बुद्धिराज वज्राचार्य
पूर्वविनाविभागीय मन्त्री
ललितपुर विकासको आधार : पर्यटन र हस्तकला उद्योग
ललितपुरको आर्थिक विकासलाई यहाँले कसरी हेर्नुभएको छ ?
ललितपुरको आर्थिक विकासमा लामो समयदेखि मेरो संलग्नता रहँदै आएको छ । मैले २०३२ सालदेखि ०४२ सालसम्म उद्योग वाणिज्य सङ्घ ललितपुरको उपाध्यक्ष हुँदै अध्यक्षको जिम्मेवारी वहन गरेँ । म २०४५ सालदेखि हालसम्म वरिष्ठ सल्लाहकारका रूपमा छु र मैले यस जिल्लाको आर्थिक–सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर पाएँ । पटकपटक गरी मैले २१ वर्षसम्म नगर प्रमुखका रूपमा ललितपुरको सेवा गरेको हुँ । यसर्थ, समग्र रूपमा हेर्ने हो भने ललितपुर कला, संस्कृति र सम्पदाले भरिभराऊ निकै पुरानो जिल्ला हो । यस क्षेत्रको कला, संस्कृति र हस्तकलाको व्यावसायिक विकासले यहाँको आर्थिक विकासमा योगदान पुगेको छ । तर, यी क्षेत्रको व्यावसायिक विस्तार आवश्यक मात्रामा हुन सकेको छैन । खासगरी राजनीतिक खिचातानीका कारण यहाँको विकासमा बाधा पुगेको छ । हामीबीच समन्वयको कमी छ । यद्यपि ललितपुर उद्योग वाणिज्य सङ्घले जिल्लाको विकासका लागि देश–विदेशका विभिन्न सङ्घसंस्थासँग समन्वय गरी काम गर्दै आएको छ । म नगरप्रमुख हुँदा चीनको हानचाउ र छिन्दु नगरपालिकासँग विकास कार्यमा सहकार्य गर्ने सहमति भएको थियो । हानचाउसँग अहिले पनि सङ्घको सहकार्य निरन्तर चलिरहेकै छ । हानचाउबाट तालीम लिएर आएका पदाधिकारीले यहाँको हस्तकलाको विकासमा मद्दत गर्दै आएका छन् । यतिले मात्र पुग्दैन, अन्य मुलुकसँग पनि यस्ता सहकार्य गर्न सङ्घले प्रयत्न जारी राख्नुपर्छ । ललितपुर नगरपालिकासँग अन्य कुनै आर्थिक स्रोत छैन । मेरो पालामा नै चुङ्गीकर लागू गरियो । यसले यहाँ कला, सांस्कृतिक सम्पदा संरक्षण तथा आर्थिक विकासमा सहयोग पुगेको छ । यस्ता खालका स्रोतको पनि विकास गर्नुपर्छ ।
हस्तकलाको जिल्ला भनेर पहिचान बनाएको ललितपुरको विकासमा यस उद्योगको योगदान कस्तो छ ?
हस्तकलाका लागि ललितपुर धनी जिल्ला हो । यहाँको हस्तकलाको व्यावसायिक विकासले जिल्लाको मात्र नभई देशको आर्थिक वृद्धिमा योगदान गरेको छ । यहाँ काष्ठ, धातु, सुनचाँदी, माटो, पराल, बाँस तथा बेतबाँस, कपडालगायतसँग सम्बन्धित हस्तकलाका घरेलु तथा साना उद्योग असङ्ख्य मात्रामा सञ्चालित छन् । त्यसबाट लाखौं ललितपुरवासी उद्यमी र स्वरोजगार बनेका छन् । यहाँको हस्तकला उत्पादन विभिन्न देशमा निर्यात हुँदै आएको छ । यसबाट राज्यले राजस्व पाएको छ । पर्यटन विकासमा समेत यसले सहयोग पुगेको छ । जिल्लाको बुङमती गाविसलाई ‘हस्तकला ग्राम’का रूपमा विकास गर्ने योजना पनि अघि बढेको छ । सरकारले जग्गा उपलब्ध गराएर यसको विकासमा सहयोग गर्ने घोषणा केही अघि नै गरे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । यस्ता कार्यमा भने राज्यले अग्रसर भएर काम गर्नुपर्छ ।
जिल्लामा पर्यटकीय विकासका लागि के कस्ता पहलको आवश्यकता छ ?
विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रबाहेक अन्य ग्रामीण क्षेत्रको समेत पर्यटकीय विकास गर्न सकिन्छ । जिल्लाको केही ग्रामीण क्षेत्र एकदमै दुर्गमसमेत छ । ती क्षेत्रको विकास गर्न राज्यले नै लगानी गर्नुपर्छ । म नगरप्रमुख हुँदा टीकाभैरव हुँदै ९० किलामिटर दूरीमा पर्ने हेटौंडा जोड्ने सडक निर्माणको योजना बनेको थियो । राजा महेन्द्रको पालामा पनि तराईसँग जोड्ने बाटो खोल्ने पहल भएको थियो । अहिले पनि यसको सान्दर्भिकता उत्तिकै छ । अहिले भट्टेडाँडासम्म गाडी चलेको छ, त्यहाँबाट आधा घण्टा गाडीमा जाँदा माल्टा पुगिन्छ । माल्टाबाट ६/७ किलोमिटरको दूरीमा हेटौंडा पुगिन्छ । त्यहाँ एउटा पुलको अभाव छ । यदि त्यो बाटो हुँदै हेटौंडा जोड्ने हो भने तराईसँगको व्यापार पनि बढ्ने देखिन्छ । यसले पर्यटक गतिविधि वृद्धिमा सकारात्मक योगदान दिनसक्ने भएकाले यसतर्फ राज्यको ध्यान जानु जरुरी छ । लेले, गोटीखेल, मानीखेल, इकुडोल, माझखण्डजस्ता सुन्दर क्षेत्र जिल्लामा छन् । माझखण्डबाट मकवानपुरलगायत तराईको विशाल फाँट हेर्न सकिन्छ । यहाँ एकैपटक १० ओटा हेलिप्याड बनाउन सकिने स्थान छ । होम स्टे, रिसोर्ट, ट्रेकिङ रूट, भ्यू टावरलगायत विकास गरेर पर्यटकलाई राम्रै सङ्ख्यामा आकर्षित गर्न सकिन्छ ।
जिल्लामा पर्यटनको नयाँ सम्भावनाका क्षेत्र केके हुन सक्छन् ?
पछिल्लो समय नेपालमा साहसिक खेलको प्रचलन बढेको छ । प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, साइक्लिङ, ट्रेकिङको राम्रो सम्भावना यहाँ पनि छ । केबलकार पनि सञ्चालन गर्न सकिन्छ । डाँडाडाँडामा सांस्कृतिक महत्वका मन्दिर, गुम्बा, विहारहरू स्थापना गरी त्यहाँसम्म स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न सकिन्छ । यसो गर्न सके ललितपुरले मात्र नभई सिङ्गो राजधानीले त्यसबाट प्रत्यक्ष लाभ लिन सक्नेछ ।
दिलेन्द्रराज श्रेष्ठ
संस्थापक अध्यक्ष
पाटन पर्यटन विकास संस्था
पर्यटकीय पूर्वाधारको विकास गर्नु आवश्यक छ
नेपालको राजधानी काठमाडौँ उपत्यकाको प्रमुख तीन शहरमध्ये सबैभन्दा पुरानो मानिएको पाटन शहर ललितकलाका निमित्त विश्वप्रसिद्ध छ । त्यसैले नेपालको राजधानी काठमाडौंको दक्षिण सिमानासँग जोडिएको यस शहरलाई ललितपुर पनि भनिएको हो । ललितपुर (पाटन) शहर करीब २ हजार वर्ष पुरानो मानिन्छ । यस शहरको चारै दिशामा निर्मित बौद्ध स्तुपहरू सम्राट अशोककालीन मानिन्छन् । पुराताŒिवक प्रमाण भेटिएको खण्डमा यस शहरको इतिहास अझ ३ सय वर्ष पुरानो हुन गई इशापूर्व तेस्रो शताब्दीमा पुग्न जान्छ ।
