घनेन्द्रबहादुर श्रेष्ठ
सदस्यसचिव
सञ्चालक समिति
नेपाल पर्यटन बोर्ड
अब हामीले नयाँ प्रडक्ट दिनुपर्छ
पर्यटन पुनरुत्थानका लागि भइरहेका पछिल्ला प्रयासहरूलाई कसरी हेरिरहनु भएको छ ?
भूकम्पबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान नेपालको अबको लक्ष्य हो । सोही लक्ष्य पूरा गर्न यस क्षेत्रका सरोकारवाला निकाय र निजीक्षेत्रका सङ्घसंस्था सक्रिय भएर लागिरहेका छन् । विशेष गरी यस समय नेपाली नियामक निकाय, व्यवसायी र पर्यटन उद्यमीको आत्मविश्वास बढाउने र विदेशी पर्यटकलाई ढुक्क हुनसक्ने वातावरण बनाउनुपर्छ । यसका लागि राज्यका निकायहरूले विभिन्न ऐननियम परिमार्जन गर्ने तथा निजीक्षेत्रलाई समेत प्रोत्साहन दिने खालका विभिन्न योजना बनाइरहेका छन् । निजीक्षेत्रका तर्फबाट विदेशीमा नेपाललाई सुरक्षित गन्तव्यका रूपमा चिनाउने प्रयास भइरहेको छ । सरकार र निजीक्षेत्रको संयुक्त प्रयासका लागि पर्यटन पुनरुत्थान समिति गठन भएको छ ।
पर्यटन पुनरुत्थानसँगै क्षतिग्रस्त सांस्कृतिक सम्पदाको पुनर्निर्माण पनि महत्त्वपूर्ण पक्ष हो । यसका लागि पर्यटन बोर्डको के भूमिका रहन्छ ?
भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनर्निर्माणका लागि अर्बौं रुपैयाँ आवश्यक पर्छ । यसको योजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सो मातहतको पुरातत्त्व विभागले बनाइरहेका छन् । सम्पदा कसरी पुनर्निर्माण गर्ने भन्ने निर्णय राज्यले गर्छ । हाम्रा सम्पदा हामी आफैले बनाउने हो । यसका लागि पनि सामूहिक प्रयत्न आवश्यक छ । नेपाल पर्यटन बोर्डले सम्पदा पुनर्निर्माणका लागि रू. १० करोड बीउ पूँजी राखेर राष्ट्रिय अन्तरराष्ट्रिय समुदायसँग आह्वान गरेको छ । कोषमा पर्याप्त रकम प्राप्त हुने विश्वास हामीलाई छ । यदि राज्यले विभिन्न सम्पदामध्ये कुनै एक क्षेत्रको पुनर्निर्माण गर्ने जिम्मा दियो भने पर्यटन बोर्ड पनि त्यसका लागि तयार छ । यसले अपनत्व पक्कै दिनेछ । बोर्डको आगामी बजेटमा पनि सम्पदा पुनर्निर्माणका लागि केही रकम छुट्ट्याउने योजना छ । समग्रमा सम्पदाको पुनर्निर्माण नेपालीहरूको सामूहिक प्रयासमा सफल हुने विश्वास लिन सकिन्छ ।
पर्यटक आकर्षित गर्न तत्कालका लागि भिसा शुल्क र समयावधिका विषयमा राज्यले केके गर्न सक्छ ?
यसबारे विभिन्न पक्षबाट धेरै छलफल भएको छ । छलफलका क्रममा भिसा शुल्क घटाएर मात्र पर्यटक नआउने बरु त्यसको स्थानमा ‘सिङ्गल’को विकल्पमा ‘डबल’ भिसा दिन सकिने सुझाव आएको छ । भिसा अवधि बढाउन सकिन्छ । यसबारे सबैका सुझावलाई समेटेर राज्यले ठोस निर्णय लिने अपेक्षा गरौं ।
नयाँनयाँ गन्तव्यमा पर्यटक पुर्याउने र त्यसका लागि अहिले प्रतिबन्धित क्षेत्रलाई खुला गर्नुपर्छ भन्ने सम्बन्धमा बोर्डको धारणा के छ ?
