कम्पनीले आफ्नो शेयर आफै किन्न अर्थात बाइब्याक गर्न सक्छन् । कम्पनी ऐन, २०६३ मा यससम्बन्धी कानूनी व्यवस्था छ । सूचीकृत र असूचीकृत सबै प्रकारका कम्पनीले आफ्नो शेयर आफै किन्न सक्छन् तर, नेपालको प्रचलित कम्पनी कानूनमा असूचीकृत कम्पनीले आफ्नो शेयर आफै किन्न सक्ने व्यवस्था छैन । भारतमा असूचीकृत कम्पनीले पनि आफ्नो शेयर आफै किन्न सक्छन् । कम्पनीले वर्षभरिमा अनेकौं घोषणा गर्छन् । यसलाई कम्पनीको भाषामा ‘कर्पोरेट एक्शन’ भनिन्छ । आफ्नो शेयर आफै किन्ने बाइब्याक पनि कर्पोरेट एक्शन हो । कम्पनी सञ्चालक समितिले यस्ता घोषणा गर्छन् र आवश्यकताअनुसार शेयरधनीको सभा (साधारण वा विशेष) बाट अनुमोदन वा पारित भएपछि लागू हुन्छ ।
यसका उदाहरणका रूपमा लाभांश, शेयर विभाजन वा एकीकरण, गाभ्ने/गाभिने, प्राप्ति, हकप्रद आदि हुन् । यस्ता घोषणामध्ये केहीले कम्पनीका शेयरधनीलाई प्रत्यक्ष रूपमा र केहीले कुनै प्रभाव पार्दैन । शेयरधनीलाई प्रत्यक्ष प्रभाव पार्ने कर्पोरेट एक्शनका रूपमा लाभांश घोषणालगायत पर्छन् । अप्रत्यक्ष प्रभाव पार्ने कर्पोरेट एक्शनमा कम्पनीको नाम परिवर्तन, रजिस्टर्ड कार्यालय परिवर्तन, प्रतीक चिह्न (लोगो) परिवर्तन पर्छन् । बाइब्याकका सम्बन्धमा यसै दैनिकमा ‘आफ्नो शेयर आफैले किन्ने बाइब्याक: नेपालमा कहिले आउला यस्तो व्यवस्था ?’ (मिति २०८१/३/२०) र बाईब्याकसम्बन्धी कानूनी व्यवस्था: कार्यान्वयनमा किन अलमल ? (मिति २०८१/४/७) गरी दुईओटा लेख प्रकाशित भएका छन् । यस आलेखमा कुनकुन विधि अपनाएर कसरी बाइब्याक गरिन्छ भन्ने विषयमा चर्चा गरिन्छ ।
बाइब्याकका विधि
बाइब्याकको तालुकी कानून कम्पनी ऐन, २०६३ को दफा ६१(४) मा के कस्ता विधि अपनाएर बाइब्याक गर्न सकिन्छ भनेर उल्लेख गरिएको छ । जसमा (१) धितोपत्र बजार वा खुलाबजारबाट खरीद गरेर, (२) कम्पनीका कर्मचारीलाई छुट्ट्याइएको शेयर सम्बद्ध कर्मचारीबाट खरीद गरेर, (३) तत्काल कायम रहेका शेयरधनीबाट समानुपातिक रूपमा खरीद गरेर बाइब्याक गर्न सकिने तीनओटा विधि उल्लेख गरिएको छ । ऐनमा व्यवस्था नभए पनि अडलट (एकदेखि नौ कित्तासम्म) शेयर बाइब्याक गर्न सकिन्छ । बोनस शेयरका कारण खण्डित अर्थात् एक कित्ताभन्दा कम दशमलवमा रहेका कित्ता पनि अडलटकै परिभाषाभित्र रहेर खरीद गर्न सकिन्छ । यसबाहेक नेपाल कानूनमा उल्लेख नभएको तर, सर्वाधिक उपयोगमा रहेको अर्को विधि ‘टेन्डर वा बोलपत्र’ आह्वान गरेर पनि बाइब्याक गर्न सकिन्छ ।
भारतीय शेयरबजारमा बाइब्याकको लागि खुलाबजार र बोलपत्र विधि सर्वाधिक प्रचलनमा छ । नेपालमा बाइब्याकको अभ्यास भएको छैन र तत्काल अभ्यास हुने सम्भावना पनि देखिँदैन ।
