स्याङ्जा। जिल्लाको पुतलीबजार नगरपालिका–३ बस्ने २४ वर्षीया अनुशा मियाँको हातमा केही सीप थिएन । उनलाई हातमा कुनै पनि सीप नभएपछि घरधन्दा मात्रै गरेर बस्नुपर्ने बाध्यता थियो । अब भने उनको सोचमा परिवर्तन आएको छ । परिवर्तन आउनुको कारण ‘लाछाको डोरी’सम्बन्धी तालिममा सहभागी भएर सीप हासिल गर्नु हो ।
सीप नहुँदासम्म अलमलमा परे पनि हातमा सीप भएपछि उत्साहित भएर अगाडि बढेको महसुस उनले गरेकी छन् । पुतलीबजारकै जमिना बानु पनि लाछाको डोरी बनाउने र त्यसलाई बजारसम्म पुर्याएर विक्री गर्ने तयारीमा छन् । "परिवारको लालनपालनका लागि पनि केही सीप सिक्न पाएहुन्थ्यो भन्ने लागेको थियो आज साकार भयो,' उनले भनिन् ।
दुई प्रतिनिधि पात्र जस्तै तालिममा सहभागी अन्य मुस्लिम महीला पनि लाछाको डोरी बुन्दै व्यावसायिक ढङ्गबाट अगाडि बढ्ने तयारी गरिरहनुभएको छ । सामाजिक विकास कार्यालयको आयोजनामा जिल्लाका मुस्लिम समुदायका महीलाका लागि मुसलमान समुदायको आर्थिक सशक्तिकरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको सामाजिक विकास कार्यालयका प्रमुख जीवन पौडेलले बताए ।
'मुस्लिम समुदायको परम्परागत सीपका रुपमा रहेको पेसालाई आधुनिक ढङ्गबाट सञ्चालन गरी व्यवसाय वृद्धि गर्ने कार्यालयको लक्ष्य हो,' उनले भने, 'सीमान्तकृत नागरिकलाई सचेतनासँगै आर्थिक सशक्तिकरणका लागि सामाजिक विकास कार्यालयले सहयोग गर्दै आइरहेको छ ।” लाछाको डोरी बनाउन सिकेका मुस्लिम समुदायका महीलाले आफ्नो समुदायमा प्रयोगमा आउने सामग्री उत्पादन र बजारीकरण गरी आर्थिक लाभ लिनसक्ने उनले बताए ।
तालिममा २० जना मुस्लिम समुदायका महीलाले १० दिनसम्म सीप सिकेका हुन् । 'लक्षित समुदायका महीलाका लागि नयाँ नयाँ सीप हस्तान्तरणले उहाँहरूको आर्थिक सशक्तिकरणसँगै व्यावसायिकता वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु,' नगर प्रमुख तुल्सीराम रेग्मीले भने । रासस