काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले ३०औं वार्षिकोत्सवका अवसरमा बिहीवार विभिन्न कार्यक्रम गरेको छ । सो अवसरमा बैंकको प्रधान कार्यालय लाजिम्पाटमा रक्तदान तथा बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीलाई दीर्घसेवा पदक तथा कदर पत्र वितरण गरिएको थियो ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम घोषणा समेत गरेको छ । बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण, संस्कृति प्रवर्द्धन लगायत क्षेत्रमा सहयोग तथा परोपकारी कार्य गर्दै आएको छ । बैंकले इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई भवन निर्माण कार्यका लागि बैंकको तर्फबाट रू. १ करोडको आर्थिक सहयोग गरेको छ ।
कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अस्पतालका अध्यक्ष प्रा.डा. भगवान कोइरालालाई उक्त रकम बराबरको चेक संयुक्त रूपमा हस्तान्तरण गरेका थिए । यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने बैंकको विश्वास छ । बैंकले नेपाल रेडक्रस सोसाइटी काठमाडौं बागबजारकोे सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा बैंकका ४८ जना कर्मचारीले रक्तदान गरेका छन् । यो बैंक पन्जाब नेशनल बैंक भारतसँगको संयुक्त लगानीमा स्थापित बैंक हो ।