नेपालमा विदेशी पर्यटक आउन शुरू भएदेखि नै पाटनमा पर्यटकले पाइला हाले होलान् भन्ने अनुमान गर्न सकिन्छ । राजधानीसँग जोडिएको शहर भएका कारणले पनि काठमाडौं आउने पर्यटकमध्ये अधिकांशले पाटनको पनि दृश्यावलोकनको आनन्द लिए होलान् भन्दा अत्युक्ति नहोला । त्यसमाथि हस्तकलाको निमित्त यस शहरले पाएको प्रसिद्धि तथा यहाँको जनताको मौलिक जीवनशैलीले पनि पर्यटकलाई आकर्षित गर्न थप मद्दत पु¥याएको छ । यी सबै हुँदाहुँदै पनि पाटनमा पर्यटकले बिताउने समयलाई नियाल्दा सन्तोष गरिहाल्ने अवस्था भने छैन । तर, विगतका केही वर्षहरूमा पर्यटनसँग सम्बन्धित पूर्वाधारहरूको विकासमा निजीक्षेत्रबाट धेरै प्रयास भएको छ । काठमाडौं उपत्यकाभित्रका विश्वसम्पदा क्षेत्रको सूचीमा परेको पाटन दरबार संरक्षित स्मारक क्षेत्रलाई केन्द्रविन्दु बनाएर समग्रमा ललितपुर जिल्लालाई नै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नु आजको आवश्यकता हो । यसो गर्न सकिए जिल्लाकै आर्थिक विकासमा ठोस योगदान पु¥याउन सकिने सम्भावना टड्कारो रूपमा देखिएको छ ।
जुन ठाउँमा पर्यटकले रात बिताउँछ, तुलनात्मक रूपमा त्यस ठाउँमा धेरै समय बिताएको हुन्छ । अतः कुनै पनि क्षेत्रको पर्यटन विकासका निमित्त पर्यटकले रात बिताउने ठाउँको व्यवस्था प्रथम प्राथमिकतामा पर्नुपर्छ । विगतमा काठमाडौं उपत्यकाभित्र काठमाडौं नै प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकसित भएको देखिए तापनि क्रमशः त्यस क्षेत्रमा बढ्दो चापका कारण बसोवासका निमित्त पर्यटकले काठमाडौंभन्दा बाहिरका स्थानहरूको खोजी गर्न थालेका छन् । यो क्रम पछिल्लो समय विस्तारै बढ्दै गएको महसूस हुन थालेको छ । पाटन पर्यटन विकास संस्थाको सक्रियतामा युनेस्कोको सहयोगमा पाटनका पुराना मौलिक शैलीका निजी घरहरूको संरक्षण गरी पर्यटकीय बासस्थानका रूपमा विकास गरिएको छ । यसैलाई अनुशरण गरी विकास गरिएका अन्य पर्यटकीय बासस्थानका कारण यस क्षेत्रमा पर्यटकीय अन्य पूर्वाधारको समेत क्रमिक रूपमा विकास भएको छ ।
पाटनलाई केन्द्रविन्दु बनाएर पाटन वरपरका ललितपुर जिल्लाभित्रका पूर्वमा लामाटार भएर लाकुरे भञ्ज्याङ्ग, दक्षिणपूर्वमा गोदावरी भएर फुलचोकी, दक्षिणतर्पm चापागाउँ भएर टीकाभैरव, दक्षिण पश्चिमतिर खोकना तथा बुङ्गमती आदि गाउँहरूमा समेत पर्यटन विकास गर्न सकिने मनग्य सम्भावनाहरू पनि नभएका होइनन् ।
अर्थाभावजस्ता कारणले लोप हुन लागेका पाटनका परम्परागत विविध नाचगानहरूलाई निरन्तरता दिई पर्यटकका लागि नयाँ खुराकका रूपमा पस्किन सकिन्छ । पर्यटकलाई लक्षित गरी यस्ता नाचगानका कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्न सकिए यहाँका बासिन्दाको आय आर्जनमा समेत मद्दत पुग्नजान्छ । सरंक्षणको अभावमा बेवारिसी जस्तो भएर बसेका विभिन्न विहार, चोक आदिलाई यस्तो कार्यक्रमका निमित्त प्रयोगमा ल्याउन सकिन्छ । यसले सम्पदाहरूको संरक्षणमा समेत ठोस योगदान पुग्न जानेछ । यी सम्पदा स्थलहरूलाई विभिन्न सङ्ग्रहालयका रूपमा विकसित गर्न सकिने अर्को सम्भावना पनि रहेको छ । काष्ठकला, धातु, मूर्तिकला तथा प्रस्तरकलाका निमित्त प्रसिद्धि पाएको ललितपुरमा पर्यटन विकास सँगसँगै यस्ता उद्योगहरूको संरक्षण तथा सम्बद्र्धनमा समेत सहयोग मिलेको छ भने कलाकारहरूको शीपको संरक्षणमा समेत मद्दत पुगेको छ ।
स्थानीय सरकार, पर्यटन क्षेत्रसँग प्रत्यक्ष तथा परोक्ष सरोेकार राख्ने विभिन्न सङ्घसंस्था, ललितपुर उद्योग वाणिज्य सङ्घसमेतको सहकार्यमा यस क्षेत्रमा दिगो पर्यटन विकासमा सामूहिक तथा समन्वयात्मक प्रयास हुनु आवश्यक छ । यसो हुनसकेमा ललितपुरको दिगो आर्थिक विकासमा पर्यटनले प्रमुख भूमिका निर्वाह गर्नसक्छ भन्ने विषयमा दुईमत नहोला ।
विकासरत्न धाख्वाः
निवर्तमान अध्यक्ष
नेपाल हस्तकला महासङ्घ
हस्तकलाको व्यवसायीकरणका लागि व्यवस्थित कार्यक्रम जरुरी
ललितपुरलाई हस्तकलाको व्यवसायीकरणको उद्गम नगरका रूपमा लिन सकिन्छ । २००८ सालतिर भारतका तात्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू यहाँ आउँदा ललितपुरमा हस्तकलाको प्रदर्शनी भएको थियो । त्यसपछि नै ललितपुरमा यसको व्यवसायीकरण भएको मान्न सकिन्छ । सबभन्दा पहिले धातुकला र जडाउको सामानबाट यहाँको हस्तकलाको व्यवसायीकरण भएको हो । अहिले ललितपुरको मुख्य साना तथा मध्यम उद्योगका रूपमा हस्तकला स्थापित भएको छ । यहाँ विभिन्न टोलमा मौलिक किसिमको हस्तकलाका सामान बन्छन् । उदाहरणका लागि नगरको वडा नं. १६ को नागबहालमा धातुकला, जडाउ, क्रिष्टलको सामान बन्छ भने गाबहालमा चाँदीका कलात्मक वस्तु तथा गरगहना र भिञ्छे बहालमा प्रस्तरकला । जोमबहालमा काष्ठकलाका वस्तु तथा वास्तुकला बन्छन् भने टङ्गल, हौगल क्षेत्रमा ढलोटको सामान बन्ने गरेका छन् । ओकुबहाल धातुको मूर्तिका लागि चर्चित छ । यसरी हेर्दा एक टोलको एक उत्पादन पहिचान धेरै पहिलेदेखि भएको पाइन्छ । अहिले यस्ता टोलले ४०÷५० क्षेत्रमा विशेषज्ञता हासिल गरेको पाइन्छ । यसले गर्दा नौलो र मौलिक कला विकास हुँदै आएको छ । अहिले पनि हस्तकलाको परिप्रेक्षमा यी क्षेत्रले व्यावसायिक गति लिइसकेको छ । यसले स्थानीयलाई प्रशस्त रोजगारी दिइरहेको छ ।
पछिल्लो समय पाटनबाट मङ्गलबजारसम्मको क्षेत्र हस्तकलाका सामानको थोक बजारका रूपमा विकास भइरहेको छ । त्यस्तै, ओकुबहालमा मूर्तिकलाको थोक बजार विस्तार हुँदै छ । जिल्लाको ग्रामीण भेगमा समेत यस्ता थोकबजारको विकास भएको देखिन्छ । यसरी हेर्दा ललितपुरको आर्थिक विकासमा हस्तकला उद्योग मुख्य आधार बनेको छ । तर, यो क्षेत्रको व्यवस्थित विकास गर्नेतर्फ सरकारले खासै ध्यान दिन सकेको छैन । हुन त नेपाल उद्योग वाणिज्य महासङ्घले ‘एक गाउँ एक उत्पादन’को अवधारणा ल्याएको हो । त्यसअनुसार ललितपुरलाई हस्तकलाका रूपमा लिइएको छ । तर, त्यसबारे ठोस कार्यक्रम चाहिँ अहिलेसम्म आएको छैन । नेपाल सरकार वा ललितपुर उपमहानगरपालिकाले पनि हस्तकला उद्योगको विस्तारका लागि विशेष कार्यक्रम ल्याएको छैन । हस्तकला उद्योगले यहाँका नागरिकलाई स्वरोजगार र उद्यमशील हुने अवसर दिएको छ । महिलालाई आत्मनिर्भर बनाउन यो क्षेत्रले गरेको योगदान सराहनीय छ ।
यति हुँदाहुँदै पनि नीति नियम र कार्यक्रमको अभाव देखिएको छ । नेपाल सरकार र उपमहानगरपालिकाले ललितपुर उद्योग वाणिज्य सङ्घ, नेपाल हस्तकला महासङ्घलगायत संस्थासँग मिलेर काम गर्ने हो भने यसले हाम्रो कुल गार्हस्थ्य उत्पादनमा धेरै योगदान दिन्छ । हस्तकला उद्योगसँग जोडिएका कामदार वा कालीगढले १५ देखि २० हजार रुपैयाँ आर्जन गर्छन् । विशेष दक्षता भएका कालीगढले त मासिक १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सक्छन् ।
ऐतिहासिक रूपमा हेर्ने हो भने आठौं शताब्दीमा इण्डोनेसिया पुगेर गुणधर्म शाक्यले धेरै ठूलो स्तुप निर्माण गरेका थिए । यसको झण्डै साढे ४ सय वर्षपछि अर्थात १३औं शताब्दीमा मात्र अरनिकोले चीनमा नेपाली कलाको स्थापना गरेका हुन् । अहिले ललितपुरका धेरै कलाकार विदेशमा नेपाली कला स्थापनामा जुटेका छन् ।
ललितपुरको सुन्दरीचोकपछाडिको भण्डारखाल क्षेत्रमा ‘कला तथा संस्कृति प्रदर्शनी केन्द्र’ स्थापना गर्न सकिन्छ । त्यहाँ स्थानीय रूपमा उत्पादन भएका हस्तकलाका सामग्री प्रदर्शनीमा राख्न सकिन्छ । ललितपुरको सांस्कृतिक कार्यक्रम देखाउने तथा यहाँको परम्परागत परिकार विक्री गर्ने थलोका रूपमा केन्द्रलाई विकास गर्न सके ललितपुरमा ठूलो मात्रामा पर्यटक आकर्षित गर्न सकिन्छ । केही समय पहिले जीर्णोद्धार गरिएको यहाँको पाटी, पौवा पर्यटकका लागि आकर्षणको केन्द्र हुनेछन् । यस्ता सेण्टरले साना तथा लघु उद्योग प्रवद्र्धनमा राम्रो योगदान दिनेछ । ललितपुर चेम्बर अफ कमर्शले यस कार्यको नेतृत्व लिएर स्थानीय समाज, सरकारसँग सहकार्य गर्नु राम्रो हुन्छ । यसका लागि हस्तकला महासङ्घ पनि सहकार्य गर्न तत्पर छ । यसबाट जिल्ला तथा नगरको आर्थिक विकास हुनुका साथै यहाँका नागरिकको उद्यमशीलतामा थप वृद्धि हुनेछ र राज्यले आर्थिक लाभ प्राप्त गर्नेछ । यस्ता केन्द्र देशका अन्य भागमा पनि स्थापना गर्नुपर्छ ।
अन्तमा, हस्तकला उद्योग र उत्पादन नै ललितपुरको दीर्घकालीन आर्थिक विकासको आधार हो । यसरी हाम्रो आफ्नै कला, संस्कृति, शीप, कौशल र मिहिनेतको सही किसिमले विकास, व्यवस्थापन र बजारीकरण गर्ने हो भने राष्ट्रिय अर्थतन्त्रले विकासको गति लिन बेर लाग्ने छैन ।