कोभिड १९ महामारीपछि विश्वबजारमा आएको आर्थिक मन्दीको मारमा परेको छुर्पी उद्योग पछिल्लो समय फेरि मौलाउन थालेको छ । यूरोप र अमेरिकाबाट छुर्पीको माग बढेपछि गत आर्थिक वर्ष (आव)मा मात्रै ३ अर्ब १८ करोड ४३ लाख २७ हजार बराबरको १६ लाख ४६ हजार ८ सय ८७ किलोग्राम छुर्पी निकासी भएको छ । पाँचवर्ष अघि ५५ करोडको मात्र छुर्पी निर्यात भएको थियो ।
विश्व बजारमा नेपाली छुर्पीको माग बढेपछि स्थानीय दूध किसान र डेरी उद्योग सञ्चालकहरूको आम्दानीसमेत बढेको छ । यूरोप र अमेरिकी मुलुकमा कुकुर र बिरालोलाई छुर्पी खान दिइन्छ । नेपालको पहाडी र हिमाली क्षेत्रमा उत्पादन हुने छुर्पी यूरोप र अमेरिकालगायत मुलुकहरूमा निकै लोकप्रिय हुन थालेको छ ।
आर्थिक वर्ष २०७७/२०७८ मा १ अर्ब ९६ करोड ५० लाख ४६ हजार रुपैयाँ बराबरको १२ लाख ६२ हजार ९ सय ९८ किलोग्राम छुर्पी निकासी भएको थियो । आव २०७८/२०७९ मा २ अर्ब ९१ करोड १९ लाख ३९ हजार मूल्य बराबरको १७ लाख ४४ हजार ४ सय ५१ किलोग्राम छुर्पी निकासी भएको छ । त्यसैगरी आव २०७९/२०८० मा ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ बराबरको १७ लाख ८६ हजार १ सय १२ किलोग्राम छुर्पी निकासी भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
लकडाउनको समयमा आव २०७३/२०७४ मा ५४ करोड ७९ लाख ८६ हजार रुपैयाँ बराबरको ३ लाख ७६ हजार ९ सय ९४ किलोग्राम छुर्पी निकासी भएको थियो । त्यसैगरी आव २०७४/२०७५ मा ८५ करोड ७९ लाख ३३ हजार बराबरको ५ लाख ७६ हजार २ सय ६१ किलोग्राम छुर्पी निकासी भएको थियो ।
पूर्वी पहाडी जिल्लाबाट यूरोप, अमेरिका, क्यानडालगायत देशमा हुने छुर्पी निकासी पाँच वर्षको अवधिमा वार्षिक ५४ करोडबाट बढेर ३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । यूरोपलगायत देशको बजार लकडाउनको कारण बन्द भएपछि सुस्त भएका कोशी प्रदेशका छुर्पी उद्योगहरू अहिले पूर्णरूपमा सञ्चालनमा आएका छन् । उत्पादन बढेपछि निकासी बढेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले बताए । उनले भने, ‘यो सुखद पक्ष हो यसले किसानको आम्दानी बढाएको छ, दूध सडकमा फ्याँक्नुपर्ने अवस्थाको अन्त्य गरेको छ ।’
कोशी प्रदेशका पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटालगायत पूर्वी पहाडी जिल्लामा उत्पादित छुर्पी कुकुरको खाजाको रूपमा अमेरिका, क्यानडा, जापान, कोरिया लगायत देशमा विक्री हुँदै आएको छ ।
धापपोखरी डेरी उद्योगका सञ्चालक दीपक भट्टराई वार्षिक ४० हजार किलो छुर्पी अमेरिका, जापान, क्यानडालगायत मुलुकमा याच्यु सप्लाई कम्पनीमार्फत पठाउँदै आएका छन् । उनका अनुसार डेरी सञ्चालकले किसानहरूबाट किलोको १ हजारमा किनेर र आफै पनि बनाएर किलोको १२ सयसम्ममा राजधानीका व्यापारीलाई छुर्पी विक्री गर्दै आएका छन् । छ महीना अगाडि छुर्पीको दाम किलोमा १ सय ५० रुपैयाँले कमी आएपछि अहिले छुर्पी उद्योगहरूको नाफा घटेको उनी बताउँछन् । नाफा कम हुनथालेपछि इलामका केही छुर्पी उद्योगहरू बन्दसमेत भएका छन् ।
