संख्याभन्दा पनि गुणस्तरीय पर्यटक आगमनको अवधारणालाई आत्मसात् गर्दै २०८० (सन् २०२३ अगस्त) भदौमा हिमालपारिको जिल्ला मुस्ताङको जोमसोममा कम्बोडियाको होटेल ब्राण्ड शिन्तामणि भित्रियो ।
पर्यटन व्यवसायमा लामो बिरासत बोकेको शेर्पा हस्पिटालिटी समूहले हाइ इन्ड चेन ब्रान्ड शिन्तामणि भित्त्याएर मुस्ताङमा ‘शिन्तामणि मुस्ताङ होटेल’ सञ्चालनमा ल्याएको १ वर्ष पुगेको छ ।
एचएमडी एशियाको स्वामित्वमा रहेको शिन्तामणि ब्रान्ड कम्बोडियापछि पहिलोपटक नेपाल प्रवेश गरेको हो । नेपालको आतिथ्य सत्कार सेवामा भित्रिएका जति पनि बहुराष्ट्रिय होटेल ब्रान्ड छन्, ती अधिकांश काठमाडौंकेन्द्रित छन् । तर, शेर्पा हस्पिटालिटी समूह मुस्ताङमा हाइ इन्ड पर्यटक भित्त्याएर नेपाललाई लक्जरियस पर्यटनको गन्तव्य बनाउन सक्रिय छ ।
समूहका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नाम्गेल शेर्पा यो १ वर्षको अवधिमा होटेल अकुपेन्सी सकारात्मक रहेको बताउँछन् । सन् २०२४ को पर्यटकीय सिजन नजिकिँदै गर्दा होटेलको प्रि–बुकिङ पनि सकारात्मक नै देखिन्छ । आउँदो सेप्टेम्बर महीनाका लागि अगस्त महीनामै करीब ५० प्रतिशत बुकिङ भइसकेको छ ।
होटेलको वेबसाइट हेर्दा अगस्त महीनामा भएको बुकिङअनुसार सेप्टेम्बर महीनाका लागि १४ दिनको बुकिङ भइसकेको छ । पर्यटकले अक्टोबरका लागि ६ दिन र नोभेम्बरका लागि ४ दिन बुक गरिसकेका छन् । ‘नेपाल लक्जरियस गन्तव्य हो भन्ने कुरा हामी स्थापित गर्न चाहन्छौं,’ शेर्पाले भने, ‘हामी संख्याभन्दा पनि गुणस्तरीय पर्यटकलाई विशेष ध्यान दिइरहेका छौं ।’
नेपाल बजेट/सस्तो गन्तव्यका रूपमा परिचित भएको भन्दै शिन्तामणि ब्रान्ड भित्त्याएर यो सोच बदल्ने उद्देश्य लिइएको उनको भनाइ छ । ‘हाम्रो सोच ‘नयाँ नेपाल’ बनाउने हो,’ शेर्पाले भने, ‘पर्यटकलाई हाइ इन्ड सेवा उपलब्ध गराएर नेपाललाई विश्व मानचित्रमा लक्जरियस पर्यटन गन्तव्यको रूपमा उभ्याउन शिन्तामणि मुस्ताङ प्रतिबद्ध छ ।’यो होटेलमा कम्तीमा ५ दिन बस्नैपर्छ । बस्नेले न्यूनतम प्रतिरात १ हजार ८०० अमेरिकी डलर खर्चिनुपर्छ ।
काठमाडौंबाहिर खुलेकाले यो होटेलका लागि केही चुनौती पनि छन् । अहिले मुख्य चुनौतीका रूपमा लजिस्टिक, त्यसमा पनि यातायात, आपूर्ति र पूर्वाधारको सीमितता रहेको उनी बताउँछन् । सरकारले दिगो पर्यटन विकासलाई सघाउने नीति लिनुपर्ने उनको सुझाव छ । शिन्तामणि पहिलो चेन ब्रान्ड होइन, निजीक्षेत्रले दशकौं अघिदेखि नै चेन ब्रान्ड भित्त्याउँदै आइरहेका छन् । अन्नपूर्ण, सोल्टी, तारागाउँ, ओरियन्टलले अन्तरराष्ट्रिय चेन ब्रान्ड भित्त्याएर नेपालको आतिथ्य उद्योगमा योगदान पुर्याइरहेका छन् । पछिल्लो समयमा खुलेका होटेलहरूमा लगानीकर्ताले कुनै न कुनै अन्तरराष्ट्रिय चेन ब्रान्ड भित्त्याउन थालिसकेका छन् ।
