काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकहरूमध्ये ७ बैंकले गत आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक र सिटिजन्स बैंक इन्टरनेशनले बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन ।
यी मध्ये एभरेष्ट बैंक र सिटिजन्स बैंकले साधारण सभाबाट लाभांश पारित गरिसकेका छन् । एभरेष्ट बैंकले नगद लाभांश सम्बन्धीत शेयरधनीको बैंक खातामा पठाइसकेको छ । ७ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकले कुल २५ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले ६ दशमलव ५ प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश कर सहित गरेर कुल २५ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । अघिल्लो आवको मुनाफाबाट बैंकले गत वर्ष शेयरधनीलाई १९ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो । यस आधारमा यस बैंकको लाभांश दर गत वर्ष भन्दा यस वर्ष बढेको छ भने प्राइम कमर्सियल बैंकले गत वर्ष कुनैपनि लाभांश दिएको थिएन । बाँकी सबै बैंकको लाभांश दर घटेको छ ।
त्यस्तै दोस्रोमा एभरेष्ट बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर ५ दशमलव ५३ प्रतिशत नगद लाभांश सहित कुल १५ दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । अघिल्लो आवको मुनाफाबाट बैंकले गत वर्ष शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र १० दशमलव ५३ प्रतिशत नगद लाभांश गरी कुल २० दशमलव ५३ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले साधारण सभाबाट लाभांश पारित गरिसकेको छ ।
नबिल बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । हालसम्ममा यस बैंकले साधारण सभाको सूचना जारी गरेको छैन । अघिल्लो आवको मुनाफबाट बैंकले गत वर्ष शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
त्यस्तै ग्लोबल आइएमई बैंकले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । यस बैंकले पनि हालसम्ममा साधारण सभाको सूचना जारी गरेको छैन । अघिल्लो आवको मुनाफाबाट बैंकले गत वर्ष १ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश गरेर कुल ९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
सानिमा बैंकले ५ दशलमव २६३२ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने घोषणा गरेको छ । यो प्रस्ताव पारितका लागि बैंकले मङ्सिर ४ गते २०औं वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांक्वेट भाटभटेनीमा हुनेछ । साधारण सभा प्रयोजनको लागि बैंकले कात्तिक २५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा कात्तिक २१ गते अर्थात भोलि सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । बैंकले अघिल्लो आवको मुनाफाबाट गत वर्ष ९ प्रतिशत बोनस शेयर र ५ दशमलव ७ प्रतिशत नगद लाभांश गरेर कुल १४ दशमलव ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्राइम कमर्सियल बैंकले ५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने घोषणा गरेको छ । हालसम्ममा बैंकले साधारण सभाको मिति तय गरेको छैन । बैंकले गत वर्ष कुनै पनि लाभांश वितरण गरेको थिएन ।
सिटिजन्स बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमल २१ प्रतिशत नगद लाभांश गरी कुल ४ दशमलव २१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । यो प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ । यस बैंकले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई ५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
कम्पनीको नाम | आव २०८० /८१ को लाभांश % | आव २०७९ /८० को लाभांश % | ||||
बोनस शेयर | नगद लाभांश | कुल लाभांश | बोनस शेयर | नगद लाभांश | कुल लाभांश | |
स्ट्याण्डर्ड चार्टर्ड बैंक | 6.5 | 19 | 25.5 | - | 19 | 19 |
एभरेष्ट बैंक | 10 | 5.53 | 15.53 | 10 | 10.53 | 20.53 |
नबिल बैंक | - | 10 | 10 | - | 11 | 11 |
ग्लोबल आइएमई बैंक | 5.5 | 5.5 | 1 | 8 | 9 | |
सानिमा बैंक | - | 5.2632 | 5.2632 | 9 | 5.7 | 14.7 |
प्राइम कमर्सियल बैंक | - | 5 | 5 | - | - | - |
सिटिजन्स बैंक इन्टरनेशनल | 4 | 0.21 | 4.21 | 5.79 | 5.79 | |
स्रोत : सम्बन्धित बैंकका प्रकाशित सूचनाबाट |