राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आर्थिक वर्ष (आव) २०८०/८१ मा ३ दशमलव ८७ प्रतिशत आर्थिक वृद्धि भएको अनुमान छ । कृषिक्षेत्रको वृद्धि ३ दशमलव शून्य ५ प्रतिशत, उद्योग क्षेत्रको १ दशमलव २५ प्रतिशत र सेवाक्षेत्रको वृद्धि ४ दशमलव ५० प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयको अनुमान छ ।
आव २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवाक्षेत्रको अंश क्रमश: २४ दशमलव १० प्रतिशत, १३ दशमलव ०० प्रतिशत र ६२ दशमलव ९० प्रतिशत रहेको छ । आव २०८०/८१ मा कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको ७ दशमलव ६१ प्रतिशत पुगेको छ । कुल स्थिर पूँजी निर्माण र कुल राष्ट्रिय बचतको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात क्रमश: २४ दशमलव ४५ प्रतिशत र ३६ दशमलव १५ प्रतिशत रहेको छ । आव २०८०/८१ मा कुल विद्युत्को जडितक्षमता वृद्घि भई ३,१५६ दशमलव ९६ मेगावाट पुगेको छ ।
आव २०८०/८१ मा कुल पर्यटक आगमन संख्यामा उल्लेख्य वृद्धि भएको छ । समीक्षा वर्षमा पर्यटक आगमन संख्या ११ लाख २८ हजार २८४ रहेको छ । आव २०७९/८० मा उक्त संख्या ८ लाख ६२ हजार ९९२ रहेको थियो ।
अर्थतन्त्रको स्वस्थताको अर्को महत्त्वपूर्ण सूचकका रूपमा रहेको बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३ दशमलव शून्य प्रतिशतले र निजीक्षेत्रमा प्रवाहित कर्जा ५ दशमलव ८ प्रतिशतले बढेको छ । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप रू. ६४ खर्ब ५२ अर्ब र निजीक्षेत्रमा प्रवाहित कर्जा रू. ५० खर्ब ७४ अर्ब पुगेको छ ।
अर्थतन्त्रको समग्रतालाई चित्रण गर्ने अर्को सूचक मुद्रास्फीतिमा २०८१ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ५७ प्रतिशत रहेको छ । जबकि २०८० असार महीनामा यस्तो मुद्रास्फीति ७ दशमलव ४४ प्रतिशत रहेको थियो । आव २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ४४ प्रतिशत रहेको छ । अघिल्लो आवमा यस्तो मुद्रास्फीति ७ दशमलव ७४ प्रतिशत रहेको थियो ।
भौगोलिक क्षेत्र अनुसार आव २०८०/८१ मा काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ९९ प्रतिशत, तराईको ४ दशमलव ८२ प्रतिशत, पहाडको ५ दशमलव ७८ प्रतिशत र हिमालको ६ दशमलव ८६ प्रतिशत रहेको छ । अघिल्लो आव उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमश: ७ दशमलव ५५ प्रतिशत, ८ दशमलव शून्य शून्य प्रतिशत, ७ दशमलव ५६ प्रतिशत र ७ दशमलव १२ प्रतिशत रहेको थियो ।
देशको अर्थतन्त्रको ऐनाका रूपमा मानिएको बृृहत् आर्थिक वर्गीकरण अनुसार आर्थिक वर्ष २०८०/८१ मा भएको कुल निर्यातमा मध्यवर्ती र अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमश: ५६ दशमलव ४ प्रतिशत र ४२ दशमलव ९ प्रतिशत रहेको छ ।
नेपाल र भारतको उपभोक्ता मुद्रास्फीतिको तुलना गर्दा २०८१ असार महीनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलव ५७ प्रतिशत रहेको छ । सन् २०२४ जुलाई महीनामा भारतको यस्तो मुद्रास्फीति ३ दशमलव ५४ प्रतिशत रहेको छ ।
अर्थतन्त्रको अर्को महत्त्वपूर्ण सूचकका रूपमा रहेको बाह्य क्षेत्रको विश्लेषण गर्दा आयात १ दशमलव २ प्रतिशतले र निर्यात ३ दशमलव शून्य प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६ दशमलव १ प्रतिशतले र निर्यात २१ दशमलव ४ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा फलाम तथा तिनका उत्पादनको निर्यातमा ६० दशमलव ८ प्रतिशतले वृद्धि भई रू. १७ अर्ब ४० करोड पुग्न गएको छ । समीक्षा अवधिमा यार्नको निर्यातमा १ दशमलव ६ प्रतिशतले ह्रास आई रू. ११ अर्ब १ करोडमा सीमित भएको छ । ऊनी गलैंचाको निर्यातमा समीक्षा अवधिमा ८ दशमलव १ प्रतिशतले ह्रास आई रू. १० अर्ब ५७ करोडमा झरेको छ । तयारी पोशाकको निर्यातमा समीक्षा अवधिमा ९ दशमलव १ प्रतिशतले वृद्धि भई रू. ८ अर्ब ९६ करोड पुगेको छ । समीक्षा अवधिमा जुट तथा जुटका उत्पादनको निर्यातमा ७ दशमलव ६ प्रतिशतले ह्रास आई रू. ७ अर्ब ४ करोडमा सीमित भएको छ ।
