काठमाडौं । माघे संक्रान्तिलाई लक्ष्य गर्दै कालीमाटी फलफूल तथा तरकारी बजारमा महीना दिनमै करीब १ हजार ५०० मेट्रिक टन कन्दमूल भित्रिएको छ । तरुल, सखरखण्ड र पिँडालु गरी गत पुसमा उक्त परिमाणमा कन्दमूल भित्रिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको हो ।
तरुल, सखरखण्ड, पिँडालु जस्ता कन्दमूलको ठूलो हिस्सा पुस महीनामै बजारमा आउँछ । तरुल माघे संक्रान्तिअघि आउने गरे पनि पिँडालु र सखरखण्डको सानो परिमाण भने ठूलो एकादशी आसपासमा पनि बजारमा आउने व्यापारी बताउँछन् ।
समितिले उपलब्ध गराएको तथ्यांकअनुसार पोहोर पुसको तुलनामा यस वर्ष पुसमा कालीमाटी आउने कन्दमूल झन्डै १ हजार १०० मेट्रिक टनले घटेको देखिन्छ । अघिल्लो वर्ष पुसमा २ हजार ६४८ मेट्रिक टन कन्दमूल कालीमाटी भित्रिएको थियो ।
समितिका सूचना अधिकारी विनय श्रेष्ठले यस वर्ष स्रोतमै तरुल, सखरखण्ड र पिँडालु उत्पादन घटेकोले कालीमाटीमा कम भित्रिएको बताए । उनका अनुसार कालीमाटीमा सर्लाही, सुनसरी, धादिङ, दाङ, चितवन लगायत जिल्लाबाट धेरै मात्रामा कन्दमूल आयात हुने गर्छ । भारतबाट पनि आयात हुने गरेको छ । ‘तर यस वर्ष तराईका जिल्लाबाट अघिल्ला वर्षको तुलनामा कम मात्रामा कन्दमूल भित्रिएको छ,’ उनले भने ।
समितिको तथ्यांकअनुसार यस वर्ष पुसमा १ हजार १३४ मेट्रिक टन तरुल, १३९ मेट्रिक टन पिँडालु र २८३ मेट्रिक टन सखरखण्ड आयात भएको छ । त्यसमध्ये सबैभदा धेरै सर्लाहीबाट ५१५ मेट्रिक टन कन्दमूल आयात भएको छ । त्यसैगरी धादिङबाट ११५, सुनसरीबाट १४३, चितवनबाट ४२, दाङबाट ४४ र छिमेकी मुलुक भारतबाट ३५२ मेट्रिक टन कन्दमूल आयात भएको देखिएको छ ।
समितिको दैनिक मूल्य सूचीअनुसार यस वर्ष कन्दमूलको मूल्य पछिल्लो ८ वर्षयताकै सबैभन्दा महँगो छ । समितिका अनुसार २०७४ पुसमा तरुलको औसत थोक मूल्य प्रतिकिलो ३७ रुपैयाँ थियो । यस वर्ष करीब ७९ रुपैयाँ किलो छ । यसबीचमा पिँडालुको मूल्य प्रतिकिलो करीब ४७ रुपैयाँ किलो बढेर ८३ रुपैयाँ पुगेको छ । त्यसैगरी सखरखण्डको मूल्य पनि प्रतिकिलो ५८ रुपैयाँबाट बढेर ८१ रुपैयाँ पुगेको छ । यी तिनओटै कन्दमूलको खुद्रा मूल्य बजारमा १०० रुपैयाँभन्दा माथि नै छ ।
यो मूल्यवृद्धिलाई स्वाभाविक मान्नुपर्ने कालीमाटीका व्यवसायी गीताप्रसाद आचार्य बताउँछन् । यसबीचमा सबै मल, बीउबिजन, ढुवानी भाडा लगायत सबै कुराको मूल्य बढेकोले सोहीअनुसार कन्दमूलको मूल्य बढ्नु पनि स्वाभाविक हुने उनले बताए ।