अचेल काठमाडौंको तीनकुनेमा डेरा गरी बस्ने डोटीको शिखर नगरपालिकाका २३ वर्षीय रूपेश महरा करीब १ वर्षदेखि पूर्णकालीन रूपमा राइड शेयरिङ सेवामा संलग्न छन् । गाउँमै १२ कक्षासम्मको अध्ययन गरे पनि घरको कमजोर आर्थिक अवस्थाका कारण स्नातक तह अध्ययन गर्न नसकेपछि केही वर्ष भारतमा रोजगारी गरेका उनी २०८० को दशैं मनाउन घर फर्किए ।
त्यही बेला गाउँका केही साथीले उनलाई राइड शेयरिङबारे सुनाए । तिहार सकिएलगत्तै साथीहरूसँग काठमाडौं आएका महराले सस्तो मूल्यमा सेकेन्ड ह्यान्ड मोटरसाइकल किनेर राइड शेयरिङको काम गर्न थाले । शुरुवाती दिनमा यात्रु बोक्ने क्रममा यात्रुलाई गन्तव्यमा पुर्याउने बाटो पहिल्याउनसमेत गार्हो पर्ने गरेको उनले सुनाए ।
‘भारतमा मजदुरी गर्न जानुभन्दा यसमा राम्रो कमाइ छ । सबै खर्च कटाएर महीनामा ४५ देखि ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । कहिलेकहीँ बिरामी परेर काम गर्न नसक्दा कमाउन सकिँदैन । मेरो कमाइले अहिले बहिनीलाई काठमाडौंमै राखेर पढाउन थालेको छु । मोटर साइकलमा यात्रु बोक्दा जोखिम त छँदै छ । घाम पानी सबै सहनुपर्छ । कामचाहिँ दु:खको छ । दु:ख भए पनि मन लागेको दिन काम गर्छु, मन नलागेको दिन कतै घुम्न गइदिन्छु कसैको हेपाइ सहनु परेको छैन त्यसैले खुशी लाग्छ,’ महराले सुनाए ।
सार्वजनिक यातायातको दुरवस्थाको समयमा सर्वसाधारणलाई यात्रामा सहजता प्रदान गरिरहेका कारण सेवाग्राहीको पहिलो रोजाइमा राइड शेयरिङ कम्पनीहरू परेका हुन् । राइड शेयरिङ भन्नाले अनलाइन अथवा एपको माध्यमबाट सम्पर्क गरी बोलाइएका मोटरसाइकल वा ट्याक्सीले यात्रुलाई दिने सेवा हो । यस्तो सेवा लिएबापत यात्रुले राइडरलाई तोकिएको रकम तिर्नुपर्ने हुन्छ र राइडरले पनि आम्दानीको निश्चित अंश कम्पनीलाई तिर्नुपर्छ । राइडरको रूपमा काम गर्नेमा युवा पुस्ताको बाहुल्य छ । त्यसमा पनि पूर्ण रूपमा बेरोजगार र अन्य काममा आबद्ध भए पनि फुर्सदको समयमा अतिरिक्त आम्दानी गर्न चाहने युवा यसमा बढी संलग्न भेटिन्छन् ।
कमाइ राम्रो हुने र एउटा चल्ने खालको मोटरसाइकल वा स्कूटरबाहेक थप लगानी गर्नु नपर्ने हुँदा यसमा युवाको आकर्षण बढेको हो । देशमा शिक्षित युवाका लागि पनि पर्याप्त रोजगारीको अवसर नभएको बेला उनीहरू समेत यो सेवामा लागेका हुन् । अन्य रोजगारी हुनेहरू पनि अतिरिक्त आम्दानीको लागि राइड शेयरिङ सेवामा लागेको भेटिन्छन् ।
त्रिभुवन विश्वविद्यालयबाट गणित विषयमा स्नातकोत्तर गरेका सोमबहादुर चलाउने ‘पार्ट टाइम’ राइड शेयरिङ पार्टनर हुन् । कीर्तिपुर बस्ने कैलालीका चलाउने १ वर्षदेखि यो सेवामा छन् ।
उनी बिहान कीर्तिपुरको एक कलेजमा र दिउँसो काठमाडौंकै एक विद्यालयमा गणित पढाउँछन् । विद्यालय छुट्टी भएपछि बेलुका ५ बजेदेखि राति १० बजेसम्म पठाओमार्फत यात्रुलाई सेवा दिने गरेको उनले सुनाए ।
श्रीमती, एक छोरा र छोरीसहित कीर्तिपुरको डेरामा बसेका चलाउने पठाओबाट भएको अतिरिक्त कमाइले घरपरिवारको दैनिक खर्च धानिरहेको बताउँछन् । विद्यालयबाट आएको मासिक आम्दानीले बच्चा पढाउन र घरभाडा तिर्न ठिक्क हुने भएकाले थप आम्दानीका लागि पठाओ रोजेको उनले सुनाए ।
