काठमाडौं। आर्थिक तथा व्यावसायिक वातावरण एवं लगानी प्रवर्द्धनका लागि सरकारले ल्याएका अध्यादेश सकारात्मक र दूरगामी महत्त्वको रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । सार्वजनिक सेवा सुधार गर्दै व्यावसायिक वातावरण र लगानी अभिवृद्धिका लागि कानूनमा संशोधन गर्न सरकारले ल्याएको अध्यादेश स्वागतयोग्य रहेको चेम्बरले बताएको हो ।
‘सार्वजनिक सेवा सुधार र आर्थिक तथा व्यावसायिक वातावरण एवं लगानी अभिवृद्धि गर्न अध्यादेश आएको छ, यसले मुलुकको आर्थिक वातावरणमा सुधार र लगानी अभिवृद्धि हुने विश्वास छ,’ मंगलवार चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अर्थतन्त्र सुधार एवं लगानीमैत्री वातावरणका लागि चेम्बरले कानूनी पाटो सुधार गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएको समेत जनाएको छ । वर्तमान अर्थतन्त्रको अवस्था सुधार गर्न सरकार प्रतिबद्ध रहेको देखिएको चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले बताए ।
रकम फिर्ता लैजान चाहने विदेशी लगानीकर्ताको प्रस्ताव ७ दिनमै स्वीकृत हुने अध्यादेशमा उल्लिखित व्यवस्थाको चेम्बरले स्वागत गरेको छ । यसले मुलुकभित्र लगानीको राम्रो वातावरण रहेको सन्देश जाने अध्यक्ष अग्रवालले बताए । अध्यक्ष अग्रवालले भने, ‘चेम्बरले अन्तरराष्ट्रिय लगानीकर्ताका लागि लगानी सम्मेलनका क्रममा उठाएको सहज प्रवेश तथा बाहिरिने विषय सम्बोधन भएको छ ।’
सूचना प्रविधि उद्योगले विदेशमा कार्यालय खोल्न र लगानी गर्न सक्ने अध्यादेशमा उल्लिखित प्रावधान यस क्षेत्रको विकासका लागि कोशेढुंगा भएको चेम्बरको ठहर छ । आर्थिक तथा व्यावसायिक वातावरण सुधार एवं लगानी अभिवृद्धि सम्बन्धी अध्यादेशबाट विभिन्न ११ र सुशासन प्रर्वद्धन तथा सार्वजनिक सेवा सम्बन्धी अध्यादेशबाट १३ कानून संशोधन हुनु अर्थतन्त्रको दिगो विकासका लागि महत्त्वपूर्ण भएको चेम्बरले बताएको छ ।
जग्गाबाहेक स्थिर सम्पत्ति वा सम्झौता धितो राखेर पनि ऋण लिन सकिने व्यवस्थाले अर्थतन्त्र र वित्तीय क्षेत्र चलायमान बनाउन सहयोग पुग्ने चेम्बरले विश्वास लिएको छ । बैंक तथा वित्तीय क्षेत्रमा अधिक तरलता रहेका सन्दर्भमा अध्यादेशमा गरिएका प्रावधानले केही सहज हुने अपेक्षा गरिएको छ ।