यूरोप, अमेरिका, क्यानडा, जापानलगायत देशमा कुकर पाल्न शौखिनहरूले कुकुरलाई हड्डी वा अन्य कृत्रिम वस्तुको सट्टा फ्याटबिनाको छुर्पी दिने गर्छन् । हड्डी टोक्दा कुकुरको मुखमा घाउ हुने र विभिन्न समस्या हुने भएकाले दाँतको कसरतका लागि छुर्पी दिने गरेका हुन् । चपाउन मिल्ने साथै कुकुरले खाजाका रूपमा पनि खाने भएकाले नेपालको छुर्पी ‘डग च्यू’का रूपमा माग हुने गरेको छ । इलामको पूर्वी सन्दकपुर गाउँपालिका वडा नम्बर ५ जमुनाका दूध किसान प्रदीप भट्टराईले मासिक ४ सय किलो छुर्पी बनाएर विक्री गर्दै आएका छन् । उनले धापपाखेरी डेरीलाई छुर्पी विक्री गर्छन् । किलोको १ हजारको दरले छुर्पी विक्री गर्ने उनी छुर्पी र घ्यूबाट आम्दानी हुने भएकाले किसानको दूधको रकम तिर्न सहज भएको बताउँछन् ।
एक किलो छुर्पी उत्पादन गर्न १६ लिटर दूध चाहिने र त्यो दूधबाट घ्यू निकालेपछि मात्र छुर्पी बनाउन योग्य हुने उनको भनाइ छ । किसानबाट किनेको दूधको छुर्पी र घ्यू उत्पादन गरी बजारमा विक्री गर्दै आएको उनी बताउँछन् । पशुपालनका अतिरिक्त उनले अन्य किसानको दूधसमेत किनेर छुर्पी बनाउने गर्छन् । किसानले दूध कहाँ लगेर विक्री गरौं भन्ने चिन्ता लिनुपर्ने अवस्थाको अन्त्य छुर्पी उद्योगहरूका कारण भएको र किसानलाई दूध विक्रीबाट आउने रकमले पशुपालनमा प्रोत्साहन मिलेको उनले बताए । अहिले इलाममा गाईको दूध ५० रुपैयाँ लिटर र भैंसीको दूध ८० रुपैयाँ लिटर छ । तर, दूधको क्रिम लाग्ने अनुपातको आधारमा दूधको दाम घटबढ समेत हुन्छ । बाक्लो भैंसीको दूध छ र बढी एसएनएफ छ भने किसानले लिटरको १४० रुपैयाँसम्म मूल्य पाउँछन् ।
सरकारले कृषि उपजमा कुनै शुल्क नलाग्ने बताए पनि इलामदेखि काठमाडौंसम्म नै निकासी शुल्क तिर्नुपर्ने र अन्तरराष्ट्रिय बजारमा पठाउँदा भन्सारलगायतको शुल्क तिर्नु परिरहेको गुनासो व्यवसायीको छ । धापपोखरी डेरीका दीपकका अनुसार बेल्जियमका किसानले समेत छुर्पी उत्पादन गर्न थालेपछि नेपाली किसान र व्यवसायीलाई चुनौती थपिने अवस्था आएको छ । सरकारका विभिन्न निकायले प्यान भ्याटको दर्ता, खाद्यको सर्टिफिकेटलगायत कागजपत्र खोजेर बाटोमा हैरानी दिने गरेको बताउँदै भट्टराईले सरकारले सहज वातावरण बनाए तथा कम्तीमा कोशी प्रदेशलाई खोरेतमुक्त प्रमाणपत्र दिन सके यूरोपमा नेपाली छुर्पीको बजार चौबर बढ्ने बताए । तर, सरकारको नीति तथा कार्यक्रममा मात्रै किसान र दूध किसानका लागि गुलिया कार्यक्रम आउने गरेका छन् । तिनको कार्यान्वयन जहिले निराशाजनक हुने उनको भनाइ छ । ।
कसरी बनाइन्छ छुर्पी ?
