काठमाडौं । महिला उद्यमी महासंघ नेपालको आयोजनामा ‘आठौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला’ शुरू भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा आयोजित मेलाको बिहीवार उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले औपनिवेशिक र सामन्तवादी स्थितिले सिंगै नेपाली समाज पछाडि परेको र त्यसमा पनि महिलालाई झन् पछाडि पारिएको बताए । यो स्थितिमा संघर्ष र बलिदानको परिणामबाट समाज परिवर्तन र विकासको यात्रामा अघि बढेको उनले उल्लेख गरे । साथै महिला उद्यमशीलता, सशक्तीकरण र आत्मनिर्भरता विकासका लागि उद्यमी आमाहरूले छोरीहरूलाई पनि उद्यमी बनाउनुपर्ने सुझाउनुभयो ।
‘स्वदेशी खाऔं, स्वदेशी लगाऔं र स्वदेशी उद्यमशीलतालाई प्रवर्द्धन गरौं’ नारासहित महासंघले अभियान सञ्चालन गर्दै आएको छ । साथै ८ वर्षदेखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्दै आएको छ ।
महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको प्रवर्द्धन तथा बजारीकरणको उद्देश्यले आयोजित मेला चैत १८ गतेसम्म सञ्चालन हुनेछ । मेलामा हस्तकला, कपडा, कृषि उत्पादन, गृहसज्जा सामग्री, परिकार तथा विभिन्न सेवा विक्री तथा प्रदर्शनीमा राखिएको छ ।
मेलामा १४४ विक्री स्टल राखिएका छन्, जसमध्ये दुई प्याभिलियन, ५८ ओटा महिला उद्यमी जिल्ला संघबाट सहभागी महिला उद्यमी र बाँकी ८२ ओटा स्टल स्वदेशी तथा विदेशी महिला उद्यमीले उत्पादन गरेका वस्तु प्रदर्शनीका लागि छन् ।
मेला उद्घाटन कार्यक्रममा महासंघका अध्यक्ष शोभा ज्ञवालीले देशका ७७ जिल्लामध्ये ७२ जिल्लामा महासंघ मातहतको जिल्ला संघ गठन भइसकेको जानकारी दिइन् । महासंघले महिला उद्यमीको सवाल र सरोकार सुनिश्चितताको पक्षमा वकालत गर्दै आएको उनले बताइन् ।
‘मेलाले नेपाली महिला उद्यमीहरूका उत्पादनहरूको प्रवर्द्धन र बजारीकरणमा सहयोग पुर्याउनेछ,’ अध्यक्ष ज्ञवालीले भनिन्, ‘महिला उद्यमशीलताको विकासबाट आन्तरिक उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धनमा सहयोगमार्फत नेपालको अर्थतन्त्र सुधारमा समेत टेवा पुग्ने अपेक्षा छ ।’
मेलाबाट महिला उद्यमी जिल्ला संघहरूमा आबद्ध साढे ५ हजारभन्दा बढी महिला उद्यमीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभ लिने महासंघको अपेक्षा छ । मेला ६० हजार जनाले अवलोकन गर्ने र २ करोड २५ लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको अध्यक्ष ज्ञवालीले बताइन् । व्यापार मेलामा विभिन्न ६ प्रकारका स्टल राखिएको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार मेलामा वातावरणमैत्री उत्पादन, हस्तकला, कृषि, व्यापार तथा सेवा, खाद्य र अन्तरराष्ट्रिय स्तरबाट सहभागिता रहेको छ । मेलालाई नेपाल सरकार र विभिन्न गैरसरकारी संस्थाले सहयोग गरेका छन् ।