पछिल्लो समय व्यावसायिक घराना शंकर समूहले काठमाडौंको नक्सालमा हिल्टन होटेल सञ्चालनमा ल्याइसकेको छ । २०२४ अगस्तको शुरूमै सञ्चालनमा आएको यो होटेलमा आतिथ्य सेवाको अमेरिकी बहुराष्ट्रिय कम्पनी हिल्टन वल्र्डवाइड होल्डिङ्स कम्पनीको ‘हिल्टन’ ब्रान्ड भित्रिएको हो । ‘हिल्टन काठमाडौं’ औपचारिक रूपमा सञ्चालनमा आएपछि शंकर समूहका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हिल्टन जस्तो विश्व चर्चित ब्रान्डसँग जोडिन पाउनु गौरवको विषय भएको बताएका थिए । ‘काठमाडौंमा फस्टाउँदै गइरहेको पर्यटन उद्योगको आधारशिला बन्न र विश्वभरका अतिथिहरूलाई स्वागत गर्न तत्पर छौं,’ उनले भनेका थिए ।
विश्वका पर्यटकीय गन्तव्यमा आफ्ना सञ्जाल विस्तार गर्ने रणनीति अन्तरराष्ट्रिय आतिथ्य सेवा उद्योगको हुँदै गर्दा उनीहरूको रोजाइमा नेपाल पनि पर्दै आएको छ । बहुराष्ट्रिय ब्रान्ड व्यवस्थापन करार गरेर भित्रिरहेका छन् । हाल भारतीय चेन ब्रान्ड ताज, लेमन ट्री, कम्बोडियाको शिन्तामणि, थाइल्यान्डको दुसित प्रिन्सेस, ब्रिटिस बहुराष्ट्रिय कम्पनी इन्टर कन्टिनेन्टल होटेल ग्रूप (आईएचजी), अमेरिकन बहुराष्ट्रिय चेन ब्रान्डलाई लगानीकर्ताले नेपालमा भित्त्याइरहेका छन् ।
२०७६ वैशाखदेखि सञ्चालनमा आएको काठमाडौं म्यारियट होटेलका सञ्चालक शशिकान्त अग्रवाल विश्व पर्यटन बजारमा नेपालको प्रचारप्रसार त्यति नपुगेका बेला निजीक्षेत्रका लगानीकर्ताले भित्त्याउने बहुराष्ट्रिय चेन ब्रान्डले नेपालको पर्यटन क्षेत्रको बजारीकरणमा ठूलो योगदान दिएको बताउँछन् । ‘चेन ब्रान्ड विश्वभर नै स्वीकार गरिएको स्ट्याण्डर्ड हो, यो नेपालमा पनि अन्तरराष्ट्रियस्तरको आतिथ्य सत्कार तथा गुणस्तरीय सेवा पर्यटकले पाउँछन् भन्ने प्रमाण पनि हो,’ उनी भन्छन् ।
चेन ब्रान्ड भित्रने क्रम बढ्दै जाँदा बजार प्रतिस्पर्धी हुनुपर्ने भए पनि पर्यटकको संख्या नबढ्दा समस्या भएको उनी बताउँछन् । महँगो हवाई भाडा, नेपालमा भइरहेका हवाई र सडक दुर्घटनाले पनि नेपाल आउन खोज्ने पर्यटकलाई बिच्क्याएको उनको भनाइ छ । उनले यस्ता दुर्घटनाले नेपाल सुरक्षित गन्तव्य नभएको सन्देश विश्व समुदायमा गएको बताउँछन् । यसैगरी नेपाल एयरलाइन्सको उडान संख्या नै कम हुँदा उल्लेख्य मात्रामा पर्यटक आउन सकेका छैनन् ।
