काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको ६ महीनामा ३ करोड ९१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यसै अवधिसम्म ९ करोड २६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीको यस वर्ष करीब ५८ प्रतिशत खुद नाफा घटेको छ ।
सञ्चालन नाफा ५६ दशमलव २९ प्रतिशत घटेकाले कम्पनीको खुद नाफामा असर परेको हो । गत वर्ष १३ करोड २२ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ५ करोड ७७ लाख रूपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष इम्पेरमेन्ट चार्ज बढ्दा कम्पनीको सञ्चालन नाफा घट्न गई खुद नाफामा असर परेको हो । गत वर्ष ३ करोड १३ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष १० करोड ५६ लाख रूपैयाँभन्दा बढी रहेको हो ।
दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा ५ करोड १७ लाख रूपैयाँभन्दा बढी ऋणात्मक देखिएको छ ।यस वर्ष ५ प्रतिशत बोनस शेयर र कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीको रिटेन्ड अर्निग ऋणात्मक देखिएको हो । जगेडा कोष रकम भने गत असार मसान्तसम्मको तुलनामा २१ प्रतिशत बढेको छ । असार मसान्तसम्म ५० करोड ८२ लाख रूपैयाँभन्दा बढी रहेको जगेडा कोष रकम दोस्रो त्रैमाससम्म भने ६१ करोड ६० लाख रूपैयाँभन्दा बढी कायम भएको हो ।
कम्पनीले यो ६ महीनामा १८ अर्ब ८१ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने १३ अर्ब ८४ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । कम्पनीको निष्क्रिय कर्जा यस वर्ष बढेको छ । गत वर्ष १ दशमलव शून्य ६ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष २ दशमलव ८६ प्रतिशत पुगेको हो । कम्पनीको प्रतिशेयर आम्दानी ६ रूपैयाँ ६२ पैसा र प्रतिशेयर नेटवर्थ १४७ रूपैयाँ ६८ पैसा छ ।