काठमाडौं । आइतवारदेखि सञ्चालनमा आएको उपभोक्ता अदालतमा पहिलो दिनमै तीनओटा मुद्दा दर्ता भएकोमा अदालतले विपक्षीलाई उपस्थित हुन पत्राचार गर्ने तयारी गरेको छ ।
काठमाडौंको चाबहिलस्थित ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र सोही अस्पतालमा कार्यरत दुई जना चिकित्सकलगायत तीन विपक्षीविरुद्ध ५ करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित पहिलो मुद्दा दर्ता भएको छ । उपचारका क्रममा अस्पतालको लापरबाहीका कारण बूढानीलकण्ठ नगरपालिका वडा नं ९ का ९८ वर्षीय हरिप्रसाद गौतमको मृत्यु भएपछि उनका ५४ वर्षीय छोरा अधिवक्ता वसन्त गौतमले उक्त अस्पताल र त्यहाँ कार्यरत डा. सरोजकुमार गोहिवार र डा. सायुज्यराज घिमिरेविरुद्ध मुद्दा दायर गरेको अदालतका स्रेस्तेदार शोभाकर खरेलले जानकारी दिए ।
त्यसैगरी ललितपुरको गोदावरी नगरपालिका, वडा नम्बर १३ घर भएकी ५३ वर्षीया सावित्री थापाले पनि काठमाडौंको विशालबजारस्थित स्वस्तिक सिल्भर प्यालेस प्रालि र त्यसका सञ्चालक सुनिता श्रेष्ठविरुद्ध मुद्दा दायर गरेकी छन् ।
उनले फागुन २५ मा ४ हजार ६०० रुपैयाँमा उक्त पसलबाट एउटा चाँदीको मूर्ति किनेकी थिइन् । उनले यसअघि आर्थिक अभियानसँग गरेको कुराकानीअनुसार मूर्ति फिर्ता गर्नुपरेमा ३ दिनभित्र फिर्ता गर्न सकिने गरी सिल्भर प्यालेसले थापालाई विक्री गरेको थियो । ३ दिनभित्र थापा उक्त मूर्ति फिर्ता गर्न गइन् । तर, पसल सञ्चालक श्रेष्ठले मूर्ति फिर्ताबापत थापालाई २ हजार २५० रुपैयाँ मात्रै फिर्ता दिन तयार भएपछि क्षतिपूर्तिको माग दाबीसहित थापाले उपभोक्ता अदालतमा मुद्दा दायर गरेकी हुन् ।
३५ हजार ७०० रुपैयाँ क्षतिपूर्तिको माग दाबीसहित थापाले आइतवार अदालतमा मुद्दा दायर गरेकी छन् । थापाले दायर गरेको मुद्दा उपभोक्ता अदातलमा दायर भएको दोस्रो मुद्दा हो । त्यसैगरी तेस्रो मुद्दाका रूपमा काठमाडौंकै एक मोटर कम्पनीबाट गाडी किन्दा उपभोक्ता ठगिएको सम्बन्धी छ । यो मुद्दामा ७७ लाख रुपैयाँ क्षतिपूर्ति मागदाबी गरिएको छ ।
खरेलका अनुसार तीनओटै मुद्दाका प्रतिवादीलाई अदालतमा उपस्थित हुन ७ दिनको म्याद दिइने भएको छ । अदातलका तामेलदारले अदालतमा परेको मुद्दाको फिरादपत्र प्रतिवादीलाई बुझाएर ७ दिनको म्याद दिएर उपस्थित हुन बोलाइने तयारी गरिएको बताए ।
उनका अनुसार उक्त ७ दिनभित्र प्रतिवादी अदालतमा हाजिर हुन नआए उपस्थितिका लागि पुन: १५ दिनको समय दिइनेछ । ‘उक्त समयमा पनि उपस्थित नभएमा एकतर्फी रूपमा वादीले मुद्दा जित्ने हुन्छ,’ उनले भने । प्रतिवादी अदालतमा उपस्थित भएमा त्यसपछि सुनुवाइको काम अघि बढ्छ । प्रतिवादी दोषी देखिएको खण्डमा कानूनअनुसार क्षतिपूर्ति भराउनेलगायत कारबाही गरिने खरेलले बताए । खरेलका अनुसार हाल अदातलमा विपक्षीलाई उपस्थितिका लागि पत्राचार गर्ने काम भने प्रशासनिक तहमा नै हुन्छ, न्यायाधीशको आदेश चाहिँदैन । ‘विपक्षी उपस्थित भएपछि दुई पक्षलाई मेलमिलापको अवसर दिइन्छ । तर, मेलमिलाप हुन नसकेमा मात्र वकिलहरूमार्फत बहस र सुनुवाइ हुनेछ,’ उनले भने ।
भर्खरै सञ्चालनमा आएका कारण आइतवार र सोमवार कार्यालयको व्यवस्थापनमै त्यहाँका कर्मचारीको समय गएको छ । ‘सोमवार आदलतमा थप कुनै पनि मुद्दा दायर भएका छैनन्,’ उनले आर्थिक अभियानसँग भने । कार्यालयमा कम्प्युटर जोड्नेदेखि आवश्यक अन्य धेरै कुराको व्यवस्थापन लगभग सकिएको बताउँदै उनले अब काम गर्न केही सहज हुने जानकारी दिए ।