नेपाल कानूनमा बाइब्याकको व्यवस्था भए पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतमा सूचीकृत कम्पनीले यसलाई उपयोग गरिरहेका छन् । भारतमा खुलाबजार र टेन्डर विधि सर्वाधिक प्रचलनमा रहेका विधि हुन् । कर्पोरेट एक्शनको प्रकृतिअनुसार यसलाई शेयरधनीले अनिवार्य र इच्छाधीन गरी दुई प्रकारले ग्रहण गर्न सक्छन् । बाइब्याकमा अपनाइने विधिअनुसार यसमा अनिवार्य र इच्छाधीन दुवैको मिश्रित गुण हुन्छ । माथि उल्लिखित पाँचओटा विधिमध्ये दोस्रो, तेस्रो र अडलटअन्तर्गत गरिने बाइब्याकमा यस्ता शेयर धारण गरेका सबै शेयरधनी अनिवार्यरूपमा सहभागी हुनुपर्छ । धितोपत्र बजार वा खुलाबजार र टेन्डर वा बोलपत्र विधिमा शेयरधनी इच्छाधीन रूपमा सहभागी हुन वा नहुन सक्छन् । यसमा सहभागी नहुँदा पनि तिनले सहभागी हुनेले भन्दा बढी लाभ प्राप्त गर्न सक्छन् । बाइब्याकका विभिन्न विधिका सम्बन्धमा सविस्तार उल्लेख गरिन्छ ।
कर्मचारी, अडलट समानुपातिक विधि
आफ्नो शेयर बाइब्याक गर्दा कम्पनीले अपनाउने विभिन्न विधिमध्ये कर्मचारी र अडलट पनि हुन् । यहाँ कमचारी भन्नाले कम्पनीको कर्मचारीलाई छुट्ट्याइएको शेयर कर्मचारीबाट खरीद गर्नु हो । यसमा कर्मचारी मात्र सहभागी हुन सक्छन् । यस्तो प्रस्तावमा कर्मचारी अनिवार्य रूपमा सहभागी हुनुपर्छ । सहभागी हुन्न भन्न पाइँदैन । कम्पनीले अतिसानो संख्यामा छरिएर रहेका शेयर स्वामित्व (अनइकोनोमिक युनिट) हटाउन पनि बाइब्याक गर्ने गर्छन् । १० कित्ताभन्दा कम शेयरलाई अडलट भनिन्छ । बोनस शेयरका कारण वा विविध कारणवश अडलट कित्ता अस्तित्वमा देखापर्छन् । यस्ता ससाना कित्ता विक्री गर्न स्टक एक्सचेन्जले सुविधा उपलब्ध गराए पनि लागतका हिसाबले महँगो पर्ने हुँदा यस्ता शेयर सहज रूपमा कारोबार हुँदैन । कम्पनीलाई पनि यस्ता ससाना कित्ताको अभिलेख राखिरहन झन्झट हुने कारण यस्तो किसिमको शेयर बाइब्याक गर्न सकिन्छ । नेपालमा बोनस शेयरका कारण यस्ता कित्ता मात्र होइन, एक कित्ताभन्दा कम दशमलवमा पनि अत्यधिक शेयर रहेका छन् । नेपाल जस्तो वर्षैपिच्छे बोनस शेयर जारी गर्ने शेयरबजारमा दशमलव कित्ता एउटा जटिल समस्या बनेको छ । यस्ता कित्ता बाइब्याक गर्ने कार्यक्रम आएमा यसमा पनि त्यस्ता शेयरधारक अनिवार्य रूपमा सहभागी हुनुपर्छ ।
कुनै कम्पनीले सबै शेयरधनीबाट शेयर फिर्ता लिने गरि बाइब्याक गर्नसक्छन् । मानौं कुनै कम्पनीको पूँजी १ अर्ब रुपैयाँ छ र कम्पनीले १० प्रतिशतले हुन आउने १० लाख कित्ता शेयर समानुपातिक रूपमा बाइब्याक गर्ने घोषणा गरेमा यसमा कुनै पनि शेयरधनीले सहभागी हुन्न भन्न पाउँदैनन् । यसमा अनिवार्य रूपमा सहभागी हुनुपर्छ । यसबाट पूँजी घट्छ र प्रतिशेयर आम्दानी बढ्दा लाभांश बढ्न सक्छ । यस्तो लाभ सबै शेयरधनीले समान रूपमा प्राप्त गर्न सक्छन् । बाइब्याक गरेपछि कमी हुने शेयरसंख्याले भविष्यमा मूल्य वृद्धि हुन सक्छ ।
