काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय अर्थतन्त्र र बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा चुनौतीको बारेमा अर्थविद्, बैंकिङविज्ञ तथा उद्यमीका बीचमा छलफल गरेको छ । बैंकिङ क्षेत्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ विकासका लागि दिशा निर्देश गर्न बैंकले शनिवार ‘आरबीबी म्यानेज्मेण्ट कन्फेरेन्स २०२४’ गरेको हो ।
कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले सरकार निरन्तरताका आधारमा सञ्चालित भए पनि तिनका आधारमा नीतिहरू आधारभूत रूपमा परिवर्तन नहुने बताए । ‘यसैको आधारमा सरकारले नीति बनाएर कार्य गरिरहेका हुन्छन्,’ उनले भने, ‘राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा परिवर्तन नभइरहेको सन्दर्भमा राजनीतिक प्रणालीको समेत समीक्षा गरी हामीले नयाँ ढंगले कार्य गरिरहेका छौं ।’ उनले बैंकिङ क्षेत्र जनताको रकमबाट सञ्चालित हुने भएकोले संस्थागत सुशासन कायम गर्न जोड दिनुपर्ने बताए ।
अर्थविद् तथा सांसद डा. स्वर्णिम वाग्लेले विकसित राष्ट्रको आर्थिक वृद्धिदर कम हुने र नेपाल जस्तो विकासोन्मुख देशको आर्थिक वृद्धिदर बढी हुनुपर्ने भएता पनि सो अनुरुप हुन नसकेको बताए । आर्थिक सुशासन कायम भएको खण्डमा ७–८ प्रतिशत आर्थिक वृद्धि सम्भव रहेको, तर हाल कोभिड–१९ को प्रभावले वृद्धिदर कम रहेको उनले बताए ।
अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले अर्थतन्त्रको आकार अनुसार हाम्रो आर्थिक वृद्धिदर निकै न्यून रहेको बताए । वर्तमान अर्थतन्त्रका प्रमुख ३ चुनौतीका रूपमा उत्पादन वृद्धि, रोजगारीमा वृद्धि र पूँजीगत खर्चको वृद्धि रहेको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले दिगो व्यावसायिक वृद्धिको आधार र गुणस्तरमा सुधार भन्ने नाराका साथ काम गरिरहेको बताए । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो समयमा बैंकिङ क्षेत्रको बारेमा विभिन्न टीकाटिप्पणी हुने गरे पनि वित्तीय अवस्था ठीक रहेको बताए । उनले नेपालको बैंकिङ क्षेत्र दक्षिण एशियाकै उत्कृष्ट बैंकिङ क्षेत्र हुन सक्ने बताए ।
अर्थविद् एवं राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले हाल तरलताको अवस्था सकारात्मक रहेको, विदेशी मुद्राको सञ्चिति राम्रो अवस्थामा रहेको, ब्याजदर न्यून रहेको अवस्था हुँदाहुँदै पनि निजी क्षेत्र आशावादी हुन नसकेको, आन्तरिक मागमा कमी आएको, श्रमको अभाव भएको, उत्पादनशीलता बढ्न नसेको अवस्थाका कारण अर्थतन्त्रमा अपेक्षाकृत गतिशीलता आउन नसकेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं उद्यमी भवानी राणाले बैंकिङ क्षेत्रमा पर्याप्त स्रोत हुँदाहुँदै पनि कर्जा लगानी हुन नसक्नुका कारण पत्ता लगाउन निजी क्षेत्र र बैंकिङ क्षेत्रको ‘ग्याप’ विश्लेषण गर्नुपर्ने बताइन् । उत्पादनमूलक, पर्यटन, कृषि क्षेत्रमा लगानीको सम्भावना रहेको उनको भनाइ थियो ।