काठमाडौं। पवनकुमार खड्का आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि सिफारिस भएका छन् । खड्काले केही दिनअघि सूर्यज्योति लाइफबाट राजीनामा दिएका थिए । गत भदौ ९ गते कवि फुयाँलले सीईओ पदबाट राजीनामा दिएपछि कम्पनी नेतृत्वविहीन छ ।
खड्काले तत्कालीन सूर्य लाइफको सीईओ भएर काम गरिसकेका छन् । साविक सूर्य लाइफ र साविक ज्योति लाइफ मर्जपछि उनी डीसीईओ भएर काम गरिरहेका थिए ।
बीमा क्षेत्रको १० वर्षभन्दा बढी अनुभव रहेका उनले नेपाल लाइफबाट बीमा क्षेत्रको करिअर शुरू गरेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका खड्का चार्टर्ड एकाउन्टेन्ट (सीए) समेत हुन् । उनीसँग बीमा, सिमेन्ट उद्योग, जलविद्युत्, अडिट क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।