सांग्रिला टुर्स प्रा.लिका प्रबन्ध निर्देशक (एमडी)समेत रहेका नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) पूर्वअध्यक्ष अशोक पोखरेलका अनुसार चेन होटेल भित्रँदा हुने फाइदा भनेको उसको मार्केटिङ सञ्जालमा पहुँच सहज हुनु हो । ‘बहुराष्ट्रिय ब्रान्ड भित्रँदा मार्केटिङका लागि राम्रो हो,’ उनी भन्छन्, ‘तर, मुख्य कुरा भने पर्यटक कसरी ल्याउने भन्ने नै हो । अहिले पनि नेपालमा पर्यटक ल्याउन विदेशी एयरलाइन्स कम्पनीको भर पर्नुपर्छ ।’
अन्तरराष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्सबाट भरपर्दाे सेवा पर्यटकले पाउन सकेका छैनन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुँदै छ । ‘पर्यटकीय सिजनमै विमानस्थल विस्तार हुने नाममा बन्द हुँदा साविकको उडान ३० प्रतिशतले घट्छ भन्ने अनुमान छ,’ पोखरेलले भने, ‘यसको सीधा असर आपूर्ति कम हुँदा मूल्य बढ्छ र नेपाल महँगो गन्तव्यमा पर्छ ।’
बहुराष्ट्रिय कम्पनीका चेन होटेलहरू नयाँ बजारमा प्रवेश गर्ने रणनीतिमा हुन्छन् । नेपालको पर्यटन क्षेत्रमा अवसर देखेर नै चेन यहाँ आएको भन्दै उनले नेपाली पर्यटनको रणनीति र सम्भावना हेरेर उनीहरूले लगानी बढाउँदै आएको बताए । ‘अब नेपालले कि पर्यटकको संख्या बढाउनु पर्छ कि त होटेल खोल्न दिनु भएन,’ उनी भन्छन्, ‘कथंकदाचित् पर्यटकको संख्या बढेन र घट्दै गयो भने मूल्यमा दबाब परिहाल्छ । माग घट्दा ऋणमा चाप र सेवा राम्रो नहुने अवस्था आउन सक्छ ।’
निजीक्षेत्रले होटेल पूर्वाधारमा लगानी बढाउँदै छ । तर, राष्ट्रिय ध्वजावाहक जहाज पर्यटन बजारमा पुग्न सकेको छैन । पर्यटकीय गन्तव्य भएका देशमा वायुसेवा पुर्याउन सक्दा त्यहाँका ६० प्रतिशत पर्यटक त्यही देशको एयरलाइन्सबाट आएको देखिन्छ । ‘हाम्रोमा यस्तो छैन । त्यसैले सरकारले नेपाल एयरलाइन्सको जहाजको संख्या बढाउनुको विकल्प छैन,’ उनी भन्छन्, ‘नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनी बनाउने हो कि सरकारकै स्वामित्वमा राखेर व्यवस्थापन सुदृढीकरण गर्ने हो कि, लगानी बढाउने हो, सरकारले बाटो खोल्न ढिलाइ गर्नु हुँदैन ।’
नेपालमा चेन होटेल जसरी बढ्दै गएका छन्, त्यसले मुलुकको पर्यटन उद्योगलाई थप फस्टाउन मद्दत नै पुगेको छ । तर, मुलुकमा आउने विदेशी पर्यटकको संख्या भने अपेक्षा गरेअनुसार बढ्न सकेको देखिँदैन । नेपालमा सन् २०१९ मा हवाईमार्ग हुँदै सबैभन्दा धेरै ११ लाख ९७ हजार १९१ पर्यटक नेपालमा आएका थिए । नेपाल पर्यटन तथ्यांक २०२३ अनुसार सन् २०१८ मा यो संख्या ११ लाख ७३ हजार ७२ रहेको थियो ।
