विश्व शान्ति र ब्रिटिश साम्राज्यको पक्षमा युद्ध लड्दा मारिएका तथा बेपत्ता पारिएका करीब ६० हजार गोर्खालीको सम्झनामा एकै थलोमा उनीहरूको पितृकाजकिरिया मङ्गलवारदेखि शुरू भएको छ । स्याङ्जाको फेदीखोला साल्मेडाँडामा मङ्सिर ७ गतेसम्म उनीहरूको काजकिरिया तथा श्रद्धाञ्जलि हुने गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो) ले जानकारी दिएको छ । ‘ब्रिटिशको पक्षमा युद्धमा होमिएका गोर्खा पितृहरूको अझै पनि उनीहरूको संस्कारअनुसार काजकिरिया नभएकाले दिवंगत आत्माको चिरशान्ति तथा पितृउद्धारका लागि यस्तो सामूहिक कार्यक्रमको आयोजना गरिएको हो,’ गेसोका अध्यक्ष पदमबहादुर गुरुङले भने ।
१८ जातिका धार्मिक गुरुहरू र पीडित परिवार तथा समुदायका प्रतिनिधि काजकिरियामा सहभागी छन् । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गोर्खा मेजर रामबहादुर गुरुङ, दिलबहादुर गुरुङ, स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल, पूर्वसभासद् रवीन्द्र अधिकारीलगायतले पितृ गोर्खाहरूमा श्रद्धाञ्जलि अर्पण गरेका थिए । गेसोले उनीहरूको सम्झनामा ‘गोर्खा स्मारक स्तम्भ’ समेत बनाउने भएको छ । करीब रू ३ अर्बको लगानीमा ५ वर्षमा निर्माण गरिने गोर्खा स्मारकको पहिलो चरणको समाधिको भूतपूर्व सैनिकहरूबाटै करीब १० करोड चन्दा सङ्कलन गरी १ वर्षमा सम्पन्न गर्ने गेसोका अध्यक्ष गुरुङले जानकारी दिए ।
वर्ष ८, अंक ६३, बुधवार ६ मङ्सिर, २०६९