बोर्ड पर्यटन प्रवर्द्धन गर्ने निकाय हो । हामीसँग जति धेरै प्रडक्ट हुन्छन् त्यति नै धेरै पर्यटक आउने सम्भावना हुन्छ । त्यसकारण नयाँनयाँ गन्तव्यको खोजी गर्ने र त्यसलाई पर्यटकीय आकर्षक स्थानका रूपमा विकास गर्नुपर्छ भन्नेमा दुईमत छैन । अहिले प्रतिबन्धित क्षेत्रलाई पनि आवश्यक नियन्त्रणसहित पर्यटकका लागि खुला गर्न सकिन्छ । अनियमित गतिविधि गर्न नपाउने शर्तमा विभिन्न राष्ट्रिय निकुञ्ज र क्षेत्रमा पर्यटकलाई लैजान सकिन्छ । त्यतिमात्र होइन, प्रतिबन्धितबाहेकका धेरै क्षेत्र नेपालमा छन्, जसलाई पर्यटकीय प्रडक्टका रूपमा अन्तरराष्ट्रिय समुदायलाई विक्री गर्न सक्छौं । त्यसकारण सरोकारवालाको अबको योजना पर्यटकीय प्रडक्ट बढाउनेतर्फ पनि हुनुपर्छ ।
काठमाडौं उपत्यकाबाहिरका पर्यटन उद्यमीहरू अहिले विभिन्न प्याकेजसहित बजारमा छन् । तर, केन्द्रमा त्यो लहर आएन नि ?
वास्तवमा काठमाडौं उपत्यकाबाहेक सबै गन्तव्यमा आन्तरिक पर्यटनको ठूलो सम्भावना छ । काठमाडौंसँगै यसआसपासका जिल्लामा असुरक्षित महसूस गरेका नागरिक केही समयका लागि भए पनि पोखरा, चितवन, लुम्बिनी या पाल्पा पुगेर तनाव कम गर्न सक्छन् । यसका लागि आकर्षक छूटसहितका प्याकेज सार्वजनिक भएका छन् । यसको समर्थन गर्नुपर्छ । तर, काठमाडौंको हकमा आन्तरिक पर्यटनको सम्भावना छैन । यो विदेशी पर्यटकका लागि नै मुख्य गन्तव्य हो । त्यसकारण केन्द्रबाट हुने गतिविधि अन्तरराष्ट्रिय पर्यटक आकर्षण गर्नमा केन्द्रित हुन्छ । त्यसका लागि पर्यटन पुनरुत्थान समिति, पर्यटन बोर्ड तथा निजीक्षेत्रका व्यवसायीहरूका छाता सङ्गठनहरूको योजना अन्तरराष्ट्रिय क्षेत्रमा बढी केन्द्रित छ । काठमाडौंमा अहिले नै पर्यटक आउनुपर्छ, म त्यसको जिम्मेवारी लिन सक्छु भन्ने आँट कसैसँग पनि छैन । किनकि आज पनि परकम्पहरू आइरहेका छन् । त्यसकारण आगामी सिजनसम्म पर्यटक सहज रूपमा आउने वातावरण बनाउन सकियो भने त्यो सबैभन्दा ठूलो उपलब्धि हुनेछ ।
अशोक पोखरेल
अध्यक्ष, नेपाल एशोसिएशन अफ
टुर अपरेटरर्स
पर्यटन पुनरुत्थानको बाटो
पर्यटन क्षेत्रको अबको बाटोलाई ‘पुनरुत्थानको लामो बाटो’ भन्न म चाहन्न । यसको पनि कारण छ । किनभने जमीनको कम्पन रोकिएपछि पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन लाग्ने समय हाम्रै नियन्त्रणमा छ, अर्थात् पर्यटन क्षेत्रको पुनरुत्थान हाम्रो नियन्त्रणबाहिर छैन । जब हामी नेपाली जनता एकअर्कालाई पीडामा नरहेको पाउँछौं । अर्को कम्पन आउने डरबाट जब हामी मुक्त हुन्छौं, । भूकम्पबाट त्रसित भएर हामी भुइँतलामा सुत्न जब छोड्छौं वा अर्को परकम्पन पहिलाको भन्दा ठूलो हुँदैन भन्ने कुरामा हामी ढुक्क हुन्छौं, तब मात्र हामी विश्वलाई नेपालमा स्वागत गर्नसक्ने अवस्थामा हुनेछौं ।
