काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले उकास (युनाइटेड किङडम एक्रेडिटेशन सर्भिस)बाट मान्यताप्राप्त एम्टिभो लिमिटेड यूकेबाट ‘आईएसओ/आईईसी २७००१:२०२२’ को प्रमाणपत्र प्राप्त गरेको छ । यो मानकले सूचना सुरक्षण व्यवस्थापन प्रणालीमा कम्पनीले आफ्नो हरेक सूचनाको सुरक्षा प्रणालीको अन्तरराष्ट्रिय मापदण्ड बमोजिम उचित व्यवस्थापन गरेको पुष्टि गरेको कम्पनीको दाबी छ । यसले कम्पनीले अन्तरराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासको पालना गरेको समेत कम्पनीको ठहर छ ।
कम्पनीले जोखिममा आधारित जीवन बीमा व्यवसाय प्रणाली तथा संस्थागत सुशासनसम्बन्धी नियामकीय व्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न यस किसिमको अन्तरराष्ट्रिय मापदण्डको आधारमा आईएसओ/आईईसी २७००१:२०२२ सम्परीक्षण गरेको बताएको छ । कम्पनी नेपालको बीमा व्यवसायमा यसरी अन्तरराष्ट्रिय मापदण्ड बमोजिम सम्परीक्षण गरी आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणपत्र प्राप्त गर्ने पहिलो र एकमात्र जीवन बीमा कम्पनी भएको बताइएको छ । आईएसओ/आईईसी २७००१:२०२२ को मान्यताप्राप्त गरेसँगै समय समयमा हुने परीक्षणबाट कम्पनीको सूचना सुरक्षण प्रणालीमा नियमित अनुगमन हुनेछ । निरन्तर रूपमा यसको पालना र अभ्यासबाट कम्पनीको सूचना सुरक्षा प्रणाली निरन्तर मजबूत हुँदै जाने कम्पनीको विश्वास छ ।