काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २३८ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ११ लाख ८५ हजार नाफा कमाएकोमा चालू आवमा बढेर रू. ४० लाख १७ हजार पुगेको छ । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीको कुल आम्दानी रू. ३ करोड ७४ लाख रहेकोमा चालू आवमा बढेर रू. १४ करोड २६ लाख पुगेको छ ।
त्यस्तै कम्पनीको खुद बीमा शुल्क पनि गत आवको तुलनामा चालू आवमा उल्लेख्य वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. १ करोड ४१ लाख खुद बीमा शुल्क आर्जन गरेकोमा चालू आवमा बढेर रू. ११ करोड ७५ लाख पुगेको छ ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ४५ पैसा रहेकोमा चालू आवमा बढेर १ रुपैयाँ ५३ पैसा पुगेको छ । त्यस्तै दोस्रो त्रैमाससम्ममा कम्पनीको जीवन बीमा कोषमा रू. ३ करोड ६३ लाख रहेको छ । गत आवमा भने जीवन बीमा कोषमा रू. २२ लाख ९२ हजार थियो ।
चुक्तापूँजी रू. ५२ करोड ५० लाख रहेको कम्पनीले महाविपत्ति कोषमा रू. १३ लाख ९६ हजार, रिटेन्ड अर्निङमा रू. १ करोड १० लाख र अन्य इक्वीटीमा रू. ७२ लाख ६७ हजार सञ्चिति गरेको छ ।
यो कम्पनी सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने तयारीमा छ ।
कम्पनीले वैदेशिक राजगारीमा रहेका नेपालीहरूको लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन आज हो । वैदेशिक रोजागारीमा रहेको नेपालीको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट पश्चात सर्वसाधारणमा निष्कासन गर्नेछ ।