त्यो समय हामीले अनुमान गरेको भन्दा छिटै नै आउनेछ । जब त्यो समय आउँछ, हामी पनि छिटो अघि बढ्नुपर्ने हुन्छ, धेरै छिटो । अहिलेको अवस्थामा हामीले पुनरुत्थानका लागि जति छिटो अगाडि बढ्नुपर्ने हुन्छ, पुनः अर्को ठूलो धक्का आयो भने त्यो गति अझै छिटो बनाउनुपर्ने हुन्छ । सम्भावित घटना भविष्यमा छिटै नै भएको अवस्थामा तीव्र रूपमा अघि बढ्न हामीसँग सही योजना साथमा हुनुपर्छ, त्यस्ता कार्ययोजना यसरी तयार गरिनुपर्छ, जसले हाम्रा स्रोतलाई प्रभावकारी ढङ्गले प्रयोग गर्न र प्रतिस्पर्धी एवम् तुलनात्मक फाइदाको बजारीकरण गर्न अवसर प्रदान गर्न सकोस् ।
हाम्रा उपलब्ध स्रोतहरूमाथि ध्यान दिऊँ । हाम्रा प्राकृतिक स्रोतहरूमा कुनै क्षति पुगेको छैन । हिमालहरूमा केही भएको छैन, सदाझैं सुन्दर छन् । हाम्रा नदीहरू अझै कलकल गर्दै बगरिहेछन् र हाम्रा वनजङ्गलमा वन्यजन्तुहरू खेलिरहेका छन् । अहिलेसम्म नराम्रो केही भएको छैन । हाम्रा मानवनिर्मित स्रोत र सम्पदाहरूमा क्षति त पुगेको छ तर ती सबै धूलोमा परिणत भएका छैनन् । प्रमुख पर्यटकीय क्षेत्रहरूमा सरसफाइ चलिरहेको छ र आगामी जुन १५ सम्ममा ती क्षेत्र सफा पारी सार्वजनिक रूपमा खुला गरिनेछ । यद्यपि केही स्थानमा भने सार्वजनिक प्रवेश निषेध गरिएको छ । यो पनि एक प्रकारले राम्रै हो । र, अन्त्यमा हाम्रा लागि आवश्यक स्रोत भनेको बजारीकरणको कोष हो । यस्तो कोष नेपाल पर्यटन बोर्डमा सीमित मात्रामा रहेको छ ।
अब हाम्रा प्रतिस्पर्धात्मक लाभबारे ध्यान दिऔं । हाम्रा होटलहरूमा धेरै ठूलो क्षति भएको छैन । बिदा पर्यटनका लागि आउने सम्भावित पाहुनाहरूको स्वागत सत्कार गर्न हाम्रा होटल सक्षम छन् । हाम्रा अधिकांश टुरिष्ट गाइड शिक्षित एवम् दक्ष छन् । त्यस्तै हाम्रो विमानस्थललगायत पूर्वाधार (जो यस पर्यटन सञ्चालनको सबैभन्दा कमजोर कडी हो) सो पनि चालू नै रहेको छ । हाम्रोमा लिजर पर्यटनको क्षेत्रमा निश्चय नै तुलनात्मक लाभ बढी छ । नेपालको पर्यटन क्षेत्र भन्नेबित्तिकै साहसिक पर्यटन हो भन्ने गरिन्छ । साहसिक यात्राका क्षेत्रमा कुनै पनि हिसाबले नेपाल आजसम्म सबैभन्दा उत्कृष्ट प्रतिस्पर्धी क्षेत्र हो । यो हामी दाबीका साथ भन्न सक्छौं ।
हामीकहाँ विश्वका सबैभन्दा अग्ला हिमाल छन्, तीव्र गतिमा बग्ने नदी छन्, अतुलनीय वातावरण छ, विश्व सम्पदा सूचीमा सूचीकृत भएका संरक्षित क्षेत्र छन् । हजारौं वर्ष पुरानो जीवित संस्कृति हामीसँग छ । केही उत्कृष्ट राष्ट्रिय निकुञ्ज छन् । बुद्धको जन्मस्थल लुम्बिनी र जनकपुरजस्ता अन्य धेरै यस्ता क्षेत्र छन्, जो पर्यटकलाई दृश्यावलोकन गराउन पर्खिरहेका छन् । यस्ता क्षेत्र अन्य कुनै पनि देशमा पाइँदैन । त्यसो हुँदा हामी अघि बढ्न तयार छौं, सक्षम छौं ।
तर, जाने कहाँ ? प्रश्न उठ्नसक्छ । हो, त्यसैका लागि हामीले अहिल्यै ‘योजना’ तयार गर्नुपर्छ । वास्तवमा त्यस्तो योजना हिजै तयार गर्नुपर्थ्यो ।
