएको व्यवसायीबाट सुनेको बताए । रोकिएका ट्रक जाँचपासका लागि आफूले पनि भारतीय समकक्षी र दूतावाससँग पहल गरिरहेको चुडालले बताए ।
वीरगञ्ज नाकाबाट पनि प्लाइ निर्यात अवरुद्ध भएको उद्यमीहरूले बताएका छन् । यो नाकाबाट वीरगञ्ज, चितवन र महोत्तरीका चारओटा उद्योगले निकासी गर्दै आएकोमा फेब्रुअरी २८ यता निकासी हुन नसकेको एक उद्यमीले आर्थिक अभियानलाई बताए ।
- भारतीय भन्सार पानीटंकी पुगेका ३४ ओटा प्लाइ बोकेका ट्रकको जाँचपास रोकियो
- वीरगञ्ज, चितवन र महोत्तरीका ४ उद्योगले वीरगञ्ज नाकाबाट निकासी गर्दै आएकोमा फेब्रुअरी २८ देखि ठप्प
- ७५ उद्योग संकटमा पर्ने नेपाल प्लाइउड उत्पादक संघको भनाइ
- आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म ४ अर्ब ८६ करोड ८६ लाख २६ हजार रुपैयाँको प्लाइ भारत निकासी
भारतले गत फेब्रुअरी २८ भित्र बीआईएस मापदण्ड पूरा गर्ने समय थपेको थियो । त्यसयता नेपाली उद्योगले आफ्नै उद्योगमा उक्त मापदण्डका लागि प्रयोगशाला र आवश्यक अन्य पूर्वाधार तयार गरे पनि भारतीय पक्ष अनुगमनमा नआएको ती उद्यमीले बताए । ‘भारतीय पक्षको सूचनाकै आधारमा हामीले गुणस्तर मापदण्डअनुसारको पूर्वाधार तयार गर्यौं । तर, उनीहरू अनुगमनमै आएनन्,’ ती उद्यमीले भने ।
भारतले प्लाइउड आयात रोकेपछि वार्षिक रूपमा साढे ४ अर्ब रुपैयाँभन्दा बढीको तयारी प्लाइउड निकासी गर्दै आएको मुलुकका ७५ उद्योग संकटमा परेको नेपाल प्लाइउड उत्पादक संघका केन्द्रीय अध्यक्ष होमप्रसाद घिमिरेले बताए । केही वर्षअघिसम्म भारतीय प्लाइउडको भरमा रहेको नेपाली बजार पछिल्लो समय आत्मनिर्भर बनेको थियो ।
भारतको उद्योग संवद्र्धन तथा आन्तरिक वाणिज्य विभागले २०२४ नोभेम्बरमा जारी गरेको सूचनामा प्लाइउडका लघु, साना तथा मझौला उद्योगले २०२५ फेब्रुअरी २८ सम्म बीआईएसबाट गुणस्तर प्रमाणपत्र लिनु नपर्ने बताएको थियो ।
विभागले २०२५ फेब्रुअरी २८ मा अर्को सूचना जारी गर्दै लघु, साना तथा मझौला उद्योगले आगामी मे २८ सम्म बीआईएस गुणस्तर प्रमाणपत्र लिनु नपर्ने बताएको थियो । उद्योगहरूले आफ्नो गुणस्तर बढाएर बीआईएसको मादडण्डमा पुर्याउन यो समय दिइएको हो । भारतले बीआईएसको गुणस्तर मापदण्डअनुसारको प्लाइउड मात्रै आयात गर्ने भनेपछि २०२५ मे २८ भित्र तोकिएको मापदण्ड पूरा गर्नुपर्ने नेपालका ४५ उद्योगले त्यो काम गरिसकेको घिमिरेले बताए ।
भारतबाट प्राविधिक आएर निरीक्षण गरी स्वीकृति दिनुपर्ने समय सीमाअगावै निकासी बन्द भएकोमा आफूहरू आश्चर्यमा परेको उनले बताए ।