खुला बजार विधि
बाइब्याक गर्दा विभिन्न तरीका अपनाउन सकिन्छ । त्यसमध्ये सीधै बजारबाट खरीद गर्ने खुलाबजार एउटा विधि हो । यसमा कम्पनी स्वयम कारोबारी जस्तै रूपमा प्रकट हुन्छन् र अन्य कारोबारीसरह सीधै स्टक एक्सचेन्जबाट खरीद गर्छन् । यस्तो खरीद विधिमा कम्पनीले बजारमा चलेको भाउभन्दा बढी मूल्यमा शेयर खरीद गर्न निश्चित (फिक्स्ड) मूल्य निर्धारण गरेको हुन्छ । यस्तो मूल्य बजारमा चलेको मूल्यभन्दा बढी अर्थात् प्रिमियमसहित तोकेको हुन्छ । उदाहरणका लागि बजार भाउ ३ सय रुपैयाँ चलेको छ भने कम्पनीले १ सय रुपैयाँ प्रिमियम थपेर चारसय रुपैयाँमा शेयर खरीद गर्ने सूचना जारी गर्छ र बजारबाट शेयर खरीद गर्न शुरू गर्छ ।
बाइब्याकको तालुकी कानून कम्पनी ऐन, २०६३ को दफा ६१(४) मा (१) धितोपत्र बजार वा खुलाबजारबाट खरीद गरेर, (२) कम्पनीका कर्मचारीलाई छुट्ट्याइएको शेयर सम्बद्ध कर्मचारीबाट खरीद गरेर, (३) तत्काल कायम रहेका शेयरधनीबाट समानुपातिक रूपमा खरीद गरेर बाइब्याक गर्न सकिने तीनओटा विधि उल्लेख गरिएको छ ।
कम्पनीले अन्य कारोबारीसरह दलाल कम्पनीबाट शेयर खरीद गर्छ । कम्पनी स्वयम् कारोबारीसरह बजारमा खरीद गर्न आउने हुँदा अन्य कारोबारीले जेजस्तो रणनीति अपनाउँछन् सोही रणनीति कम्पनीले पनि अपनाउन सक्छन् । यसको मतलब सकेसम्म कम मूल्यमा खरीद गर्ने प्रयास गर्छन् । यसरी बाइब्याक गर्दा एकै दिन वा हप्ता वा १ महीनामा गर्ने भन्ने हुँदैन । यसका लागि ६ महीना समय तोकिएको हुन्छ । कम्पनीले तिर्न चाहेको मूल्य नाघेमा कम्पनीले शेयर खरीद गर्न बन्द गर्छ र शेयर मूल्य घट्ने समयको प्रतीक्षा गर्छ । खुला बजार वा बजारबाट हुने बाइब्याकमा यसरी खरीद गर्दै जाँदा जुन दिन तोकिएका कित्ता वा शेयर कम्पनीले प्राप्त गर्छ उक्त दिन बाइब्याक गर्ने कार्य बन्द गरिन्छ । खुला बजारबाट शेयर खरीद गर्न कम्पनीले बुक बिल्डिङ विधि पनि अपनाउन सक्छन् । बुक बिल्डिङबाट बाइब्याक गर्दा कम्तीमा १५ र बढीमा ३० दिन अवधि तोकिएको हुन्छ ।
खुला बजार विधिमा सबै शेयरधनी सहभागी हुनुपर्ने बाध्यता हुँदैन । कम्पनीलाई शेयर बेच्न र नबेच्ने दुबै शेयरधनीले कुनै न कुनै रूपमा लाभ प्राप्त गर्छन् । बेच्न चाहनेले पनि प्रिमियम मूल्य पाउने हुँदा यिनले पनि छोटो समयममा लाभ प्राप्त गर्छन् । धेरै शेयर धारण गरेका शेयरधनीका लागि आफ्नो शेयर विक्री गर्ने उत्तम अवसर प्राप्त हुने भएकोले यस्ता धारक शेयर विक्री गरेर बाहिरिन सक्छन् ।
