काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम कम्पनीलाई गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको १७.९३ प्रतिशत मात्र बोनस शेयर र नगद लाभांश वितरण गर्नको लागि स्वीकृति प्रदान गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर, कर प्रयोजनसहित २३.६८४२ प्रतिशत नगद लाभांश गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतिको लागि राष्ट्र बैंक पठाएको थियो । जसमध्ये १७.९३ प्रतिशत मात्र लाभांश वितरण गर्न स्वीकृति पाएको हो ।
कम्पनीले राष्ट्र बैंकको उक्त निर्णय २०७९ फागुन १० गते जारी संशोधित निर्देशनको व्यवस्थासँग स्पष्ट बाझिएको, इजाजतप्राप्त एउटै प्रकृतिका संस्थाबीच एउटै आर्थिक वर्षको लाभांश स्वीकृति दिँदा समानता नभएको र राष्ट्र बैंकबाट स्वीकृत लाभांशको जानकारीले शेयरधनीले पाउने प्रतिफलको अधिकारसमेत हनन् हुन पुगेको बताएको छ ।
साथै, संस्थागत वित्तीय अवस्थामा समेत प्रभाव पर्ने देखिएको, लाभांश वितरण सम्बन्धमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा भएको व्यवस्थाको समेत प्रतिकूल भएको र लाभांश प्रस्ताव तथा संशोधन संस्थाबाट नै निर्णय भई राष्ट्र बैंकबाट स्वीकृत दिनुपर्ने कानुनी मनसायलाई समेत नजरअन्दाज गरिएको देखिएको कम्पनीको भनाइ छ ।
कम्पनीले भने राष्ट्र बैंकको उक्त निर्णय कार्यान्वयन गर्न नसकिने जानकारी गराएको छ । संस्थाको लाभांश प्रस्ताव, राष्ट्र बैंकको विद्यमान निर्णय तथा स्वीकृति, प्रचलित ऐन, कानून, निर्देशन र राष्ट्र बैंकका विगतका व्याख्या र संस्थागत अभ्याससमेतको तथ्यपूर्ण कानूनी व्याख्या गरी निर्णयमा पुग्नुपर्ने निर्णय कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गरेको छ ।