यो अल्पकालीन योजनामा कम्तीमा पनि तल उल्लिखित आयाम आवश्यक छ :
- सुरक्षाको सुनिश्चितता हुनुपर्छ । हाम्रा पर्यटन गन्तव्यहरू विश्वका अन्य स्थानजस्तै सुरक्षित छन् भनेर विश्वस्त पार्न सक्नुपर्छ । यसका लागि अरूले विश्वास गर्ने र प्रमाणित गर्नसक्ने गरी ठोस कदम चालिनुपर्छ ।
- यी माथिका सन्देश प्रसार गर्न सुविचारित र सुदृढ सञ्चार प्रक्रिया अपनाइनु आवश्यक छ । हामीबाट विश्वले के जानकारी पाओस् भन्ने चाहन्छौं ? त्यस्तो कुरा कसले भन्छ ? यो भन्नका लागि कुन मञ्च प्रयोग गर्ने ? त्यस्तो कुरा कत्तिको प्रभावकारी रूपमा भन्नुपर्ने हुन्छ ? यी सबै कुरामा सुविचारित ढङ्गले सोचियो भने हामीले भन्न खोजेको कुरा सही रूपमा विश्वसामु पुग्छ ।
- उल्लिखित सञ्चार प्रक्रियासँगै बजारीकरण योजना पनि आवश्यक छ । हामी सबैभन्दा पहिला कुनचाहिँ बजारमा केन्द्रित हुने ? भारत, चीन, पश्चिम यूरोप, जापान र अमेरिका ? यसको सही निर्णयले बजारीकरणमा गरिरहेको खर्च गलत बजारमा खेर जाँदैन ।
- हाम्रो तुलनात्मक लाभका क्षेत्रलाई अघि बढाउने तयारी गर्नुपर्छ । हाम्रा सेवाहरू पहिलाभन्दा उत्कृष्ट बनाउनुपर्छ । होटलहरूको सत्कार शैली र गाइडहरूको प्रशिक्षणमा थप सुधार गर्नुपर्छ । कार, बस, विमानस्थल पुग्ने बाटो तथा सडकहरूलाई नयाँ र आधुनिक बनाउनुपर्छ । हाम्रा शहर र गाउँहरूलाई थप पयर्टनमैत्री बनाउनुपर्छ । यति भएपछि पर्यटक र यहाँ पर्यटक पठाउने संस्थाहरूले यहाँ भएको परिवर्तनबारे जानकारी पाउनेछन् । यो हामी सबैको हितमा हुन्छ । त्यसपछि उनीहरूले हाम्रा लागि उनीहरूकै खर्चमा मार्केटिङ गरिदिनेछन् । यसले हामीलाई मध्यम अवधिको योजना बनाउन थप समय प्रदान गर्नेछ ।
मिहिका धाख्वा
महासचिव, नेपाल एशोसिएशन अफ
ट्राभल एण्ड टुर एजेण्ट्स
पर्यटन पुनरुत्थानमा भएका प्रयास
गत वैशाख १२ गते मुलुकमा गएको विनाशकारी भूकम्पका कारण जनधनको अकल्पनीय क्षति भयो । पर्यटनका लागि अत्यन्तै महत्त्वपूर्ण रहेका केही सम्पदा र पदमार्गलगायत अन्य विभिन्न पूर्वाधारमा पनि ठूलो क्षति पुग्यो । भूकम्प र त्यसपछिका अनुकम्पनहरूका कारण एकातिर नेपाल भ्रमणमा रहेका पर्यटकको समूहले आफ्नो भ्रमण छोट्याई स्वदेश फिर्ता भए भने अर्कोतर्फ नेपाल आउने सम्भाव्य पर्यटकहरूले आफ्नो भ्रमण तालिका रद्द गरे । त्यसैले अहिले ट्राभल, टूरका साथै अन्य आतिथ्यमूलक सेवा लगभग ठप्प नै छन् । अन्तरराष्ट्रिय हवाई उडानहरूले आआफ्ना उडानको फ्रिक्वेन्सी पनि घटाउन थाले भने अन्तरराष्ट्रिय संचारमाध्यमले नेपालमा गएको भूकम्पबारे अतिरञ्जित समाचार र दृश्यको व्यापक प्रचारप्रसार गरे । फलतः नेपाल भ्रमणमा आउन चाहने पर्यटकको सङ्ख्यामा अत्यन्तै नकारात्मक असर पर्न गएको छ ।