भारतबाट प्राविधिक आएर ६ ओटा प्लाइउड उद्योगको निरीक्षण गरी विराटनगरका दुईओटा— सेन्चुरी र ग्रीन प्लाइलाई बीआईएस मापदण्ड प्रमाणित गरेर स्वीकृति दिएपछि अन्य उद्योगमा भारतीय पक्षबाट निरीक्षण नै नभएको घिमिरेले बताए । उद्योगीले ल्याबलगायत सबै मापदण्ड पूरा गरी भारतीय बीआईएसलाई कर समेत बुझाइसकेको अवस्थामा समय बाँकी हुँदै आयात बन्द गरिनु अन्यायपूर्ण भएको उनले बताए ।
भन्सार विभागको तथ्यांकले पछिल्ला वर्षहरूमा भारतलगायत मुलुकमा प्लाइउडको निकासी बढेको देखिन्छ । आर्थिक वर्ष (आव) २०७८/७९ मा प्लाइउड, प्लसडोर र ब्लकबोर्डको निकासी २७ करोड ६६ लाख ७२ हजार रुपैयाँ बराबर थियो ।
आव २०७९/८० मा ४ अर्ब ६८ करोड ९८ लाख ४४ हजार रुपैयाँ बराबरको प्लाइ निकासी भएको छ । त्यसैगरी आव २०८०/८१ को फागुनसम्ममाा ४ अर्ब ८६ करोड ८६ लाख २६ हजार रुपैयाँको प्लाइ भारत निकासी भएको तथ्यांक छ ।
२ हजार ५०० ले प्रत्यक्ष रोजगारी पाएको प्लाइउड उद्योगहरू कच्चा पदार्थ अभावमा कष्टपूर्वक सञ्चालन भइरहेका बेला भारत निकासी पनि रोकिँदा ठूलो संकट आइपरेको घिमिरेले बताए । भारतीय प्लाइ उद्योगहरूले नेपालको गुणस्तरिय भेनियरमा आँखा लगाएकाले उनीहरूले नै यहाँ भेनियर उद्योग लगाउने र भारतीय कम्पनीमा भेनियर सप्लाई गर्न खोजिरहेकाले नेपाली प्लाइउडलाई निरुत्साहित गर्न गुणस्तरमा प्रश्न उठाएको घिमिरेको दाबी छ । भेनियर प्लाइ उद्योगको कच्चा पदार्थ हो ।
नेपाल सरकारले तयारी प्लाइउडको निकासीमा नगद अनुदान दिने निर्णय गरेपछि उद्योगीले गत आवदेखि निर्यातलाई प्राथामिकता दिएका हुन् । तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुका पालामा प्लाइउड निर्यातमा ४ देखि ८ प्रतिशतसम्म नगद अनुदान दिने निर्णय सरकारले गरेको थियो । पहाडी क्षेत्रमा पाइने उत्तिस, चिलाउने, कदम, आँप, आस्ना, कर्मालगायत काठको भेनियरबाट प्लाइउड बनाइन्छ । प्लाइ झ्यालढोकाको पल्ला, पार्टेशन र फर्निचर निर्माणमा प्रयोग हुन्छ ।
भन्सार विभागको तथ्यांकअनुसार आव २०७८/७९ मा नेपालबाट भारतमात्र नभई चीनतर्फ पनि २४ लाख ४५ हजार बराबरको भेनियर निकासी भएको देखिन्छ । आव २०७९/८० मा ४ करोड १० लाख २८ हजार रुपैयाँ भेनियर भारत निकासी भएको देखिन्छ ।
त्यसैगरी चालू आवको फागुनसम्ममा २९ करोड ३१ लाख १२ हजार रुपैयाँको भेनियर भारत र चीन निकासी भएको तथ्यांक छ । प्लाइउडसँगै भेनियरको निकासी पनि बढेको देखिन्छ । भेनियर उद्योगले भारत र चीनमा बजार पाउनु सकारात्मक देखिए पनि यहाँका प्लाइ उद्योगलाई भने कच्चा पदार्थको समस्या उत्पन्न हुन्छ ।