डग च्यु एक प्रकारको छुर्पी नै हो जुन तपाईं हामीले खाने छुर्पीभन्दा अलिक फरक हुन्छ । डग च्युमा चिल्लोको मात्रा शून्य हुनुपर्छ । कुकुरले घ्यू नपचाउने भएकाले छुर्पी बनाउन त्यसमा घ्यूको मात्रा पूर्णरूपमा अलग गरिन्छ । कुकुरको आहाराको रूपमा अमेरिकालगायत यूरोपेली मुलुकमा निकासी हुने छुर्पी बनाउँदा दूधलाई फटाएर विभिन्न प्रक्रियाहरू पूरा गर्दै बनाउनुपर्ने इलाम सन्दकपुरका खेम भट्टराईले बताए ।
उनका अनुसार दूध फटाएर तयार पारेको छेनालाई २४ घण्टासम्म गह्रौं वस्तुले किचेर राख्नुपर्छ । त्यसपछि शुरूमा यसलाई हावा मात्रै लाग्ने र चिसो ठाउँमा राख्नुपर्छ र क्रमश: तातोमा सार्दै लानुपर्छ ।छुर्पी बनाएपछि त्यसलाई सुकाउन धूवाँ लगाउनुपर्छ । धूवाँ लाग्ने ठाउँ अथवा तलामुनि आगो फुकिन्छ र टाँडमाथि छुर्पी राखेर सुकाउने गरेको उनले बताए । यसरी १ महीना लगाएर छुर्पी सुकाइन्छ । छुर्पी सुकेपछि संकलनकर्तामार्फत राजधानीका फर्महरूलाई विक्री गरिन्छ ।
पछिल्लो समय १५ सेन्टिमीटर लम्बाइको ८० ग्रामदेखि ११० ग्रामसम्मको साइजलाई स्ट्यान्डर्ड साइज मानेर माग भइरहेकाले किसानले त्यही साइजमा उत्पादन गरिरहेका छन । अमेरिकाबाट विभिन्न फ्लेवरमा माग आएकाले अहिले फिक्कलका डेरी उद्योगहरूले स्ट्राबेरी, ब्लुबेरी, पम्पकिन र मिन्ट फ्लेवरमा छुर्पीको उत्पादन शुरू गरेका छन् । साधारण छुर्पीभन्दा फ्लेवरवाला छुर्पी किलोको ३ सय रुपैयाँसम्म महँगो पर्छ ।
कुन–कुन देशमा हुन्छ निर्यात ?
नेपालले आर्थिक वर्ष २०८०/२०८१ को ६ महीनाको अवधिमा २२ ओटा देशमा छुर्पी निर्यात गरेको छ । त्यसमध्ये नेपाली छुर्पीको मुख्य बजार अमेरिका हो । भन्सार विभागको तथ्यांकअनुसार नेपालले ६ महीनाको अवधिमा करीब डेढ अर्बको निर्यात गर्दा अमेरिकामा मात्रै १ अर्ब २५ करोड रुपैयाँको ६ लाख ३० हजार ४९१ केजी निर्यात गरेको छ ।
अमेरिकापछि क्यानाडामा ८ करोड ६३ लाख रुपैयाँको ३८ हजार ६२७ केजी छुर्पी निर्यात गरेको छ । त्यसैगरी बेलायतमा २ करोड २८ लाख रुपैयाँको ९ हजार ७८ केजी, दक्षिण कोरियामा १ करोड ८ लाख रुपैयाँको ४ हजार ८६७ केजी, जापानमा ९२ लाख रुपैयाँको ४ हजार ८६९ केजी, हङकङमा ५९ लाख रुपैयाँको ६ हजार ९८७ केजी, ताइवानमा ४९ लाख रुपैयाँको २ हजार १३९ केजी र मलेशियामा ४७ लाख रुपैयाँको २ हजार १४७ केजी छुर्पी निर्यात गरेको छ ।
नेपालले सिंगापुरमा ४० लाख रुपैयाँको, ग्रिसमा ३७ लाख रुपैयाँको, नेदरल्यान्ड्समा ३६ लाख रुपैयाँको, यूएईमा २७ लाख रुपैयाँको, थाइल्यान्डमा १३ लाख रुपैयाँको, फिलिपिन्सको ११ लाख रुपैयाँको, चीनमा ६ लाख रुपैयाँको, फ्रान्समा २ लाख रुपैयाँको, न्यूजील्यान्डमा १ लाख ६३ हजार रुपैयाँको र कतारमा १ लाख ३४ हजार रुपैयाँको छुर्पी निर्यात गरेको छ । साथै, नेपालबाट भारत, स्लोभाकिया, इटली र फिनल्यान्डमा समेत छुर्पी निर्यात हुने गरेको छ ।