५ देखि ७ वर्षभित्रमा अन्तरराष्ट्रिय उडानका निम्ति वाइड र न्यारोबडी गरी कम्तीमा पाँचओटा जहाज किन्नुपर्छ । हामीसँग अन्तरराष्ट्रिय उडानका लागि हाल दुईओटामात्र जहाज छन् । त्यसो हुँदा हामीले चाहेजति र गर्नुपर्नेजति अन्तरराष्ट्रिय हवाई उडान गर्न सकेका छैनौं । त्यसैले ७ वर्षभित्रमा अन्तरराष्ट्रिय उडान गर्न सक्ने सातओटा जहाज पुर्याउने योजना बनाएको छु । आन्तरिक उडानका लागि पनि नौओटा जहाज हुनुपर्छ । यसमा दुईओटा सुगम गन्तव्य र बाँकी दुर्गम क्षेत्रमा लैजाने योजना बनाएको छु ।
चीनबाट जहाज ल्याउने विषय दुई देशका सरकारबीचको खरीद–विक्री प्रक्रिया हो । निगमको एक्लो पहलमा मात्र जहाज ल्याउन खोजिएको होइन । निगम सरकारको पूर्ण स्वामित्व भएको संस्था भएकै कारण नेपाल सरकारकै पहलमा जहाज अनुदान तथा खरीद प्रक्रिया अगाडि बढेको हो । यसकै पहिलो चरणअनुसार व्यापारिक सम्झौता नै भइसकेको छ ।
(नेपाल वायु सेवा निगमका महाप्रबन्धक मदन खरेलसँगको कुराकानीबाट) वर्ष ८, अंक ८१, आइतवार २४ मङ्सिर, २०६९