सन् २०१९ मा नेपालमा झन्डै १२ लाख पर्यटक आएपछि सरकारले त्यसको अर्काे वर्ष नै अर्थात् सन् २०२० मा २० लाख पर्यटक ल्याउने भनेर ‘नेपाल भ्रमण वर्ष–२०२०’ घोषणा गरेको थियो । तर, यसको विधिवत् उद्घाटन भएकै समय विश्वव्यापी रूपमा कोरोना भाइरस फैलिएपछि भ्रमण वर्ष स्थगित भयो । कोरोनाको प्रभाव सन् २०२२ सम्मै रह्यो । तथ्यांकअनुसार नेपालमा सन् २०२३ देखि पर्यटक आगमनले पहिलाको लय समात्न थालेको हो । सन् २०२३ मा नेपालमा हवाईमार्ग हुँदै १० लाख १४ हजार ८८२ पर्यटक आएका थिए ।
सरकारले मुलुकको अर्थतन्त्रको प्रमुख क्षेत्रमध्ये पर्यटनलाई पनि उच्च प्राथमिकता दिएको छ । चालू आव २०८१/८२ को बजेट वक्तव्यमार्फत सरकारले यो वर्ष १६ लाख पर्यटक भित्त्याउने घोषणा गरेको छ । यस्तै, ‘सन् २०२३ देखि सन् २०३३ सम्मलाई पर्यटन दशक’ मनाउने घोषणा २०७९ मा गरेको थियो । यो दशकमा नेपालमा ३५ लाख पर्यटक भित्त्याउने लक्ष्यसमेत राखिएको छ ।
तर, सरकारले लिने नीतिहरू खासै कार्यान्वयनमा गएको देखिंदैन । नेपाल पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि त्यस किसिमले विश्व बजारमा मार्केटिङ नहुँदा त्यसको लाभ लिनबाट चुकेको छ ।
नेपालमा चेन होटेलको यात्रा
नेपालमा अन्नपूर्ण होटेल स्थापना हुँदाको बखत हिल्टन होटेलले व्यवस्थापन हेरेको थियो । होटेल व्यवस्थापनको धेरै ज्ञान तथा जानकारी नभएका बेला निजीक्षेत्रले शुरूमा अन्तरराष्ट्रिय ब्रान्ड तथा व्यवस्थापन भित्त्याएको पाइन्छ । यस हिसाबले निजीक्षेत्र दूरदर्शी भएको पोखरेल बताउँछन् । काठमाडौंको सोल्टी होटेलमा शुरूमा भारतीय होटेल कम्पनी ओवरोय होटेल प्रा.लिको व्यवस्थापन आएको थियो । एभरेष्ट होटेलको व्यवस्थापन हेर्न शेराटन आएको थियो । आतिथ्य सेवाको अमेरिकी बहुराष्ट्रिय कम्पनी हायात होटेल कर्पोरेशनको ब्रान्ड ‘हायात रिजेन्सी’ भित्रियो । भारतको ताज होटेल पनि आइसकेको छ । म्यारियटका विभिन्न ब्रान्ड, र्याडिसनजस्ता विदेशी चेन ब्रान्ड अहिले नेपालका होटेलमा व्यवस्थापन सम्हाल्दै आएका छन् । नेपालमा निजीक्षेत्रले होटेल विकास गरेर चेनलाई व्यवस्थापन दिने हो । पूर्ण चेन हुनका लागि चेन होेटेल नै आएर आफ्नै स्वामित्वमा लगानी गर्नुपर्छ । नेपाली होटेलले व्यवस्थापन करार मात्रै गरेका हुन्छन् । नाफा नदेखे व्यवस्थापन फिर्ता हुने अवस्था आउँछ ।