भूकम्पलगत्तै निजीक्षेत्र र सरकारले संयुक्त रूपमा मिलेर पर्यटन पुनरुत्थान समिति (टीआरसी) गठन गरी पर्यटन उद्योगको गतिशीलतालाई निरन्तरता दिन प्रारम्भ गरेका छन् । टीआरसीबाट बृहत् कार्य योजना आउने भएको छ, जुन एउटा सकारात्मक कदम हो । तैपनि पर्यटनसम्बद्घ निजीक्षेत्रले पोखरा, लुम्बिनी, चितवन, बन्दीपुर एवम् पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चलमा पर्यटन प्रवद्र्घनका लागि विभिन्न कार्ययोजना ल्याई पर्यटन क्षेत्रमा देखापरेका विपद्को व्यवस्थापनमा जुटेको पाइएको छ । यसै सिलसिलामा नेपालको पर्यटनलाई उत्साहित गर्न यसै सातादेखि भारत सरकारले बिदा पर्यटन योजनाअन्तर्गत भारतीय सरकारी कर्मचारीहरूलाई बिदा मनाउन जाने गन्तव्यका रूपमा नेपाललाई मान्यता दिएको छ । ट्रीप एडभाइजरडटकमले काठमाडौंलाई यात्रुहरूको मनपरेको गन्तव्यका रूपमा प्रस्तुत गर्दै विश्वभरि राम्रो सन्देश पुर्याएको छ ।
वर्षायाम शुरू हुनुअघि र वर्षायाम नसकिएसम्म नेपालमा पर्यटकहरूको आगमन सङ्ख्यामा शिथिलता देखिनु स्वाभाविक नै हो । तसर्थ अहिलेको समय पर्यटन प्रवद्ध्र्रन गर्ने हाम्रो हस्पिटालिटी इण्डष्ट्रीबारे सकारात्मक सन्देश प्रवाहित गर्ने समय हो । नेपाल एशोसिशएन अफ टूर एण्ड ट्राभल एजेट (नाट्टा)ले भर्खरै मात्र नुवाकोट, काभ्रे, ललितपुर, ओखलढुङ्गा, पर्वत, सिन्धुपालचोक, रामेछापजस्ता जिल्लामा गई सङ्कलित राहत वितरण गरिसकेको छ र हामीले सक्रियतापूर्वक टीआरसीमा सहभागी भई सरकारसमक्ष परामर्श राख्दै आएका छौं । अब चाँडैै नै प्रधानमन्त्री राहत कोषका लागि पनि आफ्नो सामथ्र्यअनुसार सहयोग गर्ने कार्यक्रम बनाएका छौं । आगामी शरद्ऋतुलाई ध्यानमा राखी काठमाडौंस्थित बेलायत, जर्मनी, दक्षिण कोरिया र थाइल्याण्डका राजदूतावासमा गई राजदूतहरूलाई भेटी पर्यटनको पुनरुत्थानका लागि रायसल्लाह लिएका छौं । साथै उहाँहरूको ट्राभल एडभाइजरीलाई केही हदसम्म छूट गरिदिनसमेत आग्रह गरिसकेका छौं । यसै परिप्रेक्ष्यमा आफ्ना समानान्तर अन्तरराष्ट्रिय सङ्घसंस्थासँग प्रत्यक्षपरोक्ष सम्पर्कमा रही नेपालको यथार्थबारे जानकारी दिइरहेका छौं । यसै क्रममा आगामी मङ्गलवार आफ्नो सङ्घका सम्पूर्ण सदस्यसँग सामूहिक भेटघाट गरी पर्यटन उद्योगको पुनरुत्थानबारे परामर्श सङ्कलन गर्दै छौं । आगामी सेप्टेम्बरमा विश्व पर्यटन दिवसको पूर्वसन्ध्याको अवसर पारी मित्रराष्ट्रका ट्राभल एशोसिएशनका प्रमुखहरूलाई काठमाडौंमा जुटाई नेपालको पर्यटन पुनरुत्थानका विषयमा गहन गोष्ठी गर्दै छौं । त्यसै अवसरमा अन्तरराष्ट्रिय टूर अपरेटर तथा सञ्चारमाध्यमका लागि पनि फेम ट्रिपको व्यवस्था गर्ने हाम्रो पहल शुरू भइसकेको छ र आगामी पर्यटकीययाम तुलनात्मक रूपले पहिलेको भन्दा अझ बढी उत्पादक हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।