काठमाडौं। नेपालमा आगलागीको जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षा प्रविधिको प्रवर्द्धनको उद्देश्यले अन्तरराष्ट्रिय सम्मेलन तथा प्रदर्शनी आयोजना हुने भएको छ । एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (आप्सा) नेपालले यही चैत २४ र २५ गते काठमाडौंमा ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५’ आयोजनाको तयारी गरेको छ ।
आप्सा नेपालका अध्यक्ष सुनिल कुमारका अनुसार सम्मेलनमा गृह मन्त्रालय, शहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, ७५३ ओटै स्थानीय तहका प्रतिनिधि, उद्योग व्यवसाय क्षेत्रका अगुवा, आगलागी तथा विद्युतीय सुरक्षासम्बन्धी विज्ञको सहभागिता रहनेछ । आगलागी न्यूनीकरण र विद्युतीय सुरक्षाका क्षेत्रमा नवीनतम प्रविधि, प्रवृत्ति तथा उत्कृष्ट अभ्यासबारे जानकारी दिने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको संस्थाले बताएको छ ।
सम्मेलनमा विभिन्न अन्तरराष्ट्रिय विज्ञ तथा प्रमुख वक्ताहरू सहभागी हुने बताइएको छ । आयोजकका अनुसार नेपालसहित चीन, हङकङ, इन्डोनेसिया, भारत, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्यान्ड र भियतनाम गरी १४ राष्ट्रका विज्ञहरू यस सम्मेलनमा आफ्नो प्रस्तुति दिनेछन् । छलफल सत्रहरू, कार्यपत्र प्रस्तुति तथा प्रविधि प्रदर्शनीमार्फत अग्नि सुरक्षा तथा विद्युतीय सुरक्षा प्रविधिहरूमा भइरहेको नवीनतम प्रगतिबारे जानकारी दिने लक्ष्य राखिएको छ ।
आयोजकका अनुसार नेपालमा हरेक वर्ष आगलागीका घटनाले ठूलो जनधनको क्षति पुर्याउँदै आएको छ । सरकारी तथा स्थानीय तहले विभिन्न प्रयास गरिरहेका भए पनि समुदाय स्तरमा चेतना अभिवृद्धि र नवीन समाधानको खोजी अझै आवश्यक रहेको निष्कर्ष निकाल्दै यो सम्मेलन आयोजना गरिएको हो ।
आप्सा नेपालका कार्यक्रम निर्देशक सुरेश श्रेष्ठ, गाउँपालिका राष्ट्रिय महासंघ नेपालका कार्यकारी निर्देशक राजेन्द्र कुमार प्याकुरेललगायतले यो सम्मेलन नेपालमा आगलागी न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी अध्ययन, अनुसन्धान, नीति निर्माण र प्रविधि हस्तान्तरणमा मार्गनिर्देशक हुने विश्वास व्यक्त गरे । सम्मेलनले अग्नि सुरक्षाका चुनौतीहरू पहिचान, तिनको समाधानबारे छलफल तथा नवीनतम प्रविधिहरू अवलम्बन गर्न र नीति निर्माणकर्ताहरू एवं व्यवसायीलाई एउटै मञ्चमा ल्याउने अवसर प्रदान गर्ने बताइएको छ । आयोजकले यसलाई नेपालमा सुरक्षासम्बन्धी रणनीति निर्माणका लागि एक महत्त्वपूर्ण कोसेढुंगाका रूपमा हेरिएको बताएका छन् ।
आगलागी न्यूनीकरण र विद्युतीय सुरक्षाका क्षेत्रमा नवीनतम प्रविधि, प्रवृत्ति तथा उत्कृष्ट अभ्यासबारे जानकारी दिने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको संस्थाले बताएको छ ।