यसै गरी अर्को प्रमुख निर्यात गरिने ऊनी फेल्टको निकासीमा समीक्षा अवधिमा ८ दशमलव १ प्रतिशतले ह्रास आई रू. ४ अर्ब ८० करोडमा सीमित भएको छ । समीक्षा अवधिमा जुसको निकासीमा ३१ दशमलव ३ प्रतिशतले वृद्धि भई रू. ८ अर्ब ७१ करोड पुगेको छ । पामतेलको निर्यातमा ६९ दशमलव १ प्रतिशतले ह्रास आई रू. ६ अर्ब ३३ करोडमा सीमित भएको छ ।
कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान प्राप्त गरिरहेको उत्पादन अलैंचीको निर्यातमा ४ दशमलव १ प्रतिशतले ह्रास आई रू. ७ अर्ब ९४ करोडमा झरेको छ । यसै गरी कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान प्राप्त गरिरहेको अर्को उत्पादन चियाको निर्यातमा पनि समीक्षा अवधिमा ७ दशमलव ९ प्रतिशतले ह्रास आई रू. ३ अर्ब ६२ करोडमा सीमित भएको छ । यसै गरी अदुवाको निर्यातमा ३ दशमलव ७ प्रतिशतले ह्रास आई रू. १ अर्ब १७ करोडमा सीमित भएको छ ।
पैठारीतर्फ समग्रमा आव २०८०/८१ मा अघिल्लो आवको तुलनामा पेट्रोलियम पदार्थमा २ दशमलव ९ प्रतिशतले ह्रास आई रू. ३०० दशमलव ५४ अर्बमा झरेकोे छ । समीक्षा अवधिमा फलाम तथा स्टील र तिनका उत्पादनहरूको आयातमा ११ दशमलव ८ प्रतिशतले ह्रास आई रू. १४७ दशमलव ४८ अर्बमा सीमित भएको छ । मेशिनरी तथा पार्ट्समा ८ दशमलव ८ प्रतिशतले वृद्धि भई रू. १०९ दशमलव ८९ अर्ब पुगेको छ । कच्चा भटमास तेलको आयातमा ६२ दशमलव ३ प्रतिशतले ह्रास आई रू. १३ दशमलव ४१ अर्बमा झरेको छ । समीक्षा अवधिमा औषधिको आयातमा ५ दशमलव ६ प्रतिशतले ह्रास आई ४२ दशमलव १३ अर्बमा झरेको छ भने इलेक्ट्रिक र इलेक्ट्रोनिक्स सामग्रीहरूमा ७ दशमलव ३ प्रतिशतले वृद्धि भई रू. ६९ दशमलव ९० अर्ब पुगेको छ । यातायातका साधन र तिनका पार्टपुर्जामा ६५ दशमलव शून्य प्रतिशतले वृद्धि भई रू. ८५ दशमलव ७५ अर्ब पुगेको छ । कच्चा पाम तेलको आयातमा ५९ दशमलव १ प्रतिशतले ह्रास आई रू. १० अर्ब ६० करोडमा सीमित भएको छ । अन्नको आयातमा १९ दशमलव १ प्रतिशतले ह्रास आई रू. ४५ दशमलव ७९ अर्बमा सीमित भएको छ । समीक्षा अवधिमा तयारी पोशाकको आयातमा ३५ दशमलव ६ प्रतिशतले वृद्धि भई रू. ३५ दशमलव १६ अर्ब पुगेको छ । दूरसञ्चारका सामग्रीको आयातमा शून्य दशमलव ८ प्रतिशतले वृद्धि भई रू. ३६ दशमलव ५८ अर्ब पुगेको छ । सुनको आयातमा ४० दशमलव ९ प्रतिशतले ह्रास आई रू. २५ दशमलव ९५ अर्बमा झरेको छ ।
देशको अर्थतन्त्रको ऐनाका रूपमा मानिएको बृृहत् आर्थिक वर्गीकरण अनुसार आव २०८०/८१ मा भएको कुल निर्यातमा मध्यवर्ती र अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमश: ५६ दशमलव ४ प्रतिशत र ४२ दशमलव ९ प्रतिशत रहेको छ भने पूँजीगत वस्तुको अनुपात ० दशमलव ७ प्रतिशत रहेको छ । अघिल्लो वर्षमा भएको कुल निर्यातमा मध्यवर्ती, पूँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमश: ५४ दशमलव ७ प्रतिशत, शून्य दशमलव ७ प्रतिशत र ४४ दशमलव ६ प्रतिशत रहेको थियो ।
समीक्षा वर्षमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ४८ दशमलव ८ प्रतिशत, पूँजीगत वस्तुको ९ दशमलव ७ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ४१ दशमलव ५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यी अनुपात क्रमश: ५३ दशमलव २ प्रतिशत, ८ दशमलव ४ प्रतिशत र ३८ दशमलव ३ प्रतिशत रहेका थिए ।
