काठमाडौं । राजतन्त्रको पक्षमा प्रदर्शन गरिरहेका आन्दोलनकारीहरू आगजनी र तोडफोड उत्रिएपछि बानेश्वर-तीनकुने क्षेत्रमा कर्फ्यु लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शान्तिनगरदेखि जडीबुटी क्षेत्रसम्ममा अपराह्न ४:२५ बजेदेखि १० बजेसम्म कर्फ्यु लगाउने आदेश जारी गरेको हो ।
‘मिति २०८१/१२/१५ गते अपराह्न ४२५ बजेदेखि मिति २०८१/१२/१५ गते रातिको १० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिकाभित्र देहायका चार किल्ला तोकी सो सीमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ,’ जिल्ला प्रशासन कार्यालय, काठमाडौंको आदेशमा उल्लेख छ ।
राजतन्त्र पक्षधरहरूको प्रदर्शन गरेको स्थान तीनकुने क्षेत्रमा सुरक्षाकर्मी र दमकलमाथि नै आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाउने निर्णय गरिएको हो ।
राजतन्त्रको पक्षमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले घर, पसल, सञ्चार संस्थासँगै सरकारी सम्पत्तिमा आगजनी र तोडफोड गरेका छन् ।
यी क्षेत्रमा लगाइयो कर्फ्यु
• गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर
• कोटेश्वरदेखि जडीबुटी पुल
• कोटेश्वरबाट बालकुमारी पुलसम्म
• बानेश्वर चोकदेखी शंखमुल पुलसम्म
• गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म
हेर्नुस् सूचना