काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बजेट बनाउँदा ‘आईटी इन्फास्ट्रक्चर’ निर्माणमा जोड दिनुपर्ने बताएका छन् ।
त्रिवर्षीय (आव २०८२⁄८३–२०८४⁄०५) बजेट सीमा तथा स्रोतमाथि केन्द्रित रही मन्त्रालय अन्तर्गतका विभाग र निकायमाझ बजेट योजना छलफल कार्यक्रममा उनले बृहत्तर उद्देश्य बोकेका योजना ल्याउन विभागीय प्रमुखहरूलाई ध्यानर्कषण गराएका हुन् ।
सूचना प्रविधिको विकासले राजस्व वृद्धिमा निकै ठूलो टेवा पुर्याएको उल्लेख गर्दै मन्त्री गुरुङले आईटी क्षेत्रको पूर्वाधार निर्माण नहुँदा यस क्षेत्रको विकास सम्भव नहुने धारणा राखे । ‘आईटी इन्फास्ट्रक्चर नभई सोचे जस्तो उत्पादन प्राप्त गर्न कठिन छ,’ उनले भने, ‘आईटी पार्क बनाउने जस्ता वृहत्तर योजना ल्याउनुहोस् ।’
उनले नेपाललाई प्रविधिमैत्री र ई–गर्भनेन्स प्रणालीमा लैजान पनि सरकारको लगानी आवश्यक रहेको बताए । डेटा सेन्टरहरू निर्माण गर्नु आजको अर्को अति आवश्यक विषय रहेको उल्लेख गर्दै मन्त्री गुरुङले एकीकृत कार्यालय प्रणाली लागू गराउनु, नागरिक एप प्रयोग गर्न अभियान चलाउन जरुरी रहेको उनको जोड छ । यसका लागि आवश्यक बजेट विनियोजन हुनु पर्ने मन्त्री गुरुङले बताए ।
उनले सम्बन्धित विभागीय प्रमुखलाई निर्देशन दिँदै भने, ‘डेटा सेन्टरहरू हुनुपर्ने अहिलेको आवश्यकता हो, त्यसको योजना बनाउनुहोस् ।’
भएको पूँजीगत खर्चै गर्न नसक्ने समस्याले मन्त्रालयसमेत ग्रस्त रहेको स्वीकार गर्दै मन्त्री गुरुङले यसका लागि कर्मचारीले इमानदार र निडर भएर काम गर्न आग्रह गरे ।
कर्मचारीको परम्परागत कार्यशैली, नीतिगत व्यवस्थामा समस्या लगायत कारणले पूँजीगत खर्च हुन नसकेको उनको बुझाइ छ । उनले भने, ‘पूँजीगत खर्च उत्साहजनक बनाउनतिर लागौं ।’
मन्त्री गुरुङले योजना बनाउँदा तालिम जस्ता स–साना उपलब्धि नहुने खालका कार्यक्रमहरू कटौती गरेर बृहत्तर दीर्घकालीन प्रभाव पार्ने कार्य योजनामा बजेट निर्माण गर्न आग्रह गरे ।