बाह्य प्रवासन प्रतिलाख ४ हजार ५ सय ६२ रहेको छ । यसले भविष्यमा नेपालमा भीषण जनसांख्यिक संकट देखापर्नेछ । जनसंख्या वृद्धिको नीति अंगीकार नगर्ने हो भने सारा सकारात्मक आर्थिक सूचकहरू भविष्यमा उठ्नै नसक्ने गरी ढल्न जाने देखिएको छ ।
वैदेशिक व्यापारको अर्को पक्ष सेवाव्यापारतर्फ आव २०८०/८१ मा खुद सेवा आय रू. ५५ अर्ब ८६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय रू. ७९ अर्ब ८९ करोडले घाटामा रहेको थियो । समीक्षा वर्षमा सेवा खाताअन्तर्गत भ्रमण आय ३२ दशमलव १ प्रतिशतले वृद्धि भई रू. ८२ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय रू. ६२ अर्ब ३० करोड रहेको थियो । समीक्षा वर्षमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ३१ दशमलव १ प्रतिशतले वृद्धि भई रू. १ खर्ब ८९ अर्ब ४३ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रू. १२५ अर्ब १३ करोड रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय रू. १ खर्ब ४४ अर्ब ५२ करोड रहेकोमा शिक्षातर्फको व्यय रू. १ खर्ब ४२ करोड रहेको थियो ।
नेपाली अर्थतन्त्रको जीवनरेखाका रूपमा रहेको विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६ दशमलव ५ प्रतिशत र अमेरिकी डलरमा १४ दशमलव ५ प्रतिशतले बढेको छ । आव २०८०/८१ मा विप्रेषण आप्रवाह १६ दशमलव ५ प्रतिशतले वृद्धि भई रू. १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३ दशमलव २ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४ दशमलव ५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव ९ प्रतिशतले बढेको थियो ।
समग्र अर्थतन्त्रको स्वस्थता मापन गर्ने अर्र्कोे सूचक शोधनान्तर स्थिति रू. ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रू. २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो । गत आवमा कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको देखिन्छ । । उक्त सञ्चिति १३ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
आव २०८०/८१ मा चालू खाता रू. २ खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालू खाता रू. ४६ अर्ब ५७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड ६ लाखले घाटामा रहेको चालू खाता समीक्षा वर्षमा १ अर्ब ६६ करोडले बचतमा रहेको छ । समीक्षा वर्षमा पूँजीगत ट्रान्सफर २२ दशमलव ९ प्रतिशतले कमी आई रू. ५ अर्ब ८१ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रू. ८ अर्ब ४० करोड कायम भएको छ । समीक्षा वर्षमा शोधनान्तर स्थिति रू. ५ खर्ब ०२ अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रू. २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो ।
२०८० असार मसान्तमा रू. १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३२ दशमलव ६ प्रतिशतले वृद्घि भई २०८१ असार मसान्तमा रू. २० खर्ब ४१ अर्ब १० करोड कायम भएको छ । २०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमश: ३५ दशमलव ८ प्रतिशत, १०८ दशमलव ६ प्रतिशत र २९ दशमलव ३ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपात क्रमश: २८ दशमलव ८ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।
२०८१ असार मसान्तमा मुलुकको वैदेशिक सम्पत्ति रू. २१ खर्ब ७६ अर्ब ९८ करोड तथा दायित्व रू. १८ खर्ब ९० अर्ब ६० करोड रहेको छ । फलस्वरूप, खुद वैदेशिक सम्पत्ति र दायित्वको स्थिति रू. २ खर्ब ८६ अर्ब ३८ करोडले बचतमा रहेको छ ।
आव २०८०/८१ मा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति रू. ३ खर्ब ८२ अर्ब ८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति रू. ४ खर्ब ९१ अर्ब ७८ करोडले घाटामा रहेको थियो ।