जसले विक्री गर्न चाहँदैनन् तिनका लागि पनि अवसर हुन्छ किनभने कम्पनीले शेयर फिर्ता वा बाइब्याक गरेपछि कम्पनीको पूँजी घट्छ र प्रतिशेयर आम्दानी बढ्छ । प्रतिशेयर आम्दानी बढ्दा प्रतिशेयर लाभांश पनि बढ्छ । आफूले धारण गरेको कित्ताले बढी लाभांश पाउने हुँदा कम्पनीले बाइब्याक प्रस्ताव ल्याउँदा पनि सहभागिता जनाउँदैनन् । शेयर बाइब्याक गर्ने प्रक्रिया सम्पन्न भएपछि मूल्य समायोजन हुन्छ । यो पनि शेयर नबेच्ने शेयरधनीका लागि अर्को लाभ हुन्छ ।
बोलपत्र वा टेन्डर विधि
बाइब्याक गर्ने अर्को विधि टेन्डर वा बोलपत्र हो । यस विधिमा पनि शेयरधनी इच्छाधीन रूपमा सहभागी हुनसक्छन् । यो विधि बजारबाट खरीद गरिने विधिभन्दा के कुरामा फरक छ भने यसमा कम्पनीले आफूले किन्ने अधिकतम मूल्य तोकेको हुन्छ । यही अधिकतम मूल्यको सीमामा रहेर शेयरधनीले आफूले बेच्न चाहेको मूल्य र कित्ता संख्या खुलाई कम्पनीलाई बोलपत्र दिनुपर्छ । शेयरधनीले आफूसँग भएको शेयरभन्दा बढी कित्ता पनि प्रस्ताव गर्न सक्छन् । यसरी नभएको शेयरसमेतको बोलपत्र दिँदा यसलाई स्वीकार गर्ने/नगर्ने भन्ने कुरोको टुङ्गो कम्पनीले तोकेको भन्दा कम शेयर प्रस्ताव आएमा मात्र स्वीकार हुन्छ नत्र हुँदैन । टेन्डर प्रस्तावबाट गरिने बाइब्याकको अवधि १० कार्य दिनको हुन्छ । यसमा सहभागी हुनेले तत्काल आफ्नो शेयरबजार मूल्यभन्दा बढी मूल्यमा विक्री गर्ने सुविधा प्राप्त गरेर लाभ प्राप्त गर्छन् । सहभागी नहुने शेयरधनीले पनि खुला बजार विधिमा जस्तै लाभ पाउँछन् । खुला बजार विधि र बोलपत्र विधिमा केकस्ता फरक छन् तिनको फरक तालिकामा देखाइएको छ ।
नेपालमा कुन उपयुक्त
भारतीय शेयरबजारमा बाइब्याकका लागि खुला बजार र बोलपत्र विधि सर्वाधिक प्रचलनमा छ । नेपालमा बाइब्याकको अभ्यास भएको छैन र तत्काल अभ्यास हुने सम्भावना पनि देखिन्न । यदि नेपालमा कुनै कम्पनीले यस्तो अभ्यास शुरुआत गरेमा कुन विधि उपयुक्त होला भन्ने प्रश्न आउन सक्छ । बैंकिङ र बीमा कम्पनीका लागि समानुपातिक विधिबाट मात्र यस्तो अभ्यास गर्न सकिन्छ । यसो हुनुको कारण बैंकिङ र बीमामा संस्थापक र सर्वसाधारणका लागि नियामकले अनुपात तोक्नु हो । बैंक र बीमा कम्पनीले अडलट शेयर भने बाइब्याक गर्न सक्छन् । बैंक र बीमाबाहेकका कम्पनीले जुनसुकै विधि निर्बाध उपयोग गर्न सक्छन् । नेपालमा बाइब्याक शुरुआत होला भन्ने कल्पना मात्र हो । किनभने नेपालमा पुँजी घटाउने कुरो आकाशको फल जत्तिकै हो । बरू पुँजी बढाउने कुरोमा भने वर्षैपिच्छे पनि बढाउन तयार हुन्छन् ।
लेखक धितोपत्रसम्बन्धी अध्येता एवं कर्पाेरेट कानूनका ज्ञाता अधिवक्ता हुन् ।