काठमाडौं । विभिन्न माग राखी हुने आन्दोलन/प्रदर्शन र यसबाट सर्वसाधारण तथा उद्यमी व्यवसायीहरूको पेशा/व्यवसाय गर्ने नैसर्गिक अधिकार हनन भएको प्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले जनाएको छ । साथै निजी र सार्वजनिक सम्पत्तिमाथि गरिएको आक्रमण, लुटपाट, आगजनी जस्ता हिंसक गतिविधिहरू गर्नेलाई कार्वाही गर्न पनि संघले माग गरेको छ।
चैत्र १५ मा भएको आन्दोलन/प्रदर्शनका क्रममा मानवीय क्षतिसहित धन र सम्पत्तिको हानि निकै दुःखद भएको उसको भनाइ छ । महासंघले आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र व्यापारिक गतिविधिहरूमा गरिएको आक्रमण, आगजनी, लुटपाटजस्ता हिंसक घटनाबाट भएको ठूलो क्षतिको भर्त्सना गर्दै क्षतिपूर्ति गर्नुपर्ने माग महासंघले राखेको छ ।
'संविधानले प्रदान गरेको अधिकारको सीमा भित्र रहेर माग राख्नु जायज हो, तर हिंसात्मक आन्दोलन, प्रदर्शन, लुटपाट, आगजनी, जनधनको हानि र व्यक्तिगत सम्पत्तिमाथि आक्रमण निन्दनीय छ । नेपाल उद्योग वाणिज्य महासंघले कुनै पनि रूपमा हुने यस्ता घटनाहरूको घोर निन्दा गर्दै सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यसको पुनरावृत्ति रोक्न सरकार, प्रहरी र सम्बन्धित निकायमा तत्काल कदम चाल्न आग्रह गर्दछ,' महासंघले भनेको छ।