आव २०७९/८० मा नेपाल सरकारको कुल खर्च रू. १४ खर्ब २१ अर्ब ३३ करोड रहेकोमा आव २०८०/८१ मा यस्तो खर्च रू. १४ खर्ब ०८ अर्ब २ करोड रहेको छ जसमा चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाबापतको खर्च क्रमश: रू. ९ खर्ब ५१ अर्ब ६४ करोड, रू.१ खर्ब ९१ अर्ब ७५ करोड र रू. २ खर्ब ६४ अर्ब ६३ करोड रहेको छ । आव २०८०/८१ मा राजस्व संकलन रू. १० खर्ब ५८ अर्ब ९० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन रू. ९ खर्ब ५७ अर्ब ३५ करोड रहेको थियो ।
आव २०८०/८१ मा नेपाल सरकारले रू. २ खर्ब ३४ अर्ब ४२ करोड आन्तरिक ऋण परिचालन गरेको छ भने रू. १ खर्ब ८२ अर्ब ६२ करोड साँवा भुक्तानी गरेको छ । यस अवधिमा सरकारले रू. १ खर्ब २३ अर्ब ६१ करोड बाह्य ऋण परिचालन गरेको छ । २०८१ असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी ऋण रू.२४ खर्ब ३३ अर्ब २४ करोड पुगेको छ । यसमध्ये, बाह्य ऋण रू. १२ खर्ब ५२ अर्ब ३४ करोड र आन्तरिक ऋण रू. ११ खर्ब ८० अर्ब ९० करोड रहेको छ । यसरी आव २०८०/८१ मा कुल सार्वजनिक ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४२ दशमलव ६५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४२ दशमलव ९९ प्रतिशत रहेको थियो
आव २०८०/८१ मा कुल आन्तरिक कर्जा ६ दशमलव १ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त कर्जा ८ दशमलव ८ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ४ दशमलव शून्य प्रतिशतले बढेको छ । समीक्षा वर्षमा मौद्रिक क्षेत्रको निजीक्षेत्रमाथिको दावी ६ दशमलव १ प्रतिशतले बढेको छ ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप रू. ७ खर्ब ४२ अर्ब ३७ करोड प्रतिशतले बढेको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजीक्षेत्रमा प्रवाहित कर्जा रू.२ खर्ब ७६ अर्ब ९४ करोड ले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा रू. १ खर्ब ७५ अर्ब ९४ करोड बढेको थियो ।
समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजीक्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव ३ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव ७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमश: ६२ दशमलव ७ प्रतिशत र ३७ दशमलव ३ प्रतिशत रहेको थियो ।
परन्तु समग्र आर्थिक सूचकांकहरू अनुकूल हुँदै जाँदा पनि जानसांख्यिक सूचकांकहरूले भने खतरनाक अन्धकारको संकेत गरेको छ । जनसंख्यालाई स्थिर राख्न पनि कम्तीमा कुल प्रजननदर प्रतिमहिला २ दशमलव १ हुनुपर्नेमा यो दर नेपालमा १ दशमलव ९२ रहेको छ । कुल पुनरुत्पादन दर प्रतिबच्चा पाउन योग्य महिला र छोरी अनुपात पनि शून्य दशमलव ७३ प्रतिशत रहेको छ । यस्तै महिलाको बच्चा जन्माउने औसत वर्ष २७ दशमलव ४ वर्ष रहेको छ । यता आन्तरिक प्रवासन दर प्रतिलाख २ हजार २ सय ८६ रहेको छ जबकि बाह्य प्रवासन प्रतिलाख ४ हजार ५ सय ६२ रहेको छ । यी तथ्यांकले भविष्यमा नेपालमा भीषण जनसांख्यिक संकट देखापर्ने स्पष्ट हुन गएको छ । उपर्युक्त परिस्थितिमा देशले जनसंख्या वृद्धिको नीति अंगीकार नगर्ने हो भने सारा सकारात्मक आर्थिक सूचकहरू भविष्यमा उठ्नै नसक्ने गरी ढल्न जाने र मुलुकको अस्तित्व नै खतरामा पर्ने सम्भावना देखिएको छ । आर्थिक नीति र जनसांख्यिक नीतिबीच समन्वय राख्न नसक्दा विश्वमा आर्थिक महाशक्तिहरू समेत संकटमा पर्न थालेको सन्दर्भमा नेपाल पनि त्यही दिशामा जान थालेको छ ।
(तथ्यांक स्रोत : नेपाल राष्ट्र बैंक, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र राष्ट्रिय तथ्यांक कार्यालय)
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।