यसरी राइड शेयरिङ सेवा धेरै मानिसका लागि जीविकोपार्जनको माध्यम बनेका छन् । नेपालमा टुटलले शुरू गरेको व्यावसायिक राइड शेयरिङ सेवाको लागि पठाओ, इनड्राइभर, ट्याक्सीमान्डु, साहारा, जुमजुम, जायर, सजिलो, सेफ राइड र ई–ड्राइभलगायत कम्पनी तथा एपहरू सरकारी निकायमा दर्ता भएका छन् । यस्ता कम्पनीले राइडर तथा यात्रु दुवै पक्षको बीमा गरेका हुन्छन् ।
पठाओले सेवा लिइरहेको अवस्थामा दुर्घटना भई घाइते भए राइडर र यात्रुलाई १ लाख रुपैयाँसम्म र निधन नै भए क्षतिपूर्तिबापत १० लाख रुपैयाँसम्मको बीमा सुविधाको व्यवस्था गरेको पठाओका बजार अधिकृत सुरक्षा हमालले जानकारी दिइन् ।
‘आफूसँग मोटरसाइकल भएपछि अन्य कुनै लगानीविना नै काम गरेर आम्दानी गर्न सकिने भएपछि राइड शेयरिङमा युवाको आकर्षण बढेको हो । काम पाउन कसैको भनसुन वा चिनजानको मान्छे पनि नचाहिने हुँदा सामान्य मान्छेले पनि यो काम गर्न सक्छ,’ हमालले भनिन् ।
हमालका अनुसार राइड शेयरिङ राइडर मात्र होइन, सेवाग्राही पनि यस्तो सेवामा आकर्षित छन् । ट्याक्सी र बाइक गरी पठाओमा मात्रै हालसम्म करीब २ लाख राइडर दर्ता भइसकेका छन् । पठाओ एप ५० लाखपटक डाउनलोड भएको छ । हालसम्म करीब ४० लाखले पठाओको सेवा लिएको हमालले बताइन् ।
राइड शेयरिङ प्लेटफर्म उपलब्ध गराउँदै आएको इनड्राइभले पनि नेपालको बजारमा राम्रो गरिरहेको छ । यो कम्पनी गत वैशाखा नेपालको सम्बद्ध निकायमा दर्ता भएको हो । यसअघि यसले काठमाडौं, पोखरा, भरतपुरलगायत शहरमा अनौपचारिक ढंगले सेवा दिँदै आएको थियो ।
नेपालमा पहिलोपल्ट राइड शेयरिङ सेवा शुरू गरेको टुटल कर नतिरेको भन्दै कारबाहीमा परेपछि केही सुस्तायो । स्वामत्वि परिवर्तनपछि टुटलको सेवा पुन: सञ्चालनमा आएको छ । सन् २०२३ को सेप्टेम्बर १ बाट यो एप पुन: डाउनलोड गर्न सकिने भएको हो । अहिले टुटल व्यवस्थापनको जिम्मा जापले लिएको छ । जाप काठमाडौंमा डेलिभरी सेवा उपलब्ध गराउने कम्पनी हो ।
अन्य राइड शेयरिङ कम्पनी पनि चलिरहेका छन् । यो सेवा केही वर्षअघिदेखि नै सञ्चालनमा आए पनि यसलाई कानूनी परिभाषा दिने काम सन् २०२४ को जनवरीसम्म भएको थिएन । औद्योगिक व्यवसाय ऐन संशोधन गरी राजपत्रमा प्रकाशित भएर यसलाई सेवा व्यवसायको दायरामा ल्याएपछि मात्र राइड शेयरिङले कानूनी मान्यता पाएको हो । यसअघि पाटन उच्च अदालतले सन् २०२० मै यो सेवा नियमन गर्न आदेश दिएको थियो ।
यो सेवा सञ्चालनमा अझै पनि कानूनी अन्योल बाँकी नै छ । यातायात व्यवस्थापन ऐनले निजी नम्बर प्लेटको सवारीसाधनलाई सार्वजनिक यातायात सेवामा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । तर, यसमा परिवर्तन नगरी हाल निजी सवारीसाधनबाटै राइड शेयरिङ सेवा सञ्चालनमा छ । कानूनी अन्योलका अतिरिक्त अफलाइन राइड शेयरिङको नाममा यात्रु समस्यामा पर्ने गुनासो रहेको हमालको भनाइ छ । ‘अनलाइनमार्फत मात्र सेवा लिनु उपयुक्त हुन्छ,’ उनले भनिन् ।