काठमाडौं । अर्थमन्त्रालयले सय दिनको कार्यक्रममा उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने विषय समावेश गर्नु सकारात्मक भएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ ।
महासंघले आर्थिक सुधारका लागि समन्वय गर्न उच्चस्तरीय आयोगको माग राख्दै आइरहेको थियो । अर्थतन्त्र सम्वद्ध क्षेत्रबीच समन्वयको अभाव, निजी क्षेत्रको नीति निर्माण तहमा सीमित पहुँच र तत्कालीन एवं दीर्घकालीन रुपमा अर्थतन्त्र चलायमान बनाइ दिगो आर्थिक विकास हासिल गर्नु पर्ने अहिलेको आवश्यकता भएको भन्दै महासंघले आयोगको प्रस्ताव राखेको थियो । भने सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ बजेटको नीति तथा कार्यक्रममा पनि समावेश गरेको थियो ।
महासंघको प्रस्ताव बमोजिम आयोगलाई सरकारले प्राथमिकता दिएको भन्दै महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले एक विज्ञप्ति जारी गरी सरकार प्रति आभार व्यक्त गरेका छन् ।
'अर्थमन्त्रालयले सय दिनको प्राथमिकतामा समावेश गरेकोमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल सहित मन्त्रालयलाई महासंघ धन्यवाद ज्ञापन गर्दछ,' अध्यक्ष ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
महासंघले मितव्ययी रुपमा आयोग सञ्चालनको ढाँचा पनि प्रस्ताव गरेको छ ।