काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७१ दशलमव ९७ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ३ करोड ३४ लाख खुद नाफा आर्जन गरेकोमा चालू आवमा घटेर रू. ९३ लाख ७७ हजारमा झरेको हो ।
चालू आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेकाले सञ्चालन नाफा घटेसँगै नाफा घटेको हो । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. ३ करोड ४६ लाख रहेकोमा चालू आवमा बढेर रू. ५ करोड ८४ लाख पुगेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा ७२ दशलमव ५१ प्रतिशत घटेको छ ।
त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि गत आवको तुलनामा चालू आवमा २१ दशलमव ४९ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. १४ करोड ८८ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा घटेर रू. ११ करोड ६८ लाखमा झरेको छ ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ८७ पैसा रहेकोमा चालू आवमा घटेर ३ रुपैयाँ १७ पैसामा झरेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १८ करोड रहेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ६९ करोड ६० लाख र रिटेन्ड अर्निङमा रू. ४९ लाख ४३ हजार सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५९ दशमलव २३ र तरलता अनुपात ३२ दशमलव